भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिका र हतुवागढी गाउँपालिका जोड्ने मुख्य कावा खोलाको पुल भाँच्चिएको आठ महिनासम्म मर्मत गर्नेतर्फ सरकारले चासो देखाएको छैन ।
यसबाट जिल्लावासी प्रत्यक्ष प्रभावित बनेका छन् । अझ बर्खाका बेला भेल बाढी आउने भएका कारण स्थानीयसँग अर्को विकल्पसमेत छैन । पुल मर्मत नहुँदा स्थानीय जनता जोखिम मोलेर खोला तर्न बाध्य छन् । बाढी आएको बेला सवारी साधन तार्न समेत समस्या हुने गरेको स्थानीय बताउँछन् ।
पुल भाँच्चिएको विषयमा गत मङ्सिरमा भएको सर्वपक्षीय छलफलमा पुनःनिर्माणको काम वर्षा यामअघि नै सक्ने सहमति भएको थियो । यता प्रादेशिक सडक, पुल आयोजना प्रदेश १ का संयोजक सूर्यनारायण चौधरीले भने आगामी चैत महिनासम्ममा पुनःनिर्माण गरेर सरकारलाई जिम्मा लगाउने जानकारी दिए । उनले पुुनःनिर्माणको काम चाँडो गर्ने योजना रहे पनि काम गर्दै जाँदा केही ढिला भएको स्वीकारे । निर्माणको क्रममा पुल भाँच्चिएको विषयमा के कति कारणले भएको हो भन्ने विषयमा अहिले पनि अनुसन्धान भइरहेको संयोजक चौधरीले बताए ।
उनले भने, ‘पुल निर्माणका क्रममा भाँच्चिनुु दुःखद् हो; यो विषयमा अनुसन्धान भइरहेको छ, वर्षायाम सुुरु भएकाले निर्माणको काममा ढिलाइ भएको छ; वर्षायाम सकिएलगत्तै काम सुुरु हुुन्छ ।’ पुल बन्ने आशामा बसेका स्थानीय भने निर्माणकै क्रममा भाँच्चिनु दुःखद् भएको स्थानीय रमेश कुलुङले सुनाए ।
कुलुुङका अनुसार कतिपय अवस्थामा मोटरसाइकल बोकेर तार्नुपर्ने अवस्था छ । चढेर खोलाबाट तार्दा पानी पसेर समस्या हुने भएकाले बोकेर मोटरसाइकल तार्ने गरिएको उनले बताए । यो पुल स्वीस सरकारको पाँच करोड लगानीमा २०७६ फागुन १२ मा शिलान्यास गरेर निर्माण थालिएको थियो । करिब ९० प्रतिशत काम सकेर ढलान गरेपछि पुल बीचमा भाँच्चिएको थियो । गलत प्राविधिक डिजाइनका कारण भाँच्चिएको स्थानीयको आरोप छ ।
भोजपुर–मानेभञ्ज्याङ –रानीबास–घोडेटार सडक–खण्डमा बनिरहेको पुल २०७७ असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । निर्माण सुरु हुनुपूर्व ८० वर्षको आयु हुने र भूकम्प प्रतिरोधी बन्ने गरी पुलको डिजाइन भएको इञ्जिनियरले बताएका थिए । ४५ मिटर लामो, ६ मिटर चौडाइ साथै दुवैतर्फ एक दशमलव २० मिटर पैदल यात्रु हिँड्ने खुल्ला भागसहितको डिजाइन तयार भएको थियो ।
यो पुल पुनःनिर्माण भए भोजपुरलाई तराईका जिल्लासँग जोडिन सहज हुने हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुुमार राईले बताए । कावा खोलाको पुलसँगै चुहारको दूधकोसी नदीमा पुल निर्माणको काम सम्पन्न भएपछि भोजपुर सदरमुकामबाट ९० किलोमिटरको दूरी पार गरेपछि सुनसरीको चतरा पुगिने अध्यक्ष राईले जानकारी दिए । यो रुट भोजपुरलाई तराईसँग जोड्ने सबैभन्दा छोटो बाटो रहेको सडक विभागले जनाएको छ ।