विराटनगर । मोरङको जहदा गाउँपालिका–५ मझारेस्थित माछाप्च्छ्रे बैङ्क बिहीबार राति लुटपाटको प्रयास भएको छ ।मध्यरातमा अज्ञात समूहले बैङ्कमा प्रवेश गरेर लुटपाटको प्रयास गरेको हो ।
नकावधारी समूह बैङ्कभित्र प्रवेश गरेर लुटपाटको प्रयास गरेको प्रहरीले जनाएको छ । बैङ्कको सिसी क्यामेरामा भने दुईजना मात्रै देखिएका छन् । सिसी क्यामेरामा देखिएकाहरूले मुख छोपेका थिए । जहदाका स्थानीयका अनुसार बिहीबार राति बैङ्क लुटपाटको प्रयासको हल्ला भएपछि गाउँलेहरू भेला भएका थिए । हल्ला भएको केही समयपछि प्रहरी पनि आएको थियो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार जहदा गाउँपालिका–५ मा बैङ्क रहेको भवनको पछाडिपट्टिको ढोका फोडिएको अवस्थामा पाइएको थियो । ‘घरको पहिलो तलामा बैङ्क र दोस्रो तलामा घरमूली बस्दा रहेछन्’ उनले भने, ‘बैङ्क भएको भवनको पछाडिपट्टिको गेट फुटाइएको रहेछ ।’
उनले लुटपाटको प्रयास भए नभएको विषयमा अनुसन्धान भइरहेको बताए । ‘बैङ्क वा घरमा लुटपाटको प्रयास भएको हो, खुलेको छैन’ उनले भने, ‘हामी सीसी क्यामेराको फुटेज मगाएर हेर्दैछौं ।’
बैङ्कका सुरक्षा गार्ड श्रवणकुमार सिंह बैङ्कमै सुतिरहेका थिए । राति करिब साढे २ बजेबाट डाङ्डाङ डुङ्डङ्को आवाजले आफू ब्युँझिएको उनले बताएका छन् । ब्युँझदा एउटा अपरिचित समूह बैङ्कको पछाडिपट्टिको दुईवटा ढोका फुटाएर भित्र पसेको उनले सुनाए ।
‘साथमा रहेको खुकुरी देखाएर तर्साउन खोजे । तर, त्यो समूहले टेरेन’ –उनले भने । एक वर्षदेखि बैङ्कमा गार्डको काम गरिरहेका उनको घर बैङ्कबाट नजिकै पर्छ । उनले घर र छरछिमेकमा फोन गरेर बैङ्कमा लुटेरा समूह छिरेको सुनाए । जहदा गाउँपालिका– ५ जहदा बजारमा रहेको बैङ्कको शाखा आसपास बसोबास बाक्लो छ ।
मध्यरातमा अपरिचित समूह प्रवेश गरेपछि उनी चिच्याए । ‘राति साढे २ बजेतिर चेनगेट र अर्काे गेट भत्काएर आएपछि साथमा भएको खुकुरी देखाएँ’ उनले भने, ‘राति नै छरछिमेकमा फोन गरेर मान्छेलाई बोलाएँ, अपरिचित समूहलाई पुलिस आइपुग्यो भनेर डर पनि देखाएँ ।’
छरछिमेकमा फोन गरेर हल्ला भएपछि भने दुईवटा ढोका फोडेर बैङ्क छिर्दै गरेको समूह फरार भएको थियो । ‘सुरुमा २ जनालाई देखेँ, तर त्यहाँ ७–८ जना मान्छे थिए’ सुरक्षा गार्ड सिंहले भने, ‘सबैले मुख छोपेका थिए ।’