विराटनगर । मिलेमतोमा भन्सारबाट न्यून मूल्याङ्कन कायम गरी लाखौंको सामान भिœयाएर राजस्व छली गरेको तीनवटा फर्म कारबाहीमा परेका छन् ।
भन्सार कार्यालयदेखि निस्किएको सामानमा न्यून मूल्याङ्कन कायम गरी राजस्व छली गरेको पुष्टि भएपछि राजस्व अनुसन्धान कार्यालय इटहरीले तीन फर्मलाई झण्डै तीन लाख रुपैयाँ जरिबाना गरेको हो । राजस्व अनुसन्धान कार्यालयका प्रमुख तीर्थराज खनालका अनुसार ४० लाखको सामान आयात गरेका तीनवटा फर्मले कम मूल्याङ्कन र तौल कम देखाएर राजस्व छली गरेको प्रारम्भिक चरणको अनुसन्धानबाट पुष्टि भएको बताए । अनुसन्धानबाट राजस्व छली गरेको पुष्टि भएपछि तीन फर्मलाई २ लाख ८४ हजार ४ सय ८७ रुपैयाँ जरिबाना गरिएको उनले जानकारी दिए ।
जसमा राजस्व छली गर्नेहरू विराटनगरस्थित भट्टराई अटो ट्रेडर्स, शेखर गार्मेन्ट र रोयल सप्लायर्स रहेका छन् । राजस्व छली गरेको पुष्टि भएपछि अटो टे«डर्सले १ लाख ४६ हजार ५ सय ७३ रुपैयाँ, शेखर गार्मेन्ट उद्योगले ५९ हजार ६ सय २७ रुपैयाँ र रोयल सप्लायर्स विराटनगरले ७८ हजार २ सय ८७ रुपैयाँ धरौटी बुझाएको कार्यालय प्रमुख खनालले बताए । उनीहरूले आयात गरेको सामानको सहजीकरण भन्सार एजेन्ट चेतनाथ पौडेलका प्रतिनिधि लालवचन यादवले गरिदिएका थिए ।
विद्या केलिरिङ कन्सर्नका प्रतिनिधि रहेका यादवले व्यापारीहरूको सामान भन्सारका कर्मचारीहरूसँग मिलेमतो गरी कम मूल्याङ्कन गरेर भन्सार छली गर्ने गरेको स्रोतको दाबी छ । मोरङ प्रहरीले १९ जेठमा भन्सार छली गरेको आशङ्कामा ४० लाख मूल्य बराबरको सामान बोकेको ट्याक्टर मोरङ प्रहरीले नियन्त्रणमा लिएको थियो ।
विराटनगर महानगरपालिका–४ स्थित विराटनगर–इटहरी सडक–खण्डमा भारतीय नम्बर प्लेट बीआर ३३ जिबी २६२७ नं. को ट्याक्टरमा मोटर पार्टस्, छाला, नटबल्टु, मेसिनरी पार्टस् र कपडालगायत ४० लाख मूल्य बराबरको सामान राजस्व छली गरेको आशङ्कामा प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएर अनुसन्धानका लागि राजस्व कार्यालयलाई बुझाएको थियो ।
चार दिन लगाएर राजस्वले अनुसन्धान गरेपछि राजस्व छली भएको पुष्टि भएको हो । यसअघि असोज १३ गते पनि भन्सार एजेन्टहरूको मिलेमतोमा राजस्व छली गर्ने ६ फर्मलाई राजस्व अनुसन्धान कार्यालयले कारबाही गरेको थियो । भेहिकल एन्ड कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम (भीसीटीएस) नगरी राजस्व छली गरेको विराटनगरको शिवम् मोटर्स पार्टस् र मारुती हार्डवेयरलाई राजस्व अनुसन्धान कार्यालय इटहरीले कारबाही गरेको थियो ।
उनीहरूलाई न्यून मूल्याङ्कन गरी भन्सार छली गरेको कसुरमा ३ लाख १८ हजार रुपैयाँ जरिबाना गरिएको थियो । भन्सार एजेन्टले भन्सारका कर्मचारीसँग सेटिङ गरेर न्यून मूल्याङ्कन कायम गरी राजस्व छली गर्दछन् । भन्सारमा आएको मालवस्तुको जाँचपास र मूल्याङ्कन भन्सार अधिकृतले गर्दछन् । विराटनगर भन्सारमा आठजना भन्सार अधिकृत रहेका छन् । लाखौं मूल्यको सामान आयात गर्दा कम मूल्याङ्कन गरिने र भन्सार कर्मचारीसँग मिलेर राजस्व छली हुने गरेको राजस्व अनुसन्धानका अधिकारीहरूको भनाइ छ ।