इनरुवा । कार्यालयभित्र दुव्र्यवहार गरिएको विषयलाई लिएर बर्जु गाउँपालिकाका कर्मचारीले कामकाज ठप्प पारेका छन् ।

सुरक्षाको प्रत्याभूति नभएको भन्दै कामकाज ठप्प पार्न बाध्य भएकोे बताएका कर्मचारीहरूले अत्यावश्यकबाहेकका अन्य कुनै पनि सेवा प्रवाह नगरिने बताए । गाउँपालिकाको कार्यालयले विज्ञप्ति जारी गर्दै सेवा अनिश्चित अवधिसम्म ठप्प रहने जनाएको हो । 

प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार चौधरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा काम गर्ने सहज वातावरण नबनेसम्म अत्यावश्यक बाहेकका सेवा प्रवाह बन्द रहने उल्लेख छ ।

विज्ञप्तिमा कर्मचारीमाथि भएको दुव्र्यवहारको भत्र्सना गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘कार्यालयभित्र आक्रोसित भीड प्रवेश गरी कर्मचारीलाई नियन्त्रमा लिई अभद्र व्यवहार गरिनु खेदजनक छ । जसले गर्दा शान्तिपूर्ण तवरले काम गर्ने वातावरणमा खलल पुग्नुका साथै शान्ति सुरक्षामा चुनौती बढाएको छ ।’

विज्ञप्तिमा स्टोर कोठामा राखिएको कृषि मोटर कोठा व्यवस्थापनका क्रममा सुरक्षित स्थानमा स्थानान्तरण गरी राखिएको विषयलाई कर्मचारीले चोरी गरेको भनी आरोप लगाइनु दुःखद् भएको उल्लेख छ ।

सो विज्ञप्तिमा आरोप नै पुष्टि नभई आक्रोसित भीड कर्मचारीउपर जाइलागेको र प्रहरी आएर पक्राउ गरी लग्दासमेत जनप्रतिनिधिहरूले वास्ता नगरेको विषयलाई अभिभावकविहीनको अवस्था सिर्जना हुन पुगेको बताइएको छ ।

यसैबीच मङ्गलबार गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रोहवरमा बसेको कर्मचारीहरूको बैठकले कर्मचारीउपर भएको दुव्र्यवहारको भत्र्सना गर्दै आन्दोलनका कार्यक्रमलाई अघि बढाउने निर्णय गरेको छ ।

जसअनुसार पालिकास्तरीय साझा प्रतिबद्धतासहित कर्मचारी हकहित र सुरक्षाको प्रत्याभूति नभएसम्म अत्यावश्यक बाहेकका सबै कामकाज ठप्प पार्ने निर्णय गरिएको छ ।

गाउँपालिकाभित्रका कर्मचारीको आन्दोलनमा पालिकाभित्रका सबै शिक्षक, कर्मचारीलगायतले ऐक्यबद्धता जनाएका छन् । सो अनुसार आज(बुधबार) बाट विद्यालयका शिक्षक तथा कर्मचारीले कालोपट्टी बाँधी पेनडाउनजस्ता कार्यक्रम गर्ने निधो गरेका छन् । 

कर्मचारीहरूको बैठकले आरोप लगाइएका कर्मचारीउपर आन्तरिक छानबिन हुने र दोषी पाइए कानून बमोजिम कारबाहीको प्रक्रिया अघि बढाइनेसमेत निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत चौधरीले बताए ।

यता गाउँपालिका अध्यक्ष जीवछकुमार रायसमेतले विज्ञप्ति जारी गर्दै घटनाका सम्बन्धमा छानबिन गरी १५ दिनभित्र सत्य–तथ्य बाहिर ल्याउने बताएका छन् ।

गाउँपालिकाभित्र कर्मचारीउपर भएको दुव्र्यवहारको घटनाप्रति एकीकृत सरकारी कर्मचारी सङ्गठनले समेत ध्यानाकर्षण भएको जनाएको छ । अध्यक्ष गणेश भट्टराईसहित गाउँपालिका पुगेको कर्मचारीको टोलीले घटनाको वस्तुस्थिति बुझेको थियो । उसले दुव्र्यवहारको घटनाको वास्तविकता छानबिन गरी दोषीउपर कारबाही हुनुपर्ने माग गरेको छ ।