धनकुटा । धनकुटामा एक हजारको नक्कली नोट फेला परेको छ । धनकुटा नगरपालिका वडा नं. ७ स्थित परिचय मोडमा रहेको युवक तिम्सिनाले सञ्चालन गरेको ग्लो एण्ड गो कस्मेटिक पसलमा एक हजार दरको १ थान नक्कली नोट शुक्रवार फेला परेको प्रहरीले जनाएको छ ।

तिम्सिनाले नक्कली नोट फेला परेको भनि प्रहरी कार्यालयमा खबर गरेपछि प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालको कमाण्डमा प्रहरी टोली खटी गई बुझ्दा ६५र८००९८७ नम्बरको नक्कली नोट फेला परेको दाहालले बताए । उक्त नक्कली नोट बरामद गरी सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ । 

धनकुटा प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले नक्कली नोटको विषयमा अनुसन्धान गरिने बताए । उनले भने, ‘नक्कली नोट कहाँबाट आयो यो विषयमा सूक्ष्मरूपमा अध्ययन र छानबिन हुनेछ ।’ धनकुटामा यसअघि पनि नक्कली नोट भेटिएको थियो ।

निर्वाचनका मुखमा धनकुटामा नक्कली नोट भेटिएसँगै यहाँका बजारमा समेत यस्ता खाले नोट हुनसक्ने भन्दै स्थानीय व्यापारी चिन्तित बनेका छन् ।