विराटनगर । उच्च अदालत विराटनगरले आर्थिक वर्षमा देशभरीमा सबैभन्दा बढी मुद्दा फछर्यौट गरेर अगाडी रहेकोे छ ।
आर्थिक वर्ष २०७८/ ०७९ मा देशभरीमा रहेको ७ वटा उच्च अदालत मध्ये सबैभन्दा बढी मुद्दा फछर्यौट गर्ने उच्च अदालत विराटनगरको रहेको पाइएको हो ।
उच्च अदालत विराटनगरले आर्थिक वर्षमा ६०.४५ प्रतिशत अर्थात ३ हजार २४ थान मुद्दा फछर्यौट गरेको रजिष्टार जितेन्द्रबावु थपलियाले जानकारी दिए । सर्वोच्च अदालतको अभिलेख अनुसार विराटनगरपछि दोस्रोमा मुद्दा फछर्यौट गर्ने उच्च प्रतिशतमा उच्च अदालत जनकपुर रहेको छ । उच्च अदालत धनकपुरले ४९ प्रतिशत अर्थात ४ हजार ७ सय २४ मुद्दा दर्ता भएको मध्ये २ हजार ३ सय २२ मुद्दा फछर्यौट गरेको छ ।
उच्च अदालत विराटनगरमा आर्थिक वर्षमा जिम्मेवारी सरेर आएको १ हजार ५ सय ५३ थान मुद्दा जिम्मेवारी सरेर, ३ हजार ४ सय ४९ थान नयाँ दर्ता गरि जम्मा ५ हजार दुई थान मुद्दा आर्थिक वर्षमा दर्ता भएको थियो । दर्ता भएको मध्ये ३ हजार २४ थान मुद्दा फछर्यौट भएको छ भने १ हजार ९ सय ७८ थान मुद्दा फछर्यौट हुन बाँकी रहेको अदालतले जनाएको छ ।
६ महिना ननाघेको सरल माध्यमबाट दर्ता भएका मध्यै ८ सय २६ मुद्दा फछर्यौट भएको छ । १८ महिना नघागेको सामान्य १ हजार ५ सय ८५ थान मुद्दा फछर्यौट भएको अदालतको अभिलेखमा देखिन्छ । आर्थिक वर्षमा दुई वर्ष नाघेको एउटा पनि मुद्दा बाँकी छैन । उच्च अदालतमा सबैभन्दा बढी मुद्दा फछर्यौट न्ययाधीश कृष्णकमल अधिकारीले गरेका छन् । उनले आर्थिक वर्षभित्रमा ५ सय ६९ थान मुद्दा फछर्यौट गरेका छन् ।
दर्ता भएको दुई वर्ष भित्रका सम्पूर्ण मुद्दा फछर्यौट गर्दै आएको छ । ‘दुई वर्षे मुद्दा शुन्यमा ल्याउने कुरामा प्रथम हुन सक्यौ र अहिलेसम्मको विराटनगरको इतिहासमा एतिहासिक रेकर्ड कायम गर्न सक्यौं,’ मुख्य न्यायाधीश सत्यमोहन जोशी थारुले भने । उनले योजनाबद्ध ढंगले छिटो, छरितो र गुणस्तरीय न्याय सम्पादन गरेको पनि बताए । मंगलबार संचारकर्मीहरू आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा बोल्दै उच्च अदालत विराटनगरका न्यायाधीश रामबहादुर थापाले अदालतको जनआस्थालाई जोगाउन सबै लाग्नुपर्नेमा जोड दिए । अदालतबाट हुने न्याय सम्पादन छिटो र छरितो सेवा प्रभावमा लागि परेको उनले बताए ।