पथरी/मोरङ । मोरङको पथरीशनिश्चरेकी ८५ वर्षीय रामबहादुर लिम्बू स्थानीय तहको निर्वाचन नजिकिएसँगै आँगनमा भोट माग्न आउनेहरूदेखि आजित छन् । ‘दुई–चार दिन भयो, भोट माग्न आउनेको लाइन हुन्छ, आश्वासन सुन्नमै दिन बित्छ । जसलाई देखे पनि रिस मात्रै उठ्छ’–लिम्बूले भने ।

लिम्बू पथरीशनिश्चरे–९ कुसेमा बसोबास गरेको ४३ वर्ष भयो । पूर्वी पहाडी जिल्ला ताप्लेजुङबाट परिवारसहित तराई झरेका उनीहरूको परिवार २०३५ सालदेखि त्यस ठाउँमा बसोबास गर्दै आएका छन् । तर, पनि आफूले वर्षौंदेखि भोगचलन गर्दै आएको १० कठ्ठा जग्गाको धनीपुर्जा लिम्बूको हातमा छैन । उनको परिवारले झोडा फाँडेर त्यहाँ बसोबास गर्न थालेका थिए । उनले यो बीचमा धेरै नेतालाई भोट दिएर जिताए पनि ।

तर, लिम्बूको समस्या कहिल्यै सुल्झेन । तत्कालीन समयमा जङ्गल फाँडेर बसोबास गरेका लिम्बूलाई भोट माग्न आउने सबैजसो नेताले जग्गाको धनी बनाउने आश्वासन दिन थालेको पनि चार दशक बितेको छ । अब त उनलाई चुनावताका नेताले दिने यस्ता खालका आश्वासनमा विश्वास लाग्न छाडिसकेको उनले सुनाए ।

‘म तन्नेरी अवस्थामा यस ठाउँमा जङ्गल फाँडेर बसेको हुँ’ लिम्बूले भने, ‘अब त शरीर पनि पाको भइसक्यो । छोरा–नाति हुर्के तर, पनि वर्षौंदेखि आफैले भोगचलन गरेको जग्गाको अहिलेसम्म मालिक हुन सकेको छैन ।’ चुनावताका नेता आउँछन्, समस्या समाधान गरिदिने आश्वासन दिन्छन्, जितेपछि आफूहरूको समस्या भुल्ने गरेको उनले दुःखेसो गरे ।

लिम्बूको मात्रै होइन, उनका छिमेकीका घरमा पनि मतदाता फकाउनेको उस्तै भीड लाग्छ । ‘चुनावका बेला यसरी घर–घर धाउनेहरू जितेपछि कता हराउँछन् होला ?’–उनले भने ।

वैशाख ३० गते हुने स्थानीय निर्वाचन नजिकिएसँगै पथरीशनिश्चरेको सुकुम्बासी टोलमा भोट माग्नेको लर्को लाग्न थालेको छ । यो टोलमा पाँच वर्षअघि पनि यसरी नै लाइन लाग्थ्यो । पाँच वर्षअघिको आश्वासन पूरा नभएकोले पथरीशनिश्चरे–९ का शुभज लिम्बूलाई यो पटक भोट हाल्न मन छैन । ७३ वर्षीय लिम्बू यहाँ बस्न थालेको पनि ०३६ सालदेखि हो । तर, अझै उनको पनि आफूले जोतभोग गरेको एक बिघा १० कठ्ठा जमिनको पुर्जा छैन । दुई नाति र चार नातिनीका धनी उनले आफ्नो लालपुर्जा अर्कैको हातमा छ भन्ने सुनेका छन् । तर, कोसँग छ भन्ने उनीसँग जवाफ भने छैन ।

‘नेता, पार्टी सबैदेखि मन मरिसक्यो । यिनीहरू सबै झुटा लाग्छन् । भोट दिएर नि क्यार्नु’ –उनले भने । अघिल्लो पटक भोट माग्न आउनेले सडक बनाउँछु, लालपुर्जा दिलाउँछु, बस्ती व्यवस्थापन गर्छु र रोजगारी दिन्छु भन्ने वाचा गरे । सोहीअनुसार टोलवासीले एकछापे भोट सूर्यमा हाले । भोट हालेकाले चुनाव पनि जिते । त्यसपछि टोलमा फर्किएर गएनन् ।

जनप्रतिनिधिले चुनावी वाचा भुलेको तीतो अनुभव यहाँका सुकुम्बासीहरूसँग छ । त्यसैले उनीहरू भोट दिएर केही नहुने ठान्छन् र भन्न थालेका छन्, ‘पहिले बाटो र लालपुर्जा अनि मात्र भोट ।’ 

मोरङको पथरी, शनिश्चरे, हसन्दह र कानेपोखरीका धेरै परिवार चार दशकदेखि जग्गाको दोहोरो स्वामित्वको विवादमा अल्झेका छन् । स्थानीय प्रशासनले विवाद समाधान गर्ने प्रयास पटक–पटक गरिसकेको छ ।  तर, सफलता हात लागेको छैन ।

साविकका पथरी र शनिश्चरे जोडेर नगरपालिका बनेको छ । तत्कालीन बयरवन, केरौन, होक्लाबारी गाविस अहिले कानेपोखरी गाउँपालिकामा पर्छ । यी सबै ठाउँ अहिले मोरङको निर्वाचन क्षेत्र नम्बर ३ मा समावेश भएका छन् । पथरीशनिश्चरे, कानेपोखरी गाउँपालिकाका करिब ३० हजार किसानको दोहोरो स्वामित्वको समस्या पञ्चायतकालदेखि अहिलेसम्म समाधान हुन सकेको छैन । करिब एक हजार बिघा जमिनमा दोहोरो स्वामित्वमा छ ।

तीन दशकदेखि भोग गर्दै आएको जग्गा नछाड्ने अडानमा सुकुम्बासी परिवार छन् भने सट्टाभर्ना पाएकाहरू जसरी पनि प्राप्त गरेरै छाड्ने मनस्थितिमा छन् । भोग गर्दै आएकाहरूले घरधुरी कर तिरेको प्रमाण पनि सुरक्षित राखेका छन् । स्वामित्व विवाद हुँदाहुँदै पनि घरजग्गाको बेचबिखनसमेत हुँदै आएको छ । त्यसले समस्यालाई अझ जटिल बनाएको छ । यहाँ चिल्ला सडकसँगै ठूला–ठूला पक्की घरहरूसमेत निर्माण भइसकेका छन् ।

त्यस क्षेत्रबाट राजनीति गर्ने नेताहरूले सुकुम्बासी समस्या र दोहोरो स्वामित्वको समस्या सदाका लागि अन्त्य गर्ने प्रतिबद्धतासहित उनीहरूकै भोटबाट बामपन्थी सरकारमा भरतमोहन अधिकारी, भानुभक्त ढकाल, शिवमाया लिम्बूलगायतका नेताहरू मन्त्री पनि बनिसकेका छन् । तर, सरकारमा पुगेपछि आफ्नो प्रतिबद्धता भुल्ने गरेका छन् । जसका कारण आफनै जग्गाको मालिक हुन नसक्दा त्यस क्षेत्रका नागरिक राज्यबाट प्राप्त हुने सेवा सुविधा बाटसमेत वर्षौंदेखि बञ्चित हुनु परेको स्थानीय तिलिहाङ लिम्बूले बताए ।

‘यो ठाउँमा हाम्रो परिवार हजुरबाको पालादेखि बसेको र नातिसम्म आइपुग्दा पनि जग्गाको धनीपुर्जा हातमा छैन’ लिम्बूले भने, ‘आफैले वर्षौंदेखि भोगचलन गरेको जग्गाको धनीपुर्जा बेचबिखनदेखि बैङ्कबाट ऋण लिनबाट समेत बञ्चित भएका छौं ।’

सुकुम्बासी नेता तथा सुकुम्बासी समस्या समाधान सङ्घर्ष समिति पथरीका संयोजक जरमान लिम्बूले ३० वर्षबढी भोगचलन गर्दै आएको जग्गा स्वतः उसैको हुने कानूनी व्यवस्था भएकाले अब कुनै पनि हालतमा आफू बसेको जग्गा खाली गर्न आफूहरू तयार नरहेको बताए ।