धरान । यसै साता विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले एउटा महत्वपूर्ण निर्णय गर्यो । त्यो निर्णय थियो; विश्वव्यापी रूपमा फैलिएको मङ्कीपक्सबारे । ७५ देशमा फैलिएपछि डब्ल्यूएचओले स्वास्थ्य आपत्काल घोषणा गर्दै सचेत रहन निर्देशन दिएको छ ।
डब्ल्यूएचओले स्वास्थ्य आपत्काल घोषणा गरेकै साता भारतको दिल्लीमा मङ्कीपक्सका बिरामी भेटिए । भारतीय सञ्चारमाध्यमका अनुसार दिल्लीको सिटी अस्पतालमा उपचाररत ३१ वर्षीय युवकमा मङ्कीपक्स सङ्क्रमण देखिएको हो । भारतमा मङ्कीपक्सका चारजना बिरामी भेटिएका छन् ।
जसमध्ये तीनजना केरल प्रान्तका छन् । डब्ल्यूएचओले तेस्रो पटक स्वास्थ्य आपत्काल घोषणा गरेको छ । जब कि यसबीचमा विश्व कोरोना महामारीबाट जुधेको थियो । महामारीका बीचमा डब्ल्यूएचओले स्वास्थ्य आपत्काल घोषणा गरेको थियो । त्योभन्दा पहिले पोलियोको महामारी फैलिँदा स्वास्थ्य आपत्काल घोषणा गरेको थियो ।
यसबीचमा थुप्रै महामारीले नागरिक आक्रान्त भए । चिकन पक्स, प्लेगजस्ता महामारी, स्वाइनफ्लू एनवानएचवान जस्ता महामारी फैलिए पनि डब्ल्यूएचओले स्वास्थ्य आपत्काल घोषणा गरेको थिएन । मङ्कीपक्स देखिँदा किन स्वास्थ्य आपत्काल घोषणा गर्नुपरेको हो त ? प्रश्न गम्भीर छ ।
डब्ल्यूएचओको तथ्यलाई मान्ने हो भने मङ्कीपक्सबाट विश्वका ७५ देश आक्रान्त छन् । जसमा १६ हजार मानिस सङ्क्रमित भइसकेका छन् । पाँचजनाको ज्यान गइसकेको छ । संसारभर फैलिएको यो सङ्क्रमणबाट युरोप बढी आक्रान्त छ । डब्लूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले पत्रकार सम्मेलन गरी स्वास्थ्य आपत्काल घोषणा गरिएको उल्लेख गरे । मध्यअफ्रिकामा पहिलो पटक सन् १९५० को दशकमा मङ्कीपक्स देखिएको थियो ।
नेपालमा तयारी नभएकोप्रति सांसद्को आक्रोस
मङ्कीपक्सबाट नेपाल चिन्तित नबनेकोप्रति सांसद्हरूले आक्रोस व्यक्त गर्न थालेका छन् । मङ्गलबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै नेकपा (एमाले)का सांसद् योगेशकुमार भट्टराईले मङ्कीपक्सको महामारी भित्रिन सक्ने भन्दै सरकारलाई सचेत रहन आग्रह गरे । उनले मङ्कीपक्स भारतमा देखा परिसकेकाले सीमा नाकामा स्वास्थ्य परीक्षण केन्द्र राख्नुपर्ने आवाज उठाए ।
त्यससम्बन्धी साइनबोर्ड, सूचनामूलक जानकारी, प्ले–कार्डहरू बनाई सचेत गराउनुपर्ने उनले बताए । नेपालको संसद् भवनमा पहिलो पटक मङ्कीपक्सका बारेमा चर्चा चल्न थालेको हो । उनले नेपाल पनि यो विपद्बाट टाढा नरहेकाले सचेतता अपनाउन सरकारलाई आग्रह गरे ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान माइक्रो बायलोजी विभागका विभागीय प्रमुख डा. नारायण भट्टराईलगायतका चिकित्सकहरूले पनि मङ्कीपक्सबारे सचेतता अपनाउन सकारलाई आग्रह गरेका छन् ।
के हो मङ्कीपक्स ?
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान माइक्रो बायलोजी विभागका विभागीय प्रमुख डा. नारायण भट्टराईका अनुसार बाँदर प्रजातिबाट मानिसमा फैलिने यो रोग जुनोटिक सङ्क्रमणबाट सर्ने गरेको छ । जसलाई मङ्कीपक्स भाइरस पनि भनिन्छ । जब मानिसमा सर्छ, तब यो एकबाट अर्कोमा सर्दै जान्छ ।
सन् १९५८ मा पहिलो पटक बाँदरमा देखिएका कारणले यसको नाम ‘मङ्कीपक्स’ राखिएको डब्ल्यूएचओले उल्लेख गरेको छ । मानिसमा भने पहिलो पटक सन् १९७० मा मात्रै देखिएको थियो । गणतान्त्रिक मुलुक कङ्गोका ९ महिने दूधे बालकमा पहिलो पटक मङ्कीपक्स देखिएको डब्ल्यूएचओले आफ्नो आधिकारिक वेबसाइटमा उल्लेख गरेको छ ।
सङ्क्रमित मानिससँग घुलमिल, खानपान तथा हेलमेल गरेमा यो रोग सर्ने बताइएको छ । मङ्कीपक्स लाग्दा ज्वरो आउने, टाउको दुख्ने, हातखुट्टा दुख्ने, कम्मर दुख्नेलगायतका समस्या देखा पर्दछन् । त्यस्ता समस्या देखिएको केही समयमै शरीरमा खटिरा आउने हुन्छ ।
यस्ता खटिरा फोकामा परिणत भई करिब दुईदेखि तीन सातासम्म रहने चिकित्सकको भनाइ छ । कसैलाई सामान्य र कसैलाई गम्भीर खालका समस्या पनि देखिन सक्ने बताइन्छ । यसअघि देखिएको मङ्कीपक्समा एकदेखि १० प्रतिशतसम्म मृत्युदर रहेको थियो । यसपटक भने त्यो अनुपातमा नदेखिएको डब्ल्यूएचओले उल्लेख गरेको छ ।