सुनसरी । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र इनरुवाले समयमा विद्युत् महसुल नतिर्ने ग्राहकको लाइन काटेको छ ।
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र इनरुवाले ६० दिनसम्म २५ हजार वा सोभन्दा बढी बक्यौता रकम नबुझाउने ९ सय ६५ जना ग्राहकको लाइन काटेको जनाएको छ । विद्युत् महसुल सङ्कलन विनियमावली २०७३ को विनियम १० अनुसार मिटर रिडिङ गरेको ६० दिनसम्म महसुल नबुझाएको अवस्थामा विना सूचना जुनसुकै समयमा पनि विद्युत् लाइन काट्न सकिने प्रावधान रहेको छ ।
सोही अधिकार प्रयोग गरी समयमा बक्यौता नबुझाउने जिल्लाका विभिन्न क्षेत्रका ९ सय ६५ जना ग्राहकको लाइन काटिएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र इनरुवाका प्रमुख अभिनव झाले जानकारी दिए । उनका अनुसार ६० औं दिनदेखि ६ महिनासम्म पनि महसुल नतिर्ने ग्राहकको लाइन काटिएको हो ।
जिल्लाको इनरुवा नगरपालिका, कोसी, हरिनगर, भोक्राहा नरसिंह र देवानगञ्ज गाउँपालिकालगायत क्षेत्रका महसुल नबुझाएका ग्राहकको लाइन काटेको प्रमुख झाको भनाइ । साथै नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र इनरुवाले एक हप्तासम्म बाँकी रहेको महसुल नबुझाएको खण्डमा थप १ सय ५५ जना ग्राहकको लाइन काट्ने तयारी गरेको छ ।
झण्डै दुई करोड उठाइयो
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र इनरुवाले समयमा महसुल नबुझाउने ग्राहकको लाइन काट्न थालेपछि सर्वसाधारणले धमाधम बक्यौता रकम बुझाउन थालेका छन् ।
चालु आर्थिक वर्षमा लाइन काटेर कारबाही गरिएका ९ सय ६५ जना ग्राहकबाट २ करोड १ लाख ४० हजार ८ सय ५९ रुपैयाँ उठाउनुपर्नेमा जेठ २७ गतेसम्म ८ सय १५ जनाबाट १ करोड ८६ लाख ७० हजार ५ सय ५२ रुपैयाँ बक्यौता रकम उठाइएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र इनरुवाले जनाएको छ ।
लाइन काटेपछि चालु आर्थिक वर्षको हालसम्म सो बराबरको बक्यौता रकम उठाएको र अझ १ सय ५० जना ग्राहकबाट उठाउन बाँकी नै रहेको बताइएको छ । सडकबत्ती लगायत गरी अझै ३ सय ५ जना ग्राहकबाट झण्डै ९ करोड हाराहारी महसुलबापत बक्यौता रकम उठाउन बाँकी रहेको विद्युत् प्राधिकरण इनरुवाले जनाएको छ ।
विद्युत् महसुल सङ्कलन विनियमावली २०७३ को विनियम ७ को उपविनियम ३ अनुसार मिटर रिडिङ गरेको ७ दिनभित्र महसुल बुझाउने ग्राहकलाई २ प्रतिशत छुट दिइन्छ भने ८ देखि २२ दिनभित्र महसुल बुझाएमा बिलअनुसारको महसुल लाग्ने व्यवस्था छ ।
ग्राहकहरूको लाइन काटेर बक्यौता असुल गर्दै आए पनि विद्युत् जोड्ने तर, रकम नतिर्ने प्रवृत्ति यथावत् रहेकोे प्रमुख झाको कथन छ । त्यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्न कारबाहीका साथै सचेतसमेत गराउँदै आएको उनले बताए । ग्राहकको मानसिकता परिवर्तन गराउन जरुरी रहेकोेले कारबाही र सचेतनालाई निरन्तरता दिने प्रमुख झाले बताए ।