धनकुटा । धनकुटा नगरपालिका वडा नं.६ घर भएका वर्ष ७४ का बौद्धधर्म गुरु जिम्मा दोर्जे लामा अपरिचित व्यक्तिबाट धरानको भोटेपुलमा लुटिएका छन् ।

भदौरे पूर्णिमाको अवसरमा इटहरी स्थित पचरुखी चोकमा रहेका कान्छा छोराको घरमा लामा पढेर फर्कने क्रममा लामा अपरिचित व्यक्तिबाट धरानको भोटेपुलमा आइतबार बिहान लुटिएका हुन् ।

भदौ २ गते इटहरी उपमहानगरपालिका वडा नं.५ जनता बस्ती भगवती टोलमा रहेको टाँशी छ्योलिङ गुम्बाबाट धरान आउने क्रममा आफू अपरिचित व्यक्तिबाट धरानमा आइपुग्दा लुटिएको लामा गुरु जिम्मा दोर्जेले ब्लाष्टलाई बताएका छन् । आफू इटहरी चोकबाट धरान आउने क्रममा यात्रुवाहक बसको सिटमा आफूसँगै अन्दाजी वर्ष ४५–४६ को जस्तो देखिने मङ्गोलियन अनुहारको एक व्यक्ति आएर बसेको पीडित लामाले बताए ।

आफूसँगै बसभित्र बसेका ती अपरिचित युवाले तामाङ भाषामा   ‘मेरो घर पनि धनकुटाको हिले हो, धरानमा मेरो कार छ, सँगै धनकुटा जानुपर्छ’ बाजे भन्दै धरानको भोटेपुलमा आइपुगेपछि बसबाट झरौं भन्दै झारेको लामाले बताए । भोटेपुलमा बसबाट लामालाई झारेपछि ती अपरिचित युवाले नजिकैको छाप्री होटलमा लगे ।

त्यहाँ पुग्दा करिब ७०–७२ वर्षको जस्ता देखिने एक जना अपरिचित वृद्ध बसिरहेका थिए । ती वृद्धले आफूहरू दुवै जनालाई नमस्कार भन्दै आफ्नो घर काठमाडौं भएको र आफू मगर थरको भएको परिचय दिए । त्यसपछि उनले आफूसँग सुन बिक्री गर्नु छ, सुन बिक्री गर्ने ठाउँ देखाइदिन भन्दै वृद्धले आफूलाई पटक–पटक अनुरोध गरेको पीडित लामाले बताए ।

लामाले आफूलाई सुन बिक्री गर्ने ठाउँ थाहा नभएको बताएको र त्यसैबीचमा इटहरीबाट आफूसँगै आएका अपरिचित युवाले एक पेटी हजार दरको नोट दिएर सुनजस्तो देखिने टिल लिए । त्यसपछि उक्त सुनजस्तो देखिने टिललाई २ लाख मूल्य पर्ने भन्दै आफूसँग आएका युवाले किन्न आफूलाई अनुरोध गरेको लामाले ब्लाष्टलाई बताए ।

उनले आफूसँग पैसा नभएको र किन्दिन भन्दा पनि किन्नको लागि ती युवाले जबर्जस्ती गरेको बताए । ती अपरिचित युवाले ‘पैसा छैन भने हातमा लगाएको औंठी दिनू’ भनेर जबर्जस्ती गरेपछि आफू ठगहरूको फन्दामा परेको थाहा पाएको लामाले बताए ।

त्यसपछि आफ्नो दाहिने हातको डेढ तोलाको औंठी लगेर ५० हजार थप्ने सर्तमा नक्कली सुन आफूलाई दिएर ठगी गरेको पीडित लामा बताउँछन् । सुनको लेनदेन भइ सकेपछि निज अपरिचित व्यक्तिले नै तपाईं टेम्पो चढेर छाताचोकमा गएर बस्दै गर्नू, म कार लिएर आउँछु’ भनेर १ सय रुपैयाँमा टेम्पो रिजर्व गरेर लामालाई पठाएका थिए । त्यसपछि आफू छाताचोकमा आएर करिब १ घण्टासम्म पर्खिंदा पनि ती व्यक्ति नआएको र आफू बस चढेर धनकुटा आएको पीडित लामाले बताएका छन् ।

पीडित लामाले आफू अपरिचित व्यक्तिबाट ठगिएको भन्दै ठगहरूको पहिचान गरी पक्राउ गरेर कानून बमोजिम कारबाही गर्न हुलियासहित इलाका प्रहरी कार्यालय धरानमा आइतबार उजुरी दिएका छन् । उजुरीमा आफ्नो डेढ तोलाको सुनको औंठी नक्कली सुनको टिल देखाएर ठगी गर्ने २ अपरिचित व्यक्तिहरूको पहिचान गरी कानून बमोजिम कारबाही गरेर सुन फिर्ता गराउन भनिएको छ ।

इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी बुद्ध श्रेष्ठले २ वर्षयता यस्ता प्रकृतिका ठगीको घटना दर्जनभन्दा बढी भएको बताउँछन् । पछिल्लो समयमा धरान, इटहरी, तरहरा र आसपासका क्षेत्रमा ठगीको घटना हुने गरेको पाइएको छ । धरानलाई ट्रान्जिट पोइन्ट बनाएर पहाडतिरबाट आउने सर्वसाधारणलाई बढी मात्रामा ठगी गरिरहेको डिएसपी श्रेष्ठले बताएका छन् ।

आफूहरूले विगत लामो समयदेखि ठगहरूको खोजी गरिरहे पनि हालसम्म पक्राउ पर्न नसकेको डिएसपी श्रेष्ठले बताए । उनले नक्कली सुन देखाएर ठगी गरेको घटनाको उजुरी कार्यालयमा दर्जनौं परेको बताए । उनले यस्ता खाले घट्नामा प्रहरी गम्भीर भएर अनुसन्धानमा लागिपरिरहेको बताए ।