इनरुवा । गाँजा नियन्त्रणमा रहेको खबरपश्चात् छुटाउन साढे ५ लाख नगद बोकेर भोक्राहा पुगेका दुईजना शुक्रबार राति पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा धनकुटा सहिदभूमि गाउँपालिका–२ घर भएका ३६ वर्षीय हिक्मत राई र सोही स्थानका ३५ वर्षका आशिष राई रहेका छन ।
रातको पौने तीन बजे रकम लिएर आइपुगेका उनीहरूलाई पल्सर मोटरसाइकल र आईफोन ११ प्रो सहितका मोबाइल फोनसहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नेपाल ४ नम्बर गण सुनसरीका प्रमुख एसपी बिक्रम होमागाईले बताए । सशस्त्र प्रहरी उपरीक्षक हुमागाईंका अनुसार हिक्मत र आशिष पक्राउ पर्नुपूर्व १ सय ४८ किलो गाँजासहित हेमप्रसाद राईलाई नियन्त्रणमा लिइएको थियो ।
गाँजा र ट्रक बरामदपश्चात् नियन्त्रणमा रहेका चालकमार्फत् कारोबारी समात्न रकमको प्रलोभन देखाइयो । उनले भने, ‘सोही डिजाइनअनुसार हिक्मत र आशिष पक्राउ परेका हुन् ।’ सप्रउ हुमागाईंका अनुसार चालकको फोनको घण्टी लगातार बजिरहेको थियो । उसलाई विश्वस्त पार्ने काम गरियो । ट्रकसहित गाँजा नियन्त्रणमा रहेको खबर गर्न लगाइयो । उताबाट सामान छुटाउन रकम लिएर आइहाल्ने जवाफपश्चात् कुरेर बस्ने क्रममा दुवैलाई रङ्गेहात पक्राउ गरिएको हो ।
हुमागाईंले तस्करीमा संलग्न भरिया मात्रै नभई वास्तविक कारोबारीलाई नै पक्राउ गर्ने उद्देश्यले यस्तो उपाय लगाउने क्रममा सफलता मिलेको बताए । उनले चालकमार्फत् फोनमा कुरा गराएर सामान छुटाउन रकम तत्काल आवश्यक परेको विश्वास दिलाई हिक्मत र आशिषसमेतलाई पक्राउ गरिएको बताए । उनले पक्राउ परेका व्यक्तिहरू प्रलोभनमा पारेर सामान छुटाउन तत्काल मोटो रकम जोहो गरी रातारात आएको पाइएकाले उनीहरू ठूलै कारोबारी हुनसक्ने बताए ।