सुनसरी । कोसी गाउँपालिकाको कार्यालयले गाउँपालिका क्षेत्रका कृषकलाई उन्नत जातका बाख्रा र बङ्गुर वितरण गरेको छ ।
पशुपालनमा प्रोत्साहन गर्ने उद्देश्यले गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत तालिमप्राप्त कृषकलाई बाख्रा र बङ्गुर वितरण गरिएको कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले जानकारी दिए ।
उनका अनुसार कोसी गाउँपालिका वडानम्बर १ का २५ जना बङ्गुरपालक किसानलाई बङ्गुर तथा कोसी गाउँपालिका वडानम्बर ५ स्थित प्रभाकर टोलका २२ जना बाख्रापालक सदा र डोम समुदायका किसानलाई बाख्रा र बङ्गुर वितरण गरिएको हो ।
गाउँपालिका क्षेत्रमा रहेका कृषकहरूलाई पशुपालनमा प्रोत्साहन गर्दै आत्मनिर्भर बनाउने योजनाअनुसार बाख्रा र बङ्गुर वितरण गरिएको कोसी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चोलाराज दङ्गालले बताए । अध्यक्ष कृषि आधुनिकीकरणलगायत योजनाबाट ग्रामीण भेगका कृषकको जीवनस्तर उकास्न सहयोग पुगेको अध्यक्ष अन्सारीको भनाइ छ ।
अन्य कार्यक्रमभन्दा बाख्रापालन र बङ्गुरपालन कार्यक्रमले किसान बढी आत्मनिर्भर हुने देखिएको बताउँदै वितरण गरिएका बाख्रा र बङ्गुरबाट व्यवसाय फस्टाउन सकेको अवस्थामा किसानको जीवनस्तर उकास्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
‘अध्यक्ष आधुनिकीकरण र गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमबाट धेरै कृषकहरू लाभान्वित भएका छन्’ अध्यक्ष अन्सारीले भने, ‘त्यसैले हामीले यस्ता कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिनेछौं ।’