विजयपुर । धरान–५ स्थित तल्लो देउराली सुन्दर बस्तीमा जेठ १२ गते धरान–११ विष्णुचोकका ३१ वर्षीय सन्दीप लम्जेल मृत अवस्थामा फेला परे । उनलाई १७ वर्षीय र १३ वर्षीय किशोरहरूले धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरी अनुसन्धानबाट खुल्यो । उनीहरूलाई अहिले सुधारगृह पठाइएको छ ।

जेठ ८ गते धरान–१४ स्थित केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारको फेमिली क्वार्टरमा बस्ने २६ वर्षीय सौगात सुवेदीले आफ्नै आमा शान्ता दाहाल सुवेदीलाई धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाए । आमालाई हतियार प्रहारबाट गम्भीर घाइते बनाई आफैले चक्कुले घाँटी रेटी आफू पनि घाइते भए । उनकी आमालाई तत्काल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगे पनि उपचारको क्रममा मृत्यु भयो । धारिलो हरितयार प्रहार गर्ने सौगातलाई पक्राउ गरी जेठ ३० गते पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

यस्तै जेठ ३१ गते धरान–१० मुनाल चोकको एक खाजा पसलमा खाजा खाँदै गरेका रामशरण केसीलाई धरान–५ का २४ वर्षीय सविन लिम्बूले धारिलो हतियार प्रहार गरे । उनलाई प्रहरी नियन्त्रणमा लिई ज्यान मार्ने उद्योगमा मुद्दा चलाइएको छ । जेठ २८ गते धरान–१७ स्थित उदय सामुदायिक वनमा ५६ वर्षीया महिला दिउँसै जबरजस्ती करणीको सिकार बनिन् ।

उनलाई धरान–१७ सङ्गम चोकका ४२ वर्षीय श्यामकुमार धामीले जबरजस्ती करणी गरेको अभियोगमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । वैशाख १२ गते धरान–१६ जोरसखुवाकी १४ वर्षीया बालिका जबरजस्ती करणीमा परिन् । उनलाई आफ्नै झड्केलो बाबु ३१ वर्षीय पुरुषले जबरजस्ती करणी गरेको आरोपमा अनुसन्धान भइरहेको छ । यी प्रतिनिधिमूलक घटनामात्रै हुन् ।

शनिबार इलाका प्रहरी कार्यालय धरानले सार्वजनिक गरेको तथ्याङ्कले वैशाखयता २ महिनामा मात्रै धरानमा दर्जन आपराधिक घटना भएको देखाएको छ । इलाका प्रहरी कार्यालय धरानका अनुसार वैशाख महिनायता ४१ वटा मुद्दा चालु अवस्थामा रहेका छन् । जसमा २ कर्तव्य ज्यान मुद्दामा ३ जना पक्राउ परेका छन् ।

लागूऔषधका १२ मुद्दामा १२ जना नै पक्राउ परेका छन् । अभद्र व्यवहारको ११ मुद्दामा १२ जना पक्राउ परेका छन् । ज्यान मार्ने उद्योगका ४ मुद्दामा ७ जना पक्राउ परेका छन् । सवारी ज्यानको १ मुद्दामा १ जना, डाका चोरीका १ मुद्दामा ८ जना, चोरीका ६ मुद्दामा १० जना, जबरजस्ती करणीका १ मुद्दामा १ जना, जबरजस्ती करणी उद्योगको १ मुद्दामा १ जना पक्राउ परेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै ठगीको १ मुद्दामा १ जना, बहुविवाहको १ मुद्दामा २ जना, फरार प्रतिवादी ३ जना र अनुसन्धानमा ४ जना गरी कुल ४१ मुद्दामा ७५ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय धरानको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षमा धरानमा ४ सय ५५ वटा आपराधिक घटनाका मुद्दा दर्ता भएका छन् । उक्त मुद्दामा ४ सय ८५ जना प्रतिवादी पक्राउ परेका छन् ।

जसमध्ये १ सय ७२ जना प्रतिवादी फरार रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । इलाका प्रहरी कार्यालय धरानले २ महिनामा चोरी भई फेला परेका तथा आपराधिक घटनामा प्रयोग भएका हातहतियार सार्वजनिक गरेको छ ।

शनिबार इलाका प्रहरी कार्यालय धरानले पत्रकार सम्मेलन गर्दै मोटरसाइकल, स्कुटर, मारुती भेन, मोबाइललगायतका सामग्री सार्वजनिक गरेको हो । कार्यालयले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ट्रपिकल वार्डछेउमा पार्किङ गरेको प्रदेश १–०२–०४६ प ९१०९ नम्बरको १ सय ५० सिसीको मोटरसाइकल, प्रदेश १–०१–०१५ प ३९३ नम्बरको बजाज कम्पनीको २२० सिसीको मोटरसाइकल सार्वजनिक गरेको हो ।

प्रतिष्ठानकै गाइनो वार्डको पार्किङस्थलबाट को. २८ प ८९८९ नम्बरको २२० सिसीको मोटरसाइकल पनि सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा बरामद भएको धारिलो हतियार पनि सार्वजनिक गरेको थियो । धरान–६ पानवारीका  हस्तबहादुर श्रेष्ठको घरबाट ६ फिटको सखुवाको चिरान काठ ४० थान र ५ फिटको सखुवाको चिरान काठ ७२ थान चोरी भएको थियो । जसमा २६ थान बरामद गरेको काठ पनि सार्वजनिक गरेको हो ।