सुनसरी । प्रदेश नम्बर १ को मुख्य प्रवेशद्वारका रूपमा रहेको कोसी गाउँपालिका–८ स्थित कोसी ब्यारेज क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणलाई शौच गर्न समस्या हुने गरेको छ । पर्यटकीय क्षेत्रसमेत रहेको सो क्षेत्रमा शौचालय नहुँदा दैनिक ओहोर–दोहोर गर्ने सर्वसाधारणलाई समस्या हुने गरेको छ ।

यस्तै कोसी गाउँपालिका वडा नम्बर ८ मै पर्ने भण्टाबारी बजारमा रहेको पुरानो एउटा सार्वजनिक शौचालय सरसफाइ अभावमा बन्द हुँदा सर्वसाधारणसँगै यात्रुहरूलाई समस्या हुने गरेको पाइन्छ । भएको पुरानो शौचालय प्रयोगविहीन हुँदा र नयाँ शौचालय बनाउनेतर्फ सम्बन्धित निकायको ध्यान नजाँदा आफूहरूलाई शौच गर्न समस्या हुने गरेको स्थानीय मिलतुल मियाँ बताउँछन् ।

पूर्व–पश्चिम राजमार्ग हुँदै आवत–जावत गर्ने दैनिक सयौं यात्रुहरूका साथै स्थानीयवासीलाई समेत शौच गर्नका लागि समस्या भएको उनले गुनासो गरे । दैनिक हजारौं सर्वसाधारण ओहोर–दोहोर गर्ने बजारमा शौच गर्न सार्वजनिक शौचालय नहुँदा होटलमा जानुपर्ने बाध्यता रहेकोे अर्का स्थानीय उमेश यादवले बताए ।

‘यात्राको क्रममा आउने यात्रुहरू सार्वजनिक शौचालय नदेखेपछि शौच गर्नका लागि केही खाने बहानामा नजिकैको होटलमा पस्नुपर्ने बाध्यता छ’–उनले भने । भण्टाबारी बजारमा वर्षौं पहिले निर्माण गरिएको एउटा निकै कुरूप शौचालय रहे पनि केही महिनायता त्यो पनि बन्द रहेको छ ।

‘बजारमा आएपछि धेरै यात्रुहरू शौच गर्नका लागि भनेर शौचालय खोज्दै आफ्नो पसलमा आउने गरेका छन्’–स्थानीय मुरली लाइन होटलका सञ्चालक राजेश सिंहले भने । यात्रुहरू सुरुमा सशस्त्र प्रहरी बल भण्टाबारीअगाडि रहेको शौचालयमा पुग्ने गरे पनि बन्द रहेको पाएपछि खुला स्थानमै शौच गर्ने गरेको बिओपी भण्टाबारीका इन्स्पेक्टर भूवन खड्काको भनाइ छ ।

‘बजार क्षेत्रमा सार्वजनिक शौचालय नहुनु लाजमर्दो कुरा हो’ स्थानीय रोशन गुप्ताले भने, ‘धेरै ठाउँका सर्वसाधारण यहाँ आउने गरेका छन् । तिनीहरूले सार्वजनिक शौचालय कता छ भनेर सोध्दा कतिलाई बसपार्क त कतिलाई नजिकैको होटल पठाउने गरेको छु ।’

पुरुषहरूले सार्वजनिक शौचालय नहुँदा खुला ठाउँमै शौच गरे पनि महिलाहरूलाई भने बढी समस्या हुने गरेकोले भण्टाबारी र कोसी ब्यारेज क्षेत्रमा तत्काल सार्वजनिक शौचालय बनाउनु पर्ने स्थानीयले माग गरेका छन् । यता कोसी गाउँपालिकाको कार्यालयले सर्वसाधारणको ओहोर–दोहोर हुने मुख्य बजार क्षेत्रमा सार्वजनिक शौचालय बनाउने तयारी थालिएको जनाएको छ ।

कोसी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चोलाराज दङ्गालले बजार क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा स्थानीयवासी र सर्वसाधारण यात्रुहरूलाई समस्या हुने गरेको गुनासो आएको बताउँदै बजार क्षेत्रमा सार्वजनिक शौचालय बनाउने तयारी भइरहेको दाबी गरे । उपयुक्त स्थानमा जग्गा उपलब्ध नभएकोले सार्वजनिक शौचालय निर्माण गर्न केही समय लागेको प्रमुख प्रशासकीय अधिकृत दङ्गालको भनाइ छ ।