सुनसरी । सुनसरी जिल्लाको सीमावर्ती क्षेत्रमा अवैध सटही कारोबार भइरहेकोे पाइएको छ ।

भारतीय रुपैयाँको अभावमा यो धन्दा फस्टाएको जानकारहरू बताउँछन् । भारतीय रुपैयाँ साट्नका लागि एक सय रुपैयाँ बराबर ३ देखि ७ रुपैयाँ लिने गरेको जानकारहरू बताउँछन् । सीमावर्ती क्षेत्रमा पसल गर्ने नेपाली र भारतीय नागरिकले यस्तो कारोबार गर्दै आएको पाइएको छ ।

कोसी गाउँपालिका–८ भण्टाबारी क्षेत्रमा यस्तो कारोबार गर्ने गिरोह सक्रिय रहेको नाम उल्लेख नगर्ने सर्तमा एकजना स्थानीयले बताए । भण्टाबारी बजार क्षेत्रमा सञ्चालित पसलहरूमा पछिल्लो समय यस्ता कारोबार भइरहेको ती स्थानीयले बताए । नेपालको बैङ्कमा नेपाली रकम राखेर पारिको बैङ्कबाट भारतीय रकम झिकेर एक सय रुपैयाँ सटही गर्दा कारोबारीहरूले ३ देखि ७ रुपैयाँको दरले थप रकम लिने गरेको ती व्यक्ति बताउँछन् ।

नेपाली व्यापारीलगायतलाई भारतबाट कारोबार गर्दा भारु आवश्यक पर्ने भएकाले यो धन्दा फस्टाएको हो । सीमा पारिका भारतीयले नेपाली आफन्त, नातागोता, विश्वासिलो वा साझेदारमा काम गर्ने नेपालीको नाममा रहेको बैङ्क खातामा रकम जम्मा गरी पारिको बैङ्कबाट भारतीय रकम झिकेर सटही गर्ने गरेको स्थानीय बताउँछन् । अहिले प्रायःजसो सबै स्थानीय तहमा बैङ्क भइसकेकाले त्यस्तो गैरकानूनी कारोबार गर्नेहरूलाई थप सहयोग पुगेको बताइन्छ । करिब ११ महिनाअगाडि इटहरी उपमहानगरपालिका घर भएको बताउने सिजन राईलाई भारतीय एसएसबीले शङ्का लागी चेकजाँच गर्दा नगद नेपाली ५ लाख २१ हजार ८ सय ८० रुपैयाँसहित पक्राउ गरेको थियो ।

त्यतिबेला रकमको स्रोत नखुलेपछि भारतीय एसएसबीले उनलाई कस्टमको जिम्मा लगाएको थियो । २०७७ साल असार २१ गते स्रोत नखुलेको २ लाख ७६ हजार भारतीय रुपैयाँसहित कोसी गाउँपालिका–८ भण्टाबारीस्थित सीमा क्षेत्रबाट दुईजना भारतीय नागरिक पक्राउ परेका थिए । त्यतिबेला चोरबाटो हुँदै भारततर्फ जाँदै गर्दा भारत अररिया जिल्ला बस्ने २८ वर्षीय आरिफ मियाँ र ३१ वर्षीय कमरु जमा पक्राउ परेका थिए भने हुन्डी कारोबार गरेको आरोपमा शनिबार राति इलाका प्रहरी कार्यालय भण्टाबारीबाट खटिएको प्रहरी टोलीले गणेश ट्रेडर्स भण्टाबारीका सञ्चालक जयप्रकाश साहलाई नियन्त्रणमा लिएको छ ।

उल्लेखित  केही व्यक्ति पक्राउ परे पनि यस्तो कारोबार गर्ने समातिनेमा सामान्य मात्रै रहेको जनाइन्छ । लाइसेन्स लिएर सटही गर्ने पाउने प्रावधान भए पनि गैरकानुनी तवरले सटही कारोबार गरिरहेको अर्का स्थानीय बताउँछन् । भण्टाबारीलगायत जिल्लाका सीमावर्ती क्षेत्रमा अवैध रकम सटही हुँदै आए पनि पूर्ण नियन्त्रणमा आउन नसकेको ती स्थानीयको भनाइ छ ।

भण्टाबारी बजारको पश्चिम बसपार्कनजिकै शनिबार रातको साढे ९ बजेको समयमा कोसी गाउँपालिका–७ श्रीपुरका २५ वर्षीय सदानन्द यादवले दुईवटा कालो रङको ब्याग बोकेको देखेर इलाका प्रहरी कार्यालय भण्टाबारीबाट खटिएको ड्युटी टोलीले चेकजाँच गर्दा स्थानीय गणेश ट्रेडर्सका सञ्चालक जयप्रकाश साह र उनको परिवारले ड्युटीवालाहरूलाई धक्का दिएर उक्त ब्याग र ती युवालाई भगाएको थियो ।

घटनाबारे खबर पुग्नासाथ इलाका प्रहरी कार्यालय भण्टाबारीका इन्चार्ज सइ शेरबहादुर पराजुली नेतृत्वको टोलीले उक्त ब्याग बोकेको युवा र ब्याग बुझाउन पटक पटक आग्रह गरे पनि उक्त ब्यागमा ‘केही छैन, ब्याग बोकेको युवा डरले भागेको’ भन्दै पन्छिन खोजेपछि पसल सञ्चालक साहलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरी पठाएको थियो । यता यसबारेमा जिज्ञासा राख्दा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी प्रभुप्रसाद ढकालले साहले अवैध रूपमा आर्थिक कारोबार गर्छन् भन्ने शङ्का लागेपछि नियन्त्रणमा लिई सोधपुछ गर्ने काम भइरहेको बताए ।

प्रारम्भिक अनुसन्धानले साहले त्यस्तो कारोबार गरेको आधार प्रमाण नभेटिएको हुँदा उनलाई आइतबार बिहान छाडे पनि थप अनुसन्धान भइरहेकोे उनले बताए । स्रोतका अनुसार उक्त ब्यागभित्र ३०–४० लाख भारतीय रुपैयाँ हुन्डी कारोबार गर्ने उद्देश्यले भारतबाट ल्याइएको दाबी गरिएको छ । यद्यपि ब्याग बोकेका युवालाई प्रहरीले पक्राउ नगरे पनि प्रारम्भिक रूपमा उनले बोक्ने मोबाइल प्रहरीले चेकजाँच गर्दा हुण्डी कारोबार गर्ने उद्देश्यले ह्वाट्सएपमा नेपाली रुपैयाँको फोटो पठाएको बताइएको छ ।