यासोक । पाँचथरको सुख्खाक्षेत्र कुम्मायक गाउँपालिकामा नौ महिनादेखि डिप बोरिङ खानेपानी योजना अलपत्र परेको छ । कुम्मायक–५ को स्वाबुङ डिप बोरिङ खानेपानी योजना पम्प र प्यानल बोर्डको समस्याका कारण अलपत्र परेको हो ।

प्रदेश एक सरकारको ३२ लाखको लागतमा डिप बोरिङ खानेपानी योजना सञ्चालनमा आएको थियो । खानेपानीको चरम् अभाव भएको क्षेत्रमा प्रदेशले २०७५ मा खानेपानी योजना सञ्चालनमा ल्याएको थियो । केही महिना सञ्चालनमा आएको खानेपानी योजना प्राविधिक समस्याका कारण थला परेको छ ।

लामो समयदेखि अलपत्र परेको योजना सञ्चालनमा गाउँपालिकाले चासो नदिएपछि योजना अलपत्र परेको स्थानीय दलबहादुर थापाले बताए । प्रदेश सरकारले कुम्मायकका पाँच स्थानमा डिप बोरिङ खानेपानी सञ्चालन गर्न १ करोड ६० लाख रुपैयाँ खर्च गरेको थियो । ठूलो लगानी खर्चेर निर्माण गरेको योजना प्राविधिक समस्याका कारण सञ्चालनमा चुनौती देखापरेको हो ।

यता कुम्मायक गाउँपालिकाले सबै योजनालाई यथाशीघ्र सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ । गाउँपालिका अध्यक्ष बमप्रसाद लावतीले अघिल्लो स्थानीय सरकारले चासो नदिएको खानेपानी योजना चाँडै सञ्चालनमा ल्याउने बताए । ‘लामो समयदेखि खानेपानी योजना बन्द भएको जानकारी आएको छ । आयोजनामा प्रयोग भएका पाइप पनि अलपत्र भएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ, यसलाई तत्कालै सञ्चलानमा ल्याउँछौं’–लावतीले भने ।