वराहक्षेत्र । वराहक्षेत्रमा आपसी विवाद हुँदा आफ्नै दाजुले बन्चरोले हानी भाइको हत्या गरेका छन् । वार्ड नं ४ कौवाखोज बस्ने ३० वर्षका देवराज राजधामीले १८ वर्षीय भाइ देवकुमार राजधामीको हत्या गरेका हुन् ।
शनिबार दुई भाइबीच भएको विवादमा देवराजले भाइ देवकुमारको टाउकोमा बन्चरोले प्रहार गर्दा गम्भीर घाईते उनको उपचारको क्रममा धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार बिहान करिव साढे ६ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय चक्रघट्टीका प्रहरी निरीक्षक टिका कार्कीले बताएका छन् ।
साँझ करिब ५ बजेर ४० मिनेटमा घटना भएपछि उनलाई तत्काल अस्पताल लगिएको थियो । घटनापछि फरार रहेका आरोपी देवराजलाई आइतबार कौवाखोजस्थित जङ्गलबाट बिहान १० बजे पक्राउ गरिएको ईन्पेक्टर कार्कीले जानकारी दिए ।
घटनामा प्रयोग गरिएको बन्चरो र देवराजलाई ईलाका प्रहरी कार्यालय चक्रघट्टीमा राखी आवश्यक कार्यवाही अगाडी बढाइएको छ । घटनाको आरोपी देवराज बोल्न सक्ने भए पनि उनको आवाज स्पष्ट नबुझिने भएकोले घटनको यकिन कारण खुल्न नसकेको प्रहरीले बताएको छ ।