धरान । झापाको दमक नगरपालिकामा विद्यार्थीहरूलाई प्रयोग गरी अनधिकृत रूपमा अनलाइन खेल खेलाउने चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।

गोप्य सूचनाका आधारमा प्रहरीले भदौ ३ गते विभिन्न कम्पनी सञ्चालन गर्ने चारजना सञ्चालकलाई विभिन्न सामग्रीसहित पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।

वानएक्स बेट एप्लिकेसनको प्रयोग गरी अनलाइन खेल खेलाउँदै आएका झापा दमक नगरपालिका–८ का २५ वर्षीय सतप्रसाद साह, ३३ वर्षीय राजु लिम्बू, दमक–७ का २७ वर्षीय राजु श्रेष्ठ र कमल गाउँपालिका–२ का ३० वर्षीय अरुण कार्कीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

उनीहरूको साथबाट नेपालका विभिन्न सरकारी कार्यालयका कीर्ते छाप, २ सय ७९ थान प्रयोगमा ल्याइएको एनसेलको सिम, प्रयोगमा नल्याइएको ४५ थान एनसेल कम्पनीको सिम, १९ थान मोबाइल, ३ थान विभिन्न कम्पनीको ल्यापटप र एक थान डेस्कटपलगायतका विभिन्न सामग्ी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी एवम् सूचना अधिकारी वसन्त पाठकले जानकारी दिए ।

सोमबार पत्रकार सम्मेलन गरी दिइएको जानकारीअनुसार आरोपी सतप्रसाद र श्रेष्ठ पद्मा इन्टरनेसनल कन्सल्टेन्सीका सञ्चालक हुन् भने लिम्बू ब्रिटिस आर्मी टे«निङ सेन्टर दमकका सञ्चालक हुन् । त्यस्तै कार्की योर्स कम्युनिकेसन एन्ड फोटो स्टुडियोका सञ्चालक हुन् । आरोपित साहले अनलाइन गेम खेलाएबापत् करिब ८० लाख रुपैयाँ बराबरको कारोबार गरेको प्रहरीको भनाइ छ ।  उनीहरूले कन्सल्टेन्सीमा आउने विद्यार्थी, ट्रेनिङ सेन्टरमा आएका युवाहरूलाई प्रयोग गरेर अनलाइन गेम खेलाउँदै आएको प्रहरीको दाबी छ । उक्त गेम खेलाउनका लागि ई–सेवा अनलाइनमार्फत् पैसाको कारोबार गर्ने गरेको खुलेको सूचना अधिकारी पाठकले जानकारी दिए ।

उनीहरूले विभिन्न सरकारी कार्यालयको छाप, जनप्रतिनिधिहरूले प्रयोग गर्ने छाप कीर्ते प्रयोग गरी काम गरिदिने गरेको पनि पाइएको छ । सरकारी कार्यालयको नक्कली पत्र र माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्राप्ताङ्कसमेत परिवर्तन गरिदिने गरेको खुलेको सूचना अधिकारी पाठकले जानकारी दिए ।

उनीहरूले गभन्र्मेन्ट अफ नेपाली मिनिष्ट्री अफ एजुकेसन लेखिएको एक थान छाप, नेपालको निशान छाप भएको एक थान स्ट्याम्प, नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड लेखिएको एक थान छाप, ग्लोबल एजुकेसन एकेडेमी लेखिएको एक थान छाप र नेप्लिज आर्मी रेकर्ड अफिस २०४३ लेखिएको एक थान छाप बरामद गरिएको छ । त्यस्तै दमक–२ का वडाध्यक्ष प्रजापति सापकोटा लेखिएको छाप, हेड टिचर लेखिएको छाप, डिकबहादुर गुरुङ लेखिएको छाप, सङ्खुवासभा मादी नगरपालिका–३ नम्बर वडा अफिस लेखिएको छाप बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर, जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय दमकको टोलीले संयुक्त रूपमा छापा मारी पक्राउ गरेको हो । उनीहरूविरुद्ध मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसुरमा कारबाही गरिने भएको छ ।

त्यस्तै परिच्छेद २५ को लिखतसम्बन्धी कसुरमा म्याद थपी अनुसन्धान भइरहेको छ ।  उनीहरूलाई सट्टाबाजी गराएबापत जुवा खेल्न वा सट्टाबाजी गर्नु गराउनु नहुने भन्ने कसुरमा एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिबाना हुने जनाइएको छ । त्यस्तै सरकारी वा सार्वजनिक लिखत कीर्ते गरेको आरोपमा सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिबाना हुनसक्ने जनाइएको छ ।