धनकुटा । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले कोदोको रक्सीलाई अन्तर्राष्ट्रियस्तरमा बेच्न सकिने बताएका छन् ।

मुख्यमन्त्री राईले आर्थिक आय आर्जनको मुख्य स्रोत कोदोको रक्सी हुनसक्ने प्रदेश सरकारको ठहर भएकाले यसपटकको नीति तथा कार्यक्रममा समावेश गरिएको बताए । कोदोको रक्सीलाई ब्राण्ड बनाउँदा पहाडी उर्भरभूमिमा कोदो लगाउन र वैज्ञानिक खेती गर्नसमेत प्रोत्साहन पुग्ने मुख्यमन्त्री राईको दाबी छ ।

परम्परागत मदिरा (कोदोको रक्सी) प्रवद्र्धन समिति प्रदेश नं. १ ले बजेटमा रक्सी प्रवद्र्धन कार्यक्रम समावेश गर्न माग गरेको थियो । आ.व. ०७९÷८० को बजेट, नीति तथा कार्यक्रममा प्रदेश सरकारले रक्सी प्रवद्र्धनका लागि बजेट विनियोजन गरेपछि प्रवद्र्धन समितिले मुख्यमन्त्री राईलाई धन्यवाद ज्ञापन गरेको छ ।

दुई वर्षअघि तत्कालिन सामाजिक विकास मन्त्री उषाकला राईले कोदोको रक्सीलाई अन्तर्राष्ट्रियकरण गर्न प्रस्ताव अघि सारेकी थिइन् । प्रवद्र्धन समितिले पूर्वमन्त्री राईलाई समेत ज्ञापन–पत्र बुझाउँदै बजेट व्यवस्थापनमा जोड दिन आग्रह गरेको छ । ज्ञापन–पत्रमा परम्परागत मदिराको अध्ययन गरी तथ्याङ्क सङ्कलन गरी औद्योगिकीकरणको सम्भाव्यता अध्ययन गर्ने भनिएको छ । त्यसका साथै कोदो उत्पादनलाई ध्यान दिँदै कृषकलाई प्रोत्साहित गर्नका लागि कृषि, प्रविधि, मल, बिउको व्यवस्थापन गरिनुपर्नेमा जोड दिइएको छ ।

ज्ञापन–पत्रमा कोदोको रक्सीलाई स्तरीय पेयपदार्थको रूपमा स्वीकृत गर्न आवश्यक वैज्ञानिक पद्धतिको अध्ययन, जसरी डेरीमा दूध सङ्कलन गरिन्छ, त्यसरी नै ग्रामीणस्तरमा उत्पादित रक्सी सङ्कलन, प्राविधिक परीक्षण गरी ब्राण्डिङ गर्न सङ्कलन केन्द्रको स्थापना गरिनु पर्नेमा जोड दिइएको छ ।

पूर्वमन्त्री राईले स्वदेशी रक्सीलाई अन्तर्राष्ट्रियकरण गर्नसके समग्र नेपालीको आयस्रोतको राम्रो बाटो हुने बताउँदै जनस्तरबाट यसको माग र आवश्यकताका बारे जनचेतना जगाउन प्रवद्र्धन समितिलाई आग्रह गरिन् । विदेशी रक्सीले नेपाललाई छोपिरहेको बेला स्थानीय उत्पादित स्वदेशी रक्सी बाहिर नआउनु, बिक्री वितरण गर्न नसक्नु नेपालीकै दुर्भाग्य भएको पूर्वमन्त्री राईले बताइन् ।