विजयपुर । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले केही दिनअघि ‘१ सय दिनमा के गरिस् तैंले ? भन्नेलाई मेरो उत्तर’ भन्दै १३ बुँदाको कार्य विवरण सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरे ।

उनले गरेको १३ बुँदामध्ये ६ नम्बर बुँदामा ‘प्रशासनिक सुधार गरी शान्तिसुरक्षामा सुधार ल्याएँ !’ भन्ने पनि छ । उनले शान्ति सुरक्षामा सुधार ल्याएको दाबी गरे पनि धरानमा भएका आपराधिक घटनाको पछिल्लो तथ्याङ्कले उनको दाबीलाई गलत साबित गरेको छ । तथ्याङ्कअनुसार धरानमा दिनहँु आपराधिक घटना भइरहेका छन् ।

इलाका प्रहरी कार्यालयका अनुसार भदौ १ गते धरान–५ शीतल बस्तीमा धरान–७ का १८ वर्षीय नरेश राईलाई धारिलो हतियार प्रहार भयो । शरीरको विभिन्न भागमा धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका राईको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारपश्चात् थप उपचारका लागि विराटनगर लगिएको छ । धारिलो हतियार प्रहारबाट दाहिने खुट्टामा गम्भीर चोट लागेका राईको खुट्टा काटिएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी बुद्ध श्रेष्ठले बताए । उनलाई सामूहिक रूपमा धारिलो हतियार प्रहार भएको थियो ।

भदौ २ गते धरान–११ मङ्गलबारेका राजन कन्दङ्वा लिम्बूलाई सामूहिक रूपमा धारिलो हतियार प्रहार भयो । धारिलो हतियार प्रहार तथा सामूहिक कुटपिटबाट गम्भीर घाइते लिम्बूको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका क्रममा मृत्यु भयो । लिम्बूकोे भदौ ५ गते मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ । डीएसपी श्रेष्ठले घटनामा संलग्नलाई पक्राउ गरी अनुसन्धान भइरहेको बताएका छन् ।

असार ३० गते धरान–२० का तुलमान तामाङले आफ्नै भिनाजु वीरबहादुर तामाङलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका थिए । सोही दिन धरान–१६ जोरसखुवामा सामूहिक खुकुरी प्रहारबाट प्रदीप लिम्बूसहित ३ जना गम्भीर घाइते भएका थिए । जेठ ३१ गते धरान–१० मुनाल चोकमा खुकुरी प्रहार हुँदा रामशरण केसी गम्भीर घाइते भएका थिए । धरानमा पछिल्लो २ महिनामा भएका प्रतिनिधिमूलक घटनाहरू मात्रै हुन् यी ।

गत वैशाखयता मात्रै धरानमा दर्जनौं आपराधिक घटना भएका छन् । तर, धरान उपमहानगर प्रमुख हर्कराज राई भने शान्ति सुरक्षामा सुधार ल्याएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गर्न व्यस्त छन् । दैनिकजस्तै धरानमा आपराधिक घटना भइरहेको प्रहरीको तथ्याङ्कबाट देखिन्छ ।

यतिमात्रै होइन, इलाका प्रहरी कार्यालय धरानको त्रिवर्षीय तथ्याङ्कलाई केलाउँदा धरानमा बर्सेनि आपराधिक घटना वृद्धि हुँदै आएको देखिन्छ । इलाका प्रहरी कार्यालय धरानको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६/०७७ मा २ वटा कर्तव्य ज्यानका मुद्दा भएकोमा आर्थिक वर्ष २०७८/०७८ मा दोब्बर बढी ४ वटा भए । गत आर्थिक वर्षमा कर्तव्य ज्यानका अघिल्लो वर्षभन्दा दोब्बर ८ वटा मुद्दा रहेका छन् ।

यस्तै, ज्यान मार्ने उद्योगमा आर्थिक वर्ष २०७६/०७७ मा १७ वटा घटना भएकोमा २०७७/०७८ मा २३ वटा घटना भएको तथ्याङ्कले देखाएको छ । गत आर्थिक वर्षमा भने अझ वृद्धि भई ४२ वटा कर्तव्य ज्यानका मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष २०७६/०७७ र २०७७÷०७८ मा २०–२० वटा जबरजस्ती करणीका घटना भएका छन् भने गत आर्थिक वर्षमा ९ वटा मात्रै भएका छन् । जबरजस्ती करणीका घटनामा कमी आएको तथ्याङ्कले देखाएको छ ।

जबरजस्ती करणी उद्योगका घटना भने बढेको देखिन्छ । आर्थिक वर्ष २०७६/०७७ र २०७७/०७८ मा ४–४ वटा घटना भएकोमा गत आर्थिक वर्षमा ७ वटा घटना भएको तथ्याङ्कले देखाएको छ । डाँका गर्ने घटनामा पनि वृद्धि भएको छ । आर्थिक वर्ष २०७६/०७७ मा ३,  ०७७/७८ मा २ र गत आ.व. मा ४ वटा डाकाका घटना दर्ता भएका छन् ।

धरानमा चोरीको दर पनि वृद्धि भएको देखिन्छ । आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ मा क्रमशः २६ र ३७ वटा चोरीका घटना भएकोमा गत आर्थिक वर्षमा ५० वटा घटना भएका छन् । इलाका प्रहरी कार्यालय धरानको तथ्याङ्कअनुसार बर्सेनि धरानमा आपराधिक घटना वृद्धि भएका छन् । तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६/७७ मा कुल ४ सय ८२ वटा आपराधिक घटना भएकामा आ.व. २०७७/७८ मा ३ सय ७८ वटा भएका थिए । गत आर्थिक वर्षमा ५ सय ११ वटा आपराधिक घटना भएको प्रहरी तथ्याङ्कले देखाएको छ ।