विराटनगर । भारत तमिलनाडुका ५५ वर्षीय साराभाम वामानन्दले विराटनगरमा इलेक्ट्रोनिक्स सामानमा छुट दिने लोभ देखाउँदै उपभोक्तालाई ठगी गर्ने गरेको खुलेको छ ।
विराटनगर–५ भृकुटीमार्गमा रुबी इन्टरप्राइजेज नामक इलेक्ट्रिोनिक्स पसल दर्ता गरी साराभामले एमआरपी मूल्यभन्दा ५० प्रतिशत छुटमा सामान दिने भन्दै उपभोक्तालाई ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो ।
पसल सञ्चालन गरेर ५० प्रतिशत छुटमा सामान उपलब्ध गराउने भन्दै सर्वसाधारणलाई ठगी गरेको आरोपमा गत मङ्गलबार उनी पक्राउ परेका थिए । पक्राउ परेका साराभामलाई मोरङ प्रहरीले ठगी मुद्दामा म्याद थप गरी अनुसन्धान गर्दै आएको छ । ठगी गर्ने समूहका अन्य चार जना भने फरार छन् । फरार रहेकाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
रुबी इन्टरप्राइजेज नामक पसल दर्ता गर्दै वडा कार्यालय र आन्तरिक राजस्व कार्यालयबाट इलेक्ट्रोनिक्स सामान बिक्री गर्ने अनुमति लिएर ठगी गरिरहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए । वामानन्दको नाममा गत जेठ ११ गते दर्ता गरी विराटनगर–५ को भृकुटीमार्गमै पसल सञ्चालन गरेका थिए ।
इलेक्ट्रोनिक्स सामानको मात्रै अनुमति लिएर अरू सामान पनि बेच्ने गरेको र विभिन्न ‘स्किम’ देखाएर शङ्कास्पद कारोबार गरिरहेको पाइएको प्रहरीले जनाएको छ । ‘इलेक्ट्रोनिक्स सामान बिक्रीको अनुमति लिएको देखिन्छ । तर, अन्य घरायसी सामान पनि बेचिरहेको पाइयो’ एसपी कोइरालाले भने, ‘खरिदका लागि अनलाइनमार्फत् पैसा तिरेको १८ दिनभित्र ग्राहकलाई सामान उपलब्ध गराउने भनिँदो रहेछ । सामानमा ५० प्रतिशत छुटको अफर पनि दिएको देखिन्छ ।’
छुटको प्रलोभनमा परेर सर्वसाधारणले पनि सामान खरिदका लागि अनलाइनमार्फत् पैसा बुझाउने गरेको प्रहरीले जनाएको छ । ‘बजार मूल्यभन्दा आधा रकममा सामान बिक्री गर्ने भनी छुटको ‘स्किम’ देखाएर प्रलोभनमा पार्दै सर्वसाधारणसँग पैसा असुल्ने गरेको पाइएको छ’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘प्रारम्भिक अनुसन्धानबाट लगभग ३५ देखि ४० लाखजति पैसा असुलेको देखिन्छ ।’
त्यसबापतको सामान उपलब्ध नगराएको प्रहरीको भनाइ छ । सञ्चालक साराभामले ५ हजारदेखि १ लाख ५० हजारसम्म सर्वसाधारणसँग सामान उपलब्ध गराउने भन्दै पैसा लिएको खुलेको छ । उनी पक्राउ परेपछि आइतबारसम्म उजुरी दिने करिब २ सय सर्वसाधारण पुगेका छन् । ‘उजुरी आउने क्रम जारी रहेको छ’ मोरङ प्रहरीका डिएसपी राजन कार्कीले भने, ‘अहिले दैनिकजसो २–४ वटा उजुरी आउने गरेको छ ।’
भारतीय नागरिक साराभामले विभिन्न सामान एमआरपीभन्दा ५० प्रतिशत छुटमा सामान ल्याइदिने भन्दै ३ सयभन्दा बढी सर्वसाधारणसँग अग्रीम पैसा लिएको बुझिएको छ । इलेक्ट्रोनिक्सको मात्रै अनुमति लिएर फ्रिज, मोटरसाइकल, ग्यास चुल्हो, फर्निचरका सामान, साइकल, मोबाइलदेखि सबै प्रकारका घरायसी सामान बेच्ने गरेको सूचना स्थानीय प्रशासनमा पुगेको थियो ।
स्थानीय जनप्रतिनिधिहरूले प्रशासनमा जानकारी गराएपछि मोरङ प्रहरीले वामानन्दको पसलमा छापा हानेर उनलाई नियन्त्रणमा लिएको हो । त्यस क्रममा वामानन्दको अरू सहयोगी चार जना फरार भएका हुन् ।
छुटको अफर देखाएर मुलुकभर सञ्जाल विस्तार गरी पैसा उठाउँदै फरार बन्ने योजना रहेको हुनसक्ने अनुमान गरेको छ । बजार मूल्यभन्दा आधामा कुनै पनि पसलले सामान उपलब्ध गराउन नसक्ने व्यवसायीहरू बताउँछन् । पैसा लिएको १८ औँ दिनमा मात्रै सामान उपलब्ध गराउने भनिएकाले ठगी गर्ने मनसायले यस्तो धन्दा चलाएको हुनसक्ने उनीहरू बताउँछन् । एकैपटक ठूलो रकम सङ्कलन गरिसकेपछि फरार बन्ने योजनामा साराभाम रहेको हुनसक्ने प्रहरीले आशङ्का गरेको छ । सबै कोणबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।