विराटनगर । भारतको  मीरगञ्ज पुल निर्माण सम्पन्न भइसक्दासमेत प्रयोग गर्न नदिने र पुरानो पुलमा पनि जोखिम देखाउँदै अवरोध गर्ने भारतीय शैलीले नेपाली उद्योगी–व्यवसायी हैरान भएका छन् ।

मीरगञ्ज पुलमा हरेक वर्ष दोहोरिने अवरोध र नयाँ पुल निर्माणमा भारतीय पक्षले देखाएको उदासिनताबाट मोरङ–सुनसरी उद्योग करिडोरका व्यवसायीहरू हैरान भएका हुन् । नयाँ पुल प्रयोग गर्न नदिने र अवरोध खडा गर्ने भारतीय कदमले नेपाली पक्षले छोटो बाटो प्रयोग गर्न पाएको छैन । बिहार अररिया जिल्लाको मीरगञ्ज पुलबाट विराटनगरस्थित एकीकृत भन्सार जाँच चौकी (आईसीपी) जम्मा एक किलोमिटर दूरीमा छ ।

तर, दुवै पुल प्रयोग गर्न नपाउँदा नेपाली पक्षले सात महिनायता १ सय २० किलोमिटर लामो दूरी पार गरेर सुनसरीको भण्टाबारी नाका प्रयोग गर्नुपरेको छ । पुल प्रयोग गर्न नपाउँदा अहिले १ सय २० किलोमिटर लामो दूरी पार गरेर सामान आयात गर्नुपर्ने समस्यामा उद्योगी व्यवसायीहरू रहेको मोरङ व्यापार सङ्घका अध्यक्ष नवीन रिजालले जानकारी दिए । यसरी लामो दूरी घुमेर विराटनगर आउँदा लागत र झन्झट दुवै बढेको उनले बताए ।

उद्योगीका अनुसार भण्टाबारी नाका हुँदै सामान आयात गर्दा प्रतिट्रक कम्तीमा १५ हजार लागत बढेको छ । बाटोभरि स्थानीय सरकारले लिने विभिन्न शीर्षकको कर र ढुवानी खर्चले लागत बढाएको छ । हरेक मालवस्तुमा प्रतिकेजी डेढ रुपैयाँसम्म लागत बढेको उद्योगीहरू बताउँछन् ।

‘यसै पनि अरू विभिन्न समस्याले हाम्रो उत्पादनले बजारमा प्रतिस्पर्धा गर्न कठिन छ’ अध्यक्ष रिजालले भने, ‘अहिले लागत बढेर हाम्रा उत्पादनले प्रतिस्पर्धी क्षमता झनै गुमाइरहेका छन् ।’ सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगी र विराटनगरका व्यवसायीले सात महिनायता विराटनगरको रानी नाकाबाट सामान आयात गर्न पाएका छैनन् ।

भण्टाबारी नाकाबाट सामान आयात गरिरहेका उद्योगी व्यवसायीले यही कारण ढुवानीमा बढी खर्च गर्नुपरेको छ । सात महिनाअघिसम्म तेस्रो देशबाट भारतका कोलकत्ता, विशाखापट्नम, मुम्बई, अमहदावादजस्ता बन्दरगाह आइपुग्ने औद्योगिक कच्चा पदार्थदेखि खाद्यान्नसम्मका वस्तुहरू भारत बिहारको जोगबनी हुँदै विराटनगर भित्रिने गर्थे । सात महिनायता भने तेस्रो देश तथा भारतबाट विराटनगर ल्याइने सबैजसो वस्तु बोकेका कन्टेनर र ट्रकहरू भण्टाबारी नाकाबाट भित्रिने गरेका छन् ।

विराटनगरका उद्योगी व्यवसायीले सात वर्षयता कुनै न कुनै बेला मीरगञ्ज पुलको समस्याले सास्ती खेपिरहेकै छन् । अङ्ग्रेजकै पालामा बनेको झण्डै सय वर्ष पुरानो फलामे पुल भासिने समस्याले नेपाली आयातकर्तालाई दुःख दिइरहेको छ । यसपटक सात महिनाअघि त्यही पुलमा समस्या उत्पन्न भयो । त्यसयता रानी नाकाबाट सामान आयात हुन सकेको छैन ।