धरान । प्रेस चौतारी नेपालको टोलीले धरानका विभिन्न वडामा निर्वाचनको अवस्थाबारे अनुगमन गरेको छ ।

धरानका २० वटै वडामा चौतारीको टोली परिचालित भएको चौतारीका केन्द्रीय सदस्य देवेन्द्र कार्कीले जानकारी दिए । उनका अनुसार मतदान सम्पन्न नहुन्जेलसम्म टोली परीचालित हुनेछन् । चौतारीको अनुगमनका क्रममा ५ नं. वडाका मतदाता त्रासमा रहेको पाइएको केन्द्रीय सदस्य कार्कीले बताए । कांग्रेसका उम्मेदवारहरुले वडाका मतदाताका घरमा पुगेर चामल र पैसा वितरण गरेको स्थानीयले बताएका छन् । 

चामल र पैसा लिन अस्विकार गर्नेलाई कांग्रेसका नेता कार्यकर्ताले धम्कि दिएर जबरजस्ती लिन बल प्रयोग गरेको र चामल, पैसा लिएपछि भोट नहालेमा र कांग्रेसका उम्मेदवार पराजित भएमा ठिक नहुने भन्दै धम्कि दिएको अनुगमनका क्रममा पाइएको छ । नाम बताउन समेत डराएका मतदाताले २०७४ सालको निर्वाचनमा भन्दा पनि बढी धम्कि यसपटक आएको बताएका छन् । 

गत निर्वाचनमा कांग्रेसले पैसा बाडेर प्रलोभनमा पार्ने गरेको भए पनि यसपालि भने पैसासँगै धम्कि दिने गरेको स्थानीयले बताए । यसपालि पैसा बाड्ने र पराजित भएमा डबल फिर्ता गर्नुपर्ने धम्कि दिदै कांग्रेसका कार्यकर्ता हिडिरहेको स्थानीयले बताएका छन् ।

प्रहरी परिचालनको विषयमा इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले ५ नं. वडा अति संवेदनशिल भएकोले बरिष्ठ नायव निरिक्षकको कमाण्डमा टोली खटाएको बताऐ । उनले तुरुन्तै टोली परिचालन गरेर त्यस्ता गतिविधि नियन्त्रण गर्ने बताए । अस्थायी प्रहरी बिट देउरालीको टोलीले हिजो मात्रै नेपाली कांग्रेसका नेता कार्यकर्ताको टोली भोट माग्दै गरेको अवस्थामा भेटेको थियो । उनीहरुको साथबाट नमुना मतपत्र र स्वस्तीक छाप समेत बरामद गरेको थियो ।