धरान । झिगु समाज धरानले सञ्चालनमा ल्याएको शवदाह गृहमा अब ग्यासबाट शव जलाउने प्रविधिको सुरुवात गर्न लागिएको छ ।
समाजका अध्यक्ष मोहनकाजी शाक्यका अनुसार ग्यासबाट शव जलाउने प्रविधिको ९५ प्रतिशत काम सम्पन्न भएको छ । आज (बुधबार) ग्यासबाट शवदाह गृहका लागि परीक्षण गर्न लागिएको उनले बताए ।
त्यसका लागि धरानमा प्रमुख कार्यालय रहेको मितेरी विकास बैङ्कले ३ लाख रुपैयाँ रकम हस्तान्तरण गरेको छ । मितेरी विकास बैङ्क धरानका प्रमुख कार्यकारी अधिकृत तुलसी वस्ती र बैङ्कका अध्यक्ष किशन मास्केले अध्यक्ष शाक्यलाई रकम हस्तान्तरण गरे ।
धरान–१४ स्थित खत्री बमधारामा सञ्चालनमा आएको शवदाह गृहमा यसअघि डिजेलबाट शव जलाउने प्रविधि सुरु गरिएको थियो । अब भने ग्यासबाट शव जलाउने प्रविधि सुरु गर्न लागिएको हो ।
यसैबीच समाजका सदस्यद्वय विद्या शाक्य र विनिता बज्राचार्यलाई सम्मानित गरिएको छ । शाक्य धरान–३ को वडाध्यक्षमा निर्वाचित भएका थिए भने बज्राचार्य धरान नगर कार्यपालिकामा निर्वाचित भएकी थिइन् । उनीहरू दुवैलाई सम्मानित गरिएको अध्यक्ष शाक्यले जानकारी दिए ।