धरान । भारतीय गायक तथा सङ्गीतकार राहुल जैनमाथि ३० वर्षीया फेसन डिजाइनरले बलात्कारको आरोप लगाएकी छन् ।
डिजाइनरले उनीविरुद्ध मुम्बईको ओशिवारा पुलिस स्टेसनमा उजुरी दर्ता गराएकी छन् । राहुलले मुम्बईको अँधेरीस्थित आफ्नै घरमा आफूलाई बलात्कार गरेको आरोप लगाएको प्रहरीको उजुरीमा उल्लेख रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । घटना अगष्ट ११ तारिखको हो । प्रहरीले राहुलविरुद्धको उजुरी दर्ता गरेको छ ।
राहुलले ड्रेस डिजाइनका लागि कुराकानी गर्न आफूलाई घरमा बोलाई बलात्कार गरेको डिजाइनरले दाबी गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ । प्रहरीमा उजुरी दर्ता भए पनि हालसम्म राहुललाई प्रहरीले नियन्त्रणमा लिएको छैन ।
डिजाइनरले भारतीय दण्ड संहिताको धारा ३७६ (बलात्कार), ३२३ (स्वेच्छिक चोट पु¥याउने) र ५०६ (आपराधिक धम्की) अन्तर्गत उजुरी दर्ता गरिएको छ ।
यता राहुलले भने आफूले डिजाइनरलाई चिन्दै नचिन्ने बताएका छन् भने आरोप झुटो रहेको दाबी गरेका छन् । त्यसो त गतवर्ष पनि उनीमाथि यस्तै खालको आरोप लागेको थियो । हालसम्म २ सय ५० भन्दा बढी गीत गाइसकेका राहुलले तेरी याद से बोलको गीतबाट गायनमा पदार्पण गरेका थिए ।