सुनसरी । कोसीटप्पु वन्यजन्तु आरक्षका जनावर र मानव द्वन्द्व नियन्त्रण गर्ने कार्यमा स्थानीयले अवरोध गरेका छन् ।

हात्ती नियन्त्रण गर्न ‘अफसेट सोलार फेन्सिङ’ कार्यलाई स्थानीयले रोकेका हुन् । कोसीटप्पु वन्यजन्तु आरक्षका प्रमुख रामचन्द्र खतिवडाका अनुसार हात्तीलगायतका जनावरलाई मानव बस्तीमा पस्नबाट रोक्ने उद्देश्यले कोसी गाउँपालिका वडानम्बर ७ हरिपुरको आर्मी क्याम्पदेखि वडानम्बर ८ भण्टाबारीसम्म ७४ लाख रुपैयाँको लागतमा अत्याधुनिक प्रविधियुक्त अफसेट सोलार फेन्सिङ अर्थात् विद्युतीय घेराबेरा गर्ने कार्यमा स्थानीय नै बाधक बनेका छन् ।

सुनसरीतर्फ ७ किलोमिटर र ३ किलोमिटर सप्तरीतर्फ गरी जम्मा १० किलोमिटर फेन्सिङका लागि गतवर्ष नै ठेक्का लगाइए पनि कोरोना महामारीका कारण ७५ लाख रुपैयाँ फ्रिज भएको थियो । उक्त रकम आफू प्रमुख भएर आएपछि पुनः फिर्ता ल्याई काम अगाडि बढाए पनि त्यसमा सर्वसाधारणले असहयोग गरेको उनको भनाइ छ ।

विद्युतीय घेराबेरा गर्ने क्रममा विगतमा मध्यवर्ती क्षेत्रका सर्वसाधारणबाट अवरोध गरिएको दृष्टान्तलाई मध्यनजर गर्दै पुनः काम थाल्नुअगाडि उनीहरूलाई योजनाबारे अग्रिम जानकारी गराइएको वार्डेन खतिवडाको भनाइ छ । ‘हामीले आफ्नो योजनाको बारेमा जनप्रतिनिधिहरूलाई राखेर अग्रिम जानकारी गराएका थियौं’ उनले भने, ‘तर, अहिले काम गर्ने बेलामा काम अवरुद्ध पार्ने काम भएको छ । आरक्ष प्रशासनले पर्खाल लगाउन थाल्यो, अब भोलि भित्र पस्न दिँदैनन् भन्ने जनतामा भ्रम सिर्जना गरिएको अवस्था छ ।’ वार्डेन खतिवडाले गैरकानूनी तवरले जनताले गर्दै आएको खेतिपाती रोक्ने भन्ने गलत प्रचार गरिएको बताए । आरक्ष प्रशासनले मानव र जनावरबीचको द्वन्द रोक्न घेराबेरा गर्न लागेको दाबी गरेको छ ।

यता यही विषयमा आरक्ष प्रशासन र जनप्रतिनिधिबीच बैठक बसे पनि निष्कर्षहीन बनेको छ । आरक्ष प्रशासनले गर्न लागेको घेराबेरा स्थानीयवासीले रोकेपछि सहमति जुटाउने उद्देश्यले सोमबार बसेको बैठकमा कुनै सहमति हुन सकेन । स्थानीयवासीले आफूहरूले वर्षौंदेखि मध्यवर्ती क्षेत्रको जग्गामा खेतीपाती गर्दै आएको बताउँदै भण्टाबारीसम्म घेराबेरा गरिएमा जीविकोपार्जन गर्न, गाईवस्तु चरिचरन गराउन समस्या हुने बताए । कोसी गाउँपालिका–८ का वडाध्यक्ष बलराम क्षेत्रीले हरिपुरदेखि भण्टाबारीसम्म नभई तीन किलोमिटर वरैसम्म घेराबेरा गरिनुपर्नेमा जोड दिए ।

जङ्गली जनावर बाहिर निस्कन नदिन फेन्सिङ गरिनु सकारात्मक पक्ष भए पनि त्यसरी घेराबेरा गर्दा जनताका मागलाई समेत सम्बोधन गर्नुपर्ने कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीको भनाइ छ । मानव र जनावरबीचको द्वन्द्व अन्त्य गर्न आफू पनि तत्पर रहेको बताउँदै जनतालाई समस्यामा पार्ने काम आफूबाट नहुने उनले बताए ।

वर्षौंदेखि हात्ती आतङ्क यथावत् रहेको बताउँदै उनले सोलार तारबारसहित घेरबेरा गर्न पटक–पटक बजेट विनियोजन गरिए पनि समस्या समाधान भएको छैन । यद्यपि कोसीटप्पु क्षेत्रमा आतङ्क मच्चाउने मकुना हात्तीको दुर्घटनामा परेर मृत्यु भएपछि भने अवस्था केही शान्त भएको छ ।

स्थानीय जनताका मागअनुसार समस्या समाधानका लागि अग्रसर भएर लागिपरेको बताउँदै वार्डेन खतिवडाले जनावर आतङ्क रोक्न राति एउटा गाडी र एउटा ट्याक्टरमा ¥यापिड र रेस्पोन्स टोली खटाएको बताए । हात्तीको रेडजोनमा घेराबेरा गर्नबाट रोक्नु दुःखद् भएको बताउँदै उनले प्रभावकारी मानिएको अफसेट सोलार फेन्सिङ गर्न दिएमा जनावर आतङ्क रोकिने दाबी गरे ।