विराटनगर । सुनसरीको इनरुवा–३ स्थित जनता आधारभूत  विद्यालयको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा सरिता कार्की घिमिरे निर्विरोध निर्वाचित भएकी छन् । 

विद्यालय व्यवस्थापन समितिको भेलाबाट सरिता जनता आधारभूत विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा निर्विरोध निर्वाचित भएकी हुन् ।

मानवअधिकारको क्षेत्र र महिला अधिकारको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएकी नवनिर्वाचित अध्यक्ष सरिताले विद्यालयको शैक्षिक गुणस्तर सुधारमा कटिबद्ध भएर लागिपर्ने बताइन् । उनले विद्यालयको शैक्षिक सुधार, बालमैत्री शिक्षण सिकाइ, भौतिक पूर्वाधार निर्माणसहित समुदाय र विद्यालयको सम्बन्ध प्रगाढ बनाउनेतर्फ आफू क्रियाशील भएर लागिपर्ने बताइन् ।

विद्यालय व्यवस्थापन समितिको सदस्यहरूमा नारायण दुलाल, मञ्जु साह, शिवनारायण यादव, बिचनी मुसहर, छटुवा सदा, पदेन सदस्यमा इनरुवा–३ का वडाध्यक्ष रमेशकुमार श्रेष्ठ र सदस्य–सचिवमा विद्यालयका प्रधानाध्यापक अनु कोइराला रेग्मी रहेकी छन् ।