विजयपुर । प्रदेश १ को आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा सुनसरी जिल्लालाई ‘किनारीकृत’ गरिएको छ ।

यही जिल्लाबाट नेकपा (एमाले) र नेपाली काङ्ग्रेसबाट संसदीय दलका नेता रहेका छन् । एमालेबाट पूर्व मुख्यमन्त्री भीम आचार्य छन् भने काङ्ग्रेसबाट राजीव कोइराला छन् । तर, यही जिल्ला बजेट विनियोजनका हिसाबमा ‘किनारीकृत’ जिल्ला बनेको छ । जहाँ प्रत्यक्ष र समानुपातिक गरी कुल १४ जना सांसद्ले प्रतिनिधित्व गर्छन् ।

बुधबार आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्रस्तुत गरेको ३९ अर्ब ७३ करोड ८३ लाख रुपैयाँ बजेट विनियोजन गर्दा सुनसरीलाई देखिने गरी १ करोड २५ लाख रुपैयाँ बजेट मात्रै विनियोजन भएको अवस्था छ । ट्राफिक लाइट जडानका लागि भनी यो बजेट विनियोजन गरिएको हो । अन्यमा भने आवश्यक बजेट विनियोजन गरिने भनी बजेटमा उल्लेख छ । ट्राफिक लाइटका लागि सुनसरी मात्रै नभई मोरङ र झापा समेतका सहरी क्षेत्रका लागि बजेट विनियोजन गरिएको छ ।

मन्त्री आङ्बोले प्रस्तुत गरेको बजेटमा उत्पादन र उत्पादकत्व बढाउन प्रदेश गौरवको आयोजनाका रूपमा सिंचाइ आयोजनाको सम्भाव्यता अध्ययन गरिने भनिए पनि सम्भाव्यता अध्ययनका लागि छुट्याइएको छैन । इटहरी रङ्गशालालाई सन्ध्याकालीन समयमा खेल अभ्यास र प्रतियोगिता सञ्चालनका लागि ‘फ्लड लाइट’ जडान गर्ने बजेटमा समावेश भएको छ ।

त्यस्तै इटहरीको बाढी डुबान समस्या समाधान गर्न टेङ्ग्रा खोलालाई पथान्तरण गरी बूढीखोलामा मिसाउनका लागि सम्भाव्यता अध्ययन गरिनेछ भने पनि बजेटको सुनिश्चितता छैन । वराहक्षेत्रको कोसी कोकाहा नदीको सङ्गमस्थलमा सुनसरी, उदयपुर र धनकुटा जोड्ने गरी  झोलुङ्गे पुलको निर्माण कार्य सुरु गर्नका लागि २ करोड विनियोजन गरेको छ । विराटनगर, इटहरी र धरानलाई आधुनिक सहरको रूपमा विकास गर्न बृहत् गुरुयोजना तयार गर्ने भने पनि बजेटमा सुनिश्चितता भएको छैन ।

नेपाली काङ्गे्रसका प्रदेश सभाका संसदीय दलका नेता राजीव कोइरालाले बजेटमा सुनसरी जिल्लालाई न्यून बजेट विनियोजन गरिएकोमा असन्तुष्टि व्यक्त गरे । उनले भने, ‘लबिङ नगरेको पनि होइन । ५ जना मन्त्री पनि काङ्गे्रसकै छन् । गठबन्धन सरकारले गर्छ भन्ने अपेक्षा थियो । महत्वाकाङ्क्षी आयोजना केही पनि छैन ।’

प्रदेश १ मा दुईवटा उपमहानगर भएको जिल्ला सुनसरीमा न्यून बजेट विनियोजन हुनुलाई प्रदेशका पूर्वमुख्यमन्त्री भीम आचार्यले आग्रह पूर्वाग्रह गरिएको आरोप लगाए । उनी एमाले संसदीय दलका नेता पनि हुन् । उनले भने, ‘मैले हरेक मन्त्रालयमा बजेटका लागि लबिङ गरेँ । बजेटमा सुनसरी जिल्ला उपेक्षामा पर्नु भनेको गुटबन्दी, आग्रह र पूर्वाग्रहमा बजेट निर्माण भएको हो ।’

प्रदेश सभा सदस्य उमिता विश्वकर्माले सुनसरीमा केही बजेट परे पनि धरानमा नपरेको बताइन् । उनले बजेटमा सुनसरी नसमेटिएपछि मुख्यमन्त्री राजेन्द्रकुमार राई, अर्थमन्त्री इन्द्रबहादुर आङ्बोलाई प्रश्न गरेको बताइन् । उनले समग्रमा बजेट विनियोजन गरेको र रेडबुकमा समेट्ने प्रतिक्रिया दिएको बताइन् ।

बजेट न्यून पर्नुलाई अर्थविज्ञ डा. राजेन्द्र शर्माले प्रभावशाली नेता नहुनुको परिणाम भएको प्रतिक्रिया दिए । अर्का बुद्धिजीवी हरिप्रसाद दाहालले बजेटमा पुरानो नगर धरानमा बजेट विनियोजन नहुनु र सुनसरीमा न्यून बजेट विनियोजन हुनु दुःखद् भएको प्रतिक्रिया दिए । उनले भने, ‘धरानमा बजेट विनियोजन न्यून हुनुमा नीति निर्माण तहमा धरान वा सुनसरीका नेताहरू नपुग्नु हो ।’