पर्सा जिल्लाको वीरगंज महानगरपालिकामा एटिएम मेसिन फुटाउँदै गरेको अवस्था प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
आइतबार राति महानगरपालिकाको ८ नम्बर वडास्थितमा रहेको माछापुच्छ्रे बैंकको एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा प्रहरीले २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा बारा जितपुरसिमरा उपमहानगरपालिका ५ ठेगाना भएका २५ वर्षीय अजय चौधरी र बारा कलैया उपमहानगरपालिका ठेगाना भएका २७ वर्षीय राजकपुर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
कार्यालयका अनुसार बैंकको एटिएम मेसिन फुटाउँदै गरेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलीले उनीहरूलाई एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरू उपर चोरी सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमती लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।