धरान । सामूहिक बलात्कारका अभियुक्तलाई सुनसरी प्रहरीले १८ वर्षपछि सुनसरीको वराहक्षेत्र नगरपालिकाको भरौलबाट पक्राउ गरेको छ ।
२०६१ साल मङ्सिर २३ गते सुनसरीको इनरुवा नगरपालिका–२ की १४ वर्षीया बालिकालाई ५ जनाको समूहले सामूहिक बलात्कार गरी अचेत अवस्थामा छाडी फरार रहेकामध्ये एकजनालाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी राजकुमार राईका अनुसार वराहक्षेत्र नगरपालिका–५ भरौलबाट सुरज विकलाई पक्राउ गरिएको हो । सर्वोच्च अदालतले प्रतिवादी विकलाई ९ वर्ष ५ महिना १९ दिन कैद सजाय सुनाएको थियो ।
उक्त घटनापश्चात् फरार रहेका विकलाई फरार पक्राउ अभियानअन्तर्गत पक्राउ गरिएको डिएसपी राईले जानकारी दिए । फैसला कार्यान्वयनका लागि अभियुक्त विकलाई क्षेत्रीय कारागार झुम्का पठाएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
अभियुक्त विकको समूहले बालिकाको आमाबुबालाई सुतिरहेको अवस्थामा हातखुट्टा बाँधी मुखमा पट्टी लगाई छोरीलाई बलात्कार गरेका थिए । बलात्कारपश्चात् बालिका अचेत रहेकी थिइन् । सुनसरी प्रहरीले भदौ ५ गते भरौलबाट पक्राउ गरेको हो ।
यसैबीच आर्थिक वर्ष २०७९/०८० मा ६७ जना फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । ६७ जनाको कैद भुक्तान अवधि २२ वर्ष २६ दिन रहेको छ भने उनीहरूबाट ४ लाख ११ हजार ६ सय ८३ रुपैयाँ जरिबाना पनि असुल गरिएको जनाइएको छ ।
यस्तै डाँका मुद्दामा ५ वर्ष ११ महिना २८ दिन कैद तथा ९ लाख ४० हजार ५ सय रुपैयाँ जरिबाना तोकिएका फरार अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ ।
जिल्ला अदालत मोरङले २०७५ असोज १ गते कैद तथा जरिबानाको सजाय सुनाएको थियो । विराटनगर महानगरपालिका–१७ का ५० वर्षीय मोहम्मद जुबेर मियाँलाई प्रहरीले पक्राउ गरी अदालतमा बुझाएको जनाएको छ । जिल्ला अदालतको आदेश बमोजिम मोरङ कारागारमा चलान गरिएको जनाइएको छ ।