विराटनगर । भेइकल एन्ड कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम (भिसिटिएस)मा प्रविष्ट नगरी मालसामान ढुवानी गर्ने १ सय ९५ व्यापारिक फर्म कारबाहीमा परेका छन् ।
राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरीले चालु आर्थिक वर्षको ११ महिनामा ट्रयाकिङ गर्दा भिसिटिएस नगरी मालसामान ढुवानी गर्ने १ सय ९५ व्यापारिक कम्पनी कारबाहीमा परेका हुन् । विभागले ती फर्मलाई चालु आर्थिक वर्षको जेठमसान्तसम्मा ७७ लाख १४ हजार रूपैयाँ जरिबाना तिराएको छ ।
राजस्व अनुसन्धान कार्यालय इटहरीका कार्यालय प्रमुख तीर्थराज खनालका अनुसार मोरङ, सुनसरी, झापाका विभिन्न १ सय ९५ वटा फर्मले भिसिटिएस उल्लङ्घन गरेको पाइएको हो । कारबाहीमा पर्ने सबैभन्दा बढी मोरङका रहेका छन् । कारबाहीमा परेका फर्महरू ५ हजारदेखि २ लाख रुपैयाँसम्म जरिबानामा पर्ने फमहरू रहेका छन् । विभागले २०७६ साल साउन १ गतेदेखि नै भिसिटिएस प्रणाली प्रयोगमा ल्याएको छ ।
भिसिटिएस राजश्व प्रशासन सुधारका लागि विभागले पछिल्लो समय विकास गरेको सूचना प्रणाली हो । यस प्रणाली अन्तर्गत इन्टरनेटबाटै व्यावसायिक फर्महरूले मालसामान ढुवानी कसरी गर्छन् भन्ने जाँच गरिन्छ । यो प्रणालीमा सामान ढुवानी हुनुभन्दा अघि के, कहाँ, कति, ढुवानीलगायत सबै विवरण प्रविष्ट गर्नुपर्ने नियम छ ।
ढुवाानीको सुरुको विन्दु र अन्तिम विन्दुसम्मै विभागले ट्रयाकिङ गरिरहेको हुन्छ । ‘यसले राजश्व चुहावटको सम्भावना कम गरेर राजश्व प्रशासनमा सुधार आउँछ भन्ने हाम्रो विश्वास हो’–खनालले भने । सामान पुग्नुभन्दा अगाडि अनगोइङ र पुगेपछि डेलिभरीको सूचना अनलाइनमै प्राप्त हुन्छ । ‘कुन चालकले सामान साधन चलाइरहेको हो, त्यो पनि थाहा हुन्छ’ उनले भने, ‘त्यो साधन कहाँ–कहाँ पुग्छ भन्ने सबै थाहा हुन्छ, कसले किनेको कसले बेचेको थाहा हुन्छ ।’ पूर्व–पश्चिम राजमार्गमा भिसिटिएस प्रभावकारी देखिएको छ । केही स्थानीय बजारमा भिसिटिएस प्रणालीमा नआउने गरेको पाइएको छ ।
को–को परे कारवाहीमा ?
भिसिटिएसमा प्रविष्ट नगरी मालसामान ढुवानी गर्ने विराटनगरका प्रतिष्ठिन उद्योगी घरानाका व्यावसायिक फर्म पनि कारबाहीमा परेका छन् । भिसिटिएसमा प्रविष्ट नगरी मालसामान आयात गर्दा कारबाहीमा परेका चारवटा फर्मले जनही दुई लाख रुपैयाँ जरिबाना तिरेका छन् ।
जसमा अलि टे«डर्स सेन्टर विराटनगर, सोनी जनरल स्टोर इटहरी, शिव मोटर पार्टस् विराटनगर, आर्य इम्पेक्स विराटनगरले जनही २–२ लाख रुपैयाँ जरिबाना तिरेका छन् । यसैगरी १ लाख ५० हजार रुपैयाँ जरिबाना तिर्ने तीनवटा फर्म रहेका छन् । रिया मार्केटिङ, युनिस्का टे«ड कन्सर्न र साह क्लिनिङ एण्ड जनरल सप्लायर्सले जनही १ लाख ५० हजार रुपैयाँ जरिबाना तिरेका छन् । १ लाख रुपैयाँ जरिबाना तिर्ने १२ वटा फर्म रहेका छन् ।
इन्द्रेणी सप्लायर्स सुन्दरहरैंचा, स्वस्तिक आयल इण्डष्ट्रिज प्रालि, आध्या टायर जोन, चाधनी फोम इण्डष्ट्रिज प्रालि, फाइनल सोलुसन प्रालि उर्लाबारी, स्वाभिमान सन्स एण्ड सप्लायर्स झापा, श्री नवदुर्गा इन्टरप्राइजेज विराटनगर, मीनलक्ष्मी अटो इन्टरप्राइजेज इटहरी, साह हार्डवेयर सप्लायर्स विराटनगर र जय माता दी इँट्टा उद्योगले जनही १–१ लाख रुपैयाँ जरिबाना तिरेको राजस्व अनुसन्धान कार्यालय इटहरीको अभिलेखमा देखिन्छ ।
३४ फर्मले ५० हजार रुपैयाँ जरिबाना तिरेका छन् । यस्तै विराटनगरको महालक्ष्मी केवलले पनि २५ हजार रुपैयाँ जरिबाना तिरेको छ । भिसिटिएसमा प्रविष्ट नगरी मालसामान आयात गरेपछि महालक्ष्मी केवलले गत माघ १३ गते जरिबाना तिरेको अभिलेखमा देखिन्छ ।