इनरुवा । जल तथा मौसम पूर्वानुमान महाशाखाले औषत बढी वर्षाको अनुमान गरेसँगै सुनसरीमा विपद् पूर्व तयारीका गतिविधि अघि बढाइएको छ ।
पूर्वीभेग हुँदै मनसुन नेपाल प्रवेश गरिसकेको र प्रभावसमेत देखिन थालेको परिप्रेक्ष्यमा सुनसरी प्रशासनले जिल्लामा निम्तिन सक्ने विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना अघि बढाउने निर्णय गरेको हो । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसहित सरोकारवालाको बैठकले पूर्व तयारीका गतिविधि अविलम्ब अघि बढाउने निर्णय लिएको हो ।
इटहरीमा सम्पन्न जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले पूर्व तयारीसँगै प्रतिकार्य योजना बनाउन स्थानीय तहको साथ खोजेको छ । स्थानीय तहका प्रमुख तथा उपप्रमुखसहित सरोकारवालाको बैठकले विपद् पूर्व तयारीका कार्यलाई प्रभावकारी ढङ्गले अघि बढाउन विलम्ब गर्न नहुने निष्कर्ष निकालेको छ । बैठकले वर्षासँगै हुन सक्ने डुबानका साथै सप्तकोसी नदीको बहावमा आउने उतारचढावले निम्त्याउन सक्ने जोखिमलाई मध्यनजर गर्दै आवश्यक पूर्व तयारीलाई प्राथमिकताका साथ अघि बढाउनु पर्नेमा जोड दिएको छ ।
बैठकले जिल्ला तथा स्थानीय तहमा रहेका आपतकालीन कार्य सञ्चालन केन्द्रलाई सक्रिय तथा सुदृढीकरण गर्ने निर्णयसमेत गरेको छ । त्यसका साथै असार १ गते कोसी कटानमा विपद् पूर्व तयारी अभ्यास गर्नेसमेत सो बैठकले निर्णय गरेको छ । विपद् सूचना व्यवस्थापन प्रणाली चुस्त पारिनुका साथै जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रको लागि आवश्यक औजार तथा सामग्री खरिद गर्नेलगायतका निर्णय गरेको बैठकले खोज तथा उद्धार टोली तयारी अवस्थामा राख्ने, आवश्यक सामग्रीको बन्दोबस्तीदेखि भण्डारणको व्यवस्था मिलाउने जस्ता विषयमा सहमति जुटाएको छ ।
त्यसका साथै बैठकले विपद् प्रतिकार्यका लागि स्थानीय तहहरू, नदी नियन्त्रण तथा सिंचाइ र विकासका कार्यक्रम सञ्चालन गर्ने निकायबाट आवश्यक परिमाणमा तारजाली तथा बोरा खरिद गर्ने निर्णयसमेत गरेको छ । प्रजिअ यादवका अनुसार विपद् पूर्व तयारी तथा प्रतिकार्य योजनालाई प्रभावकारी ढङ्ले लागू गर्न स्थानीय तहको भूमिका अहम् हुनेछ । जसका लागि समन्वय र सहकार्यको आवश्यकता महसुस गरी सोही अनुसारको पूर्व तयारीका कार्यलाई अघि बढाउन लागिएको उनले बताए ।
सम्पन्न बैठकले विगतको समीक्षा गर्दै अघि बढ्ने निर्णयसमेत गरेको प्रजिअ यादवले जानकारी दिए । यादवले बैठकबाट एकद्वार प्रणाली अवलम्बन गर्ने निर्णयसमेत भएको बताए । बैठकमा अन्य विभिन्न विषयउपर छलफल हुनुका साथै निर्णयसमेत भएको उनले बताए । जसअनुसार बेमौसमी वर्षासँगै आएको बाढीबाट भएको क्षतिको राहतको लागि गृह मन्त्रालयमा सिफारिस पठाउने, आगलागी, बाढी, तथा डुबानबाट घर क्षति पुगेकालाई काठ उपलब्ध गराउने, हावाहुरीका कारण आफन्त गुमाएको परिवारलाई राहत उपलब्ध गराउनेजस्ता निर्णय रहेको छ ।
बैठकमा २०७८ साउनदेखि यही जेठ १७ गतेसम्ममा बाढीबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति बापत २३ लाख उपलब्ध गराइएको र घर आगलागी बापत आठ लाख अठचालीस हजार भुक्तानी गरिएको जानकारी दिइएको छ । त्यसैगरी राहत पेश्कीबापत दुई लाख पच्चीस हजार खर्च भएको उल्लेख गरिएको छ । दिइएको जानकारीअनुसार विपद् व्यवस्थापन कोषमा ६३ लाखको हाराहारीमा रकम मौज्दात छ ।