विराटनगर । जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका कराँते प्रशिक्षक विराटनगरका विनोद राउत र सुरज सुवेदी पुर्पक्षको लागि जेल चलान भएका छन् ।
मोरङ जिल्ला अदालतका न्यायाधीश राजेश कुमार कटुवालको इजालशले सोमबार पुर्पक्षको लागि थुनामा पठाउने आदेश गरेका हुन् ।
अदालतको आदेशपछि दुवै जना पुर्पक्षको लागि मोरङ कारागार चलान भएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । बिहीबार सरकारी वकिल कार्यालय मोरङले उनीहरूविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गरेको मोरङ अदालतमा मुद्दा दर्ता भएको थियो ।
मुलुकी फौजदारी अपराध संहिता ७४ दफा २१९ अन्तर्गत दुबैलाई जबजरजस्ती करणीतर्फ सातदेखि १० वर्षसम्म सजाय माग गरि अभियोग दायर गरेको थियो । दफा २१९ कै सामूहिक जबरजस्ती करणीतर्फ थप पाँच वर्ष सजाय माग गर्दै मुद्दा दायर गरिएको थियो ।
शुक्रबार र शनिबार सार्वजानिक बिदा भएकोले आइतबार बयान र थुनछेक बहस भएको थियो । आइतबार वादी र प्रतिवादीका कानुन व्यवसायीहरुको बहस नसकिएपछि सोमबार मात्र सकिएको थियो । वादी र प्रतिवादीका कानुन व्यवसायीहरुले बहस सकेपछि आदलतले आदेश गरेको हो ।
विराटनगर महानगरपालिका–४ का ५० वर्षीय राउत नेकपा एमाले निकट नेपाल खेलकुद महासंघका केन्द्रीय सचिव हुन् भने अर्का आरोपित सोही स्थानका ५० वर्षीय सुवेदी विराट हेल्थ कलेजका अनुशासन इन्चार्ज हुन् ।
पीडित युवती सोही कलेजमा अध्ययनरत् इटहरी उपमहानगरपालिका–८ की १९ वर्षीया छात्रा हुन् । जिल्ला प्रहरी कार्यालय मोरङले पीडित युवतीमाथि सामूहिक र पटक–पटक करणी हुँदै आएको जनाएको छ ।
अन्तिम पटक भने असार २८ गते सुवेदीले करणी गरेका थिए। पीडितमाथि जेठ महिनामा विराटनगरको मुनालपथस्थित विराट होटलमा सुवेदी र राउतले सामूहिक करणी गरेका थिए ।
युवतीको अश्लील भिडिओ बनाई उनीमाथि पटक–पटक करणी हुँदै आएको पीडितले दिएको जाहेरीमा उल्लेख छ। तर, अनुसन्धान प्रतिवेदनमा भिडिओ नभेटिएको भन्दै प्रहरीले सरकारी वकिल कार्यालयमा फाइल बुझाएको थियो।