विजयपुर । धरानमा बाँदर आतङ्कबाट नागरिक पीडित छन् । अहिलेको मात्र नभएर विगत लामो समयदेखिकै समस्या हो यो । बाँदर नियन्त्रणका लागि प्रभावकारी पहल नहुँदा हालसम्म पनि न्यूनीकरण हुन सकिरहेको छैन ।
धरानको बाँदर आतङ्क नियन्त्रण गर्न विभिन्न समयमा प्रयास भए तापनि प्रभावकारिता देखिएको छैन । बाँदरले मुख्यगरी धरानको १, २, ३, ४, ५, ६ र १५ लगायतका वडामा स्थानीय बासिन्दालाई दुःख दिने गरेका छन् । बाँदर घरमा पसेर पकाएर राखेको भात खाइदिने, बिजुली बत्ती फुटाइदिने, पोलको बिजुली बत्ती बिगार्ने, पर्दाहरू च्यातिदिने, महिला र बालबालिकालाई आक्रमण गर्ने, सिसाका झ्याल फुटाउने जस्ता आतङ्कले स्थानीय पीडित बनेका छन् ।
बाँदरबाट पीडित बनेका स्थानीयले २०७० सालमा बाँदर पीडित सङ्घर्ष समिति नै गठन गरेका थिए । समितिले तीनै तहको सरकारलाई ज्ञापन पत्र बुझाउँदै ध्यानाकर्षण गराएको थियो । १ नं. प्रदेश सभा सदस्य सावित्रा जोशीले बाँदर आतङ्कका विषयमा प्रदेशसभामा पटक–पटक कुरा उठाएकी थिइन् । तर, प्रदेश सरकारले पनि बाँदर आतङ्क नियन्त्रणमा कुनै कार्य गरेको देखिँदैन ।
२०७४ सालमा बाँदर नियन्त्रणका लागि धरानका बाँदरलाई समातेर बर्दिया राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिएको थियो । उपमहानगर र स्थानीयको आर्थिक साझेदारीमा भारतको लखनउबाट ल्याइएका बाँदर नियन्त्रकले ३ सय बाँदर बर्दिया राष्ट्रिय निकुञ्जमा छाडेका थिए ।
धरानका बाँदर स्थानान्तरण गरिएपछि बाँदर आतङ्ककै कारण रातभर सुत्न नसकेका, आरामले बस्न नपाएका र बाँदर आतङ्कबाट पीडित बनेकाहरूले केही राहत त पाए तर, दीर्घकालीन समाधान भएन । धरानमा बर्सेनि बाँदरको सङ्ख्या वृद्धि हुँदै गएको छ । सङ्ख्या बढ्दै गएपछि बाँदर आतङ्क पनि थपिएको छ । भोजपुरका अधिकांश क्षेत्रमा अहिले बाँदर रुँघेर बस्नुपर्छ । रुँघेन भने वर्षभरि खाने कमाइ बाँदरले छिनभरमा सक्छ ।
टेम्केमैयुङ गाउँपालिकाका निवर्तमान अध्यक्ष ध्रुव राईले बाँदरले नागरिकको अन्नबाली नष्ट गरी जीविकोपार्जनमा नै सङ्कट ल्याएको भन्दै बाँदर मार्ने अभियान पनि चलाएका थिए । नेपालका विभिन्न ठाउँमा बाँदर आतङ्क नियन्त्रणका लागि ‘एक घर, एक बाँदर’ पाल्ने अभियानजस्ता कार्यक्रम पनि सञ्चालन गरेको पाइन्छ । तर, प्रभावकारी नियन्त्रण भएको पाइँदैन ।
धरान उपमहानगर प्रमुख हर्कराज राईले बाँदर आतङ्क नियन्त्रण गर्न फलफूलका वृक्षरोपण अभियान सुरु गरेका छन् । वृक्षरोपण बाँदर आतङ्क नियन्त्रण गर्न कति प्रभावकारी हुन्छ त ? धरानका बाँदर आतङ्क नियन्त्रणसम्बन्धी अध्ययन गरेका बाँदरविज्ञ डा. मुकेश चालिसे धरानमा बाँदर नियन्त्रण गर्न वैज्ञानिक र प्रभावकारी पहल नभएको बताउँछन् । उनी भन्छन्, ‘वृक्षरोपण गर्दैमा पूर्ण नियन्त्रण हुँदैन । केही कम हुन्छ ।’
डा. चालिसेका अनुसार बाँदर धेरै सिपालु जनावर भएकाले एउटा काम गर्दैमा नियन्त्रण हुँदैन । रणनीतिक र तहगत रूपमा काम गर्नुपर्ने उनको भनाइ छ । उनी बाँदर नियन्त्रण गर्न स्थानीय सरकार, वन, अस्पताललगायत सरोकारवाला निकाय एकीकृत रूपमा लाग्नुपर्ने सुझाउँछन् । उनी भन्छन्, ‘पहिलो चरणमा कतिवटा, कति परिवारलाई बाँदरले दुःख दिन्छन् पहिचान गर्नुपर्छ । सबैभन्दा बदमासलाई समातेर चिडियाखाना जस्तो बनाएर राख्न सकिन्छ ।’ उनी बाँदरलाई निश्चित स्थानमा मात्रै खाना दिन सुझाउँछन् । उनी भन्छन्, ‘बाँदरको बानी मानवले नै बिगारेका हुन् । बाँदर आतङ्क नियन्त्रण गर्न मानवको बानी सुधार पर्छ ।’
उनी माया, धर्मका नाममा बाँदरलाई जुनसुकै स्थानमा खाना दिन नहुने बताउँछन् । बाँदरलाई जताततै खाना दिँदा झोला बोकेको देख्नेबित्तिकै आक्रमण गर्ने बताउँछन् । उनी भन्छन्, ‘बाँदरलाई निश्चित स्थानमा मात्रै खाना दिनुपर्छ । त्यसो गरे निश्चित स्थानमा नै रुँघेर बस्छन् ।’ उनी बदमास बाँदरलाई अस्पतालमा अनुसन्धानमा प्रयोग गरेर र भाले जातिलाई परिवार नियोजन गरेर पनि नियन्त्रण गर्न सकिने बताउँछन् । उनी भन्छन्, ‘जख्खु भाले बाँदरलाई परिवार नियोजन गरिदिनु उचित हुन्छ ।’ सामुदायिक वनहरूमा बाँदर बाहिर निस्कन नसक्ने गरी तारजाली गरेर पनि नियन्त्रण गर्न सकिने डा.चालिसे बताउँछन् । उनी भन्छन्, ‘विदेशतिर तारजाली गरेर नियन्त्रण गरिन्छ ।’
युनिभर्सिटी अफ चाइनिज एकेडेमी अफ साइन्सबाट ‘नेपालमा रातो बाँदर–मानव द्वन्द्व’ मा विद्यावारिधि गरेकी सविना कोइरालाले हिमाल खबरको एक लेखमा ‘बाँदरको उद्दण्डता न्यूनीकरण गर्न विज्ञहरूको सहभागितामा बन्ध्याकरण गर्न सकिने’ उल्लेख गरेकी छन् । उनले लेखमा बाँदर आतङ्क नियन्त्रण गर्न बाँदरको पारिवारिक संरचना तथा आनीबानीलाई पनि ख्याल गर्नुपर्ने उल्लेख गरेकी छन् । उनले लेखेकी छन्, ‘बाँदर परिवारसँग बस्न रुचाउने सामाजिक प्राणी हो । आफ्नो बच्चा, आमा तथा परिवारका अन्य सदस्यसँग छुट्टिएर बस्दा ऊ मानसिक रूपले अस्वस्थ हुन्छ । मानसिक रूपले अस्वस्थ हुँदा उसमा आक्रामक प्रवृत्ति विकसित हुने गर्छ ।’
समस्याको शीघ्र समाधानका लागि भौगोलिक स्थान, वन्यजन्तुको बासस्थान, सङ्ख्या, समूह र सामाजिक व्यवहारलगायतको वैज्ञानिक अध्ययन गर्नुपर्ने उल्लेख गरेकी छन् । वैज्ञानिक अध्ययन विनाको कदम प्रत्युत्पादक नहुने डर हुने उनले उल्लेख गरेकी छन् । उनको लेखमा बाँदर आतङ्क नियन्त्रणका लागि सन्तुलित वनको अवधारणा विकास गर्नुपर्ने उल्लेख छ । डा. चासिलेले अध्ययनका क्रममा मन्दिरका बाँदरले बढी दुःख दिने गरेको निष्कर्ष निकालेकी छन् ।
बाँदर नियन्त्रणका लागि वृक्षरोपण
बाँदर नियन्त्रणका लागि भन्दै शनिबार धरानको पञ्चकन्या मन्दिरक्षेत्रमा वृक्षरोपण गरिएको छ ।
नगर प्रमुख हर्कराज राईको नेतृत्वमा विभिन्न प्रजातिका फलफूलहरूको वृक्षरोपण गरिएको हो । प्रमुख राईले बाँदर आहाराको खोजीमा बजार पस्ने गरेकाले नियन्त्रण गर्न जङ्गलमा फलफूलका वृक्षरोपण गरिएको बताए । उनले भने, ‘बाँदर बजारमा घर, सहर हेर्न आउँदैन । आहाराको खोजीमा आउने हो ।’
बजार पसेर नागरिकलाई दुःख नदेओस् भनेर वृक्षरोपण गरेको उनले बताए । फ्लोरिकल्चर एसोसिएसन नेपाल धरान र प्राइम भिजन इन्टरनेशनल कलेजको सहयोगमा वृक्षरोपणमा गरिएको हो । धरानका नागरिकहरूले आफै बिरुवा लगेर पनि रोपेका छन् । करिब २ सय बिरुवाहरू रोपिएका छन् । मन्दिर आसपासका क्षेत्रमा फोहोर व्यवस्थापनका लागि डस्टबिन पनि राखिएको छ ।
यस्तै लाङ्घाली सामुदायिक वन उपभोक्ता समूहले पनि वृक्षरोपण गरेको छ । समूहकी सचिव कमला गौतमका अनुसार शनिबार ५० बिरुवा रोपिएको हो । उनले दैनिक बिरुवा रोप्ने बताइन् ।
लाङ्घाली सामुदायिक वनको हलदेखि तीनकुनेसम्मको क्षेत्रलाई फूलबारीको रूपमा विकास गर्ने बताएकी छन् । उनले भनिन्, ‘धरानको प्रवेशद्वार भएकाले पर्यापर्यटन प्रवद्र्धन गर्न वृक्षरोपण गछौँ ।’ वृक्षरोपण कार्यक्रममा प्रदेश १ का निवर्तमान मुख्यमन्त्री भीम आचार्य, प्रदेश सभा सदस्य उमिता बराइली, सावित्री जोशी र उपमहानगरका उपप्रमुख अइन्द्रविक्रम बेघालगायतको उपस्थिति रहेको थियो ।