बेलबारी । मोरङको सुन्दरहरैंचा नगरपालिकाले फोहोर फाल्नका लागि खरिद गरेको जग्गा पर्याप्त भए तापनि नगरको फोहोर वन क्षेत्रमा लगेर फाल्ने गरेको छ । उता नगरले डम्पिङ साइटलाई भनेर खरिद गरेको जग्गा भने बेवारिसेजस्तै बनेको छ ।
मोरङको सुन्दरहरैंचा नगरपालिका–१ मा रहेको करिब दुई बिघा पाँच कठ्ठा जग्गा डम्पिङ साइटकै लागि भनेर केही वर्षअघि खरिद गरिएको थियो तर, त्यहाँ फोहोर लान नगरपालिकाले चासो देखाएको छैन । बरु वन क्षेत्रलाई डम्पिङ साइटजस्तै बनाएको छ ।
साबिक इन्द्रपुर गाविस हुँदा फोहोर व्यवस्थापन गर्ने प्रयोजनका लागि उक्त जग्गा गाविसमा रहेका विभिन्न सङ्घ–संस्थाले र इन्द्रपुर गाविसको सहकार्यमा रकम उठाएर उक्त जग्गा खरिद गरेका थिए । स्थानीय सङ्घ–संस्था र इन्द्रपुर गाविसको सहकार्यमा खरिद गरेर सात वर्षअघि इन्द्रपुर गाविसको नाममा उक्त जग्गा उपलब्ध भएको थियो । हाल उक्त जग्गा इन्द्रपुर गाविसको नाममा नै रहेको छ ।
फोहोर व्यवस्थापन गर्न खरिद गरेको जग्गा प्रशस्त हुँदाहुँदै पनि नगरपालिकाले हाल नगरमा उत्पन्न भएको फोहोर बाघझोडा जङ्गलमा लगेर फाल्दै आएको छ । नगरको नाममा आएको जग्गामा भने विभिन्न बिरुवा रोपेर त्यतिकै राखिएको छ । नगरले मासिक ९ हजार तलबमा उक्त जग्गा हेर्न भनेर एक जना कर्मचारीसमेत राखेको छ । उक्त जग्गा बेलबारी नगरपालिका र सुन्दरहरैंचा नगरपालिकाको सिमाना रहेको लोहन्द्रा खोलाको किनारमा छ ।
फोहोर जङ्गलमा लगेर बेवारिसे अवस्थामा फाल्दा वातावरण प्रदूषण हुने मात्र नभई जङ्गली जनावर र चरन क्षेत्रमा गएका गाई, बाख्राले जङ्गलैभरि छरेर प्रदूषित बनाएको विराटचोकका नारायण थापा बताउँछन् । उनी भन्छन्, ‘भएको जग्गा सदुपयोग गरेर नगरले उक्त जग्गामा फोहोर व्यवस्थापन गर्न कुनै चासो देखाएको छैन ।’
सात वर्षअघि इन्द्रपुर गाविसको नाममा आएको उक्त जग्गाको विषयमा नगर भने बेखबर छ । जग्गा संरक्षण गर्न एक जना कर्मचारी नगरले राखे तापनि उक्त जग्गालाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने नगरमा कुनै दिगो योजना छैन ।
नगरका प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईले आफू नयाँ भएकाले यो विषयमा जानकार नभए तापनि जनप्रतिनिधि र यहाँका अन्य सरोकारवाला निकायसँग छलफल गरेर उक्त जग्गाको उचित सदुपयोग गरिने बताए । मेयर केदारप्रसाद गुरागाईंले आफूलाई उक्त जग्गाको विषयमा ज्ञान भएको र स्वयम् आफू पनि जग्गा खरिदमा संलग्न भएको हुँदा जग्गाको उचित सदुपयोग गर्न आफू लागिपर्ने बताए ।