धरान । चौध वर्षअगि भोजपुरको बालङ्खा – तारेभीर–पाङ्चा – दुम्माना – रानीटार सडक खोल्ने क्रममा सडक निर्माण समितिले स्थानीय उपभोक्ता तथा सङ्घ–संस्थाबाट लिएको सापटी रकम हालसम्म नतिरेको पाइएको छ ।
२०६४ सालदेखि निर्माण सुरु गरिएको करिब ३५ किलोमिटर सडकका लागि स्थानीय उपभोक्ता तथा सङ्घ–संस्थाले करिब ३८ लाख रुपैयाँ ऋण सापटी दिएको कागजपत्रमा देखिन्छ । उक्त रकम सडक निर्माण समितिले नतिरेको ऋणदाताहरूले बताएका छन् । सडक निर्माण समितिमा तत्कालीन समयमा अशोक राईको अध्यक्षतामा समिति बनेको थियो ।
अध्यक्ष राई हाल आमचोक गाउँपालिकाका अध्यक्ष छन् । उनको समितिले २०६९ सालदेखि २०७२ सालसम्म पटक–पटक गरी लिएको ऋण, सापटी रकम नपाएपछि २०७७ मङ्सिर १३ गते ऋण असुल समिति गठन गरी स्थानीय निकायदेखि प्रदेश, सङ्घीय सांसद्सम्मलाई ध्यानाकर्षण–पत्र पनि दिएका थिए ।
तर, हालसम्म सुनुवाइ नभएपछि गत वैशाख २ गते भेला बसी वैशाख ९ गतेसम्म साँवाब्याज फिर्ता नभए वैशाख १० गतेबाट सडक आन्दोलन गर्ने निर्णय गरिएको ऋण असुल समितिका संयोजक शिवदेव राईले बताए । ‘पाङ्चा–नागी–चखेवा सडक ऋण असुल समिति गठन गरी आन्दोलनमा जान बाध्य भएका छौं’ उनले ब्लाष्टकर्मीलाई भने, ‘हामीसँग ऋण लिएर सडक बनाइयो, तर हाम्रो ऋण फिर्ता गरिएन ।’
ऋण असुल समिति गठनपश्चात् २०७७ माघ ९ गते बसेको बैठकले आमचोक गाउँपालिका न्यायिक समितिको कार्यालय, सडक निर्माण समिति पाङ्चा–नागी–चखेवा, आमचोक गाउँ कार्यपालिकाको कार्यालय, आमचोक मुख्यमन्त्री कार्यालय प्रदेश १ विराटनगर, सङ्घीय सांसद् भोजपुर संसद् सचिवालय बानेश्वर काठमाडौंलाई विभिन्न मितिमा ध्यानाकर्षण–पत्र दिइएको संयोजक राईले बताए ।
‘हामी ५० जना साथीहरूको सावाँब्याज गरेर ३८ लाख रुपैयाँ लिन बाँकी देखिन्छ’ उनले भने, ‘हामीसँग लिएको पैसा एउटा आर्थिक वर्षमा फिर्ता गर्ने भनेर लिइएको थियो । तत्कालीन अवस्थामा गाविस, जिविसबाट पनि बजेट छुट्टियो तर, पैसा पाइएन ।’
२०७४ को स्थानीय तह निर्वाचनपश्चात् तत्कालीन अध्यक्ष अशोक राई नै अध्यक्ष निर्वाचित भएर आएपछि एक आर्थिक वर्षमा १ करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरेका थिए । प्रदेश १ सरकारबाट दुई चरण गरी ७५ लाख र ५० लाख रुपैयाँ बजेट पनि छुट्टिएको थियो तर, ऋणदाताहरूले दिएको ऋण, सापटी हालसम्म फिर्ता गरिएको छैन ।
‘सावाँब्याज फिर्ता भएन भने बृहत् रूपमा आन्दोलन गर्छौं’–उनले भने । स्थानीय उपभोक्ता मात्रै नभई उक्त समितिबाट सडक खन्नका लागि प्रयोग गरिएको मेसिनका सञ्चालकहरूले पनि रकम नपाएको गुनासो गरेका छन् । २०६४ देखि २०६५ सालसम्म एक वर्ष मेसिन प्रदान गरेका धरान–१५ का शुभकुमार राईले ब्लाष्ट दैनिकको कार्यालयमा आएर भने, ‘मेरो एक वर्ष काम गरेको ८ लाख लिनुपर्ने थियो, अध्यक्ष अशोक राईले केही छुट दिनुपर्यो भनेपछि २ लाख छुट दिएको थिएँ । त्यसमध्ये एक लाख रुपैयाँ निकासा भयो; पाँच लाख रुपैयाँ अहिलेसम्म पाएको छैन ।’
उनका अनुसार अध्यक्ष राईले फोन गर्दा फोन पनि नउठाउने र भेट्न जाँदा पनि भेट नदिने गरेको बताए । ‘पैसा दिने चाहना देखिँदैन, कता कता सुन्दा जे गर्छ गरोस् भन्ने खालको दादागिरी शैलीमा कुरा गरेको सुनिन्छ’–उनले भने । यता अध्यक्ष राईले आफ्नो कार्यकालभरि लिएका ऋणहरू त्यही आर्थिक वर्षमा तिरेर काम गरेको दाबी गरे । उनले आफू २०६४ सालदेखि २०७० सालको पुससम्म अध्यक्ष भएको र पुसमा राजीनामा दिन बाध्य पारिएपछि डम्बर कार्कीको अध्यक्षतामा अर्को समिति बनेको बताए ।
‘मेरो कार्यकालमा लिएका पैसाहरू त्यही आर्थिक वर्षमा फिर्ता गरेको छु’ उनले फोनसम्पर्कमा भने, ‘डम्बर कार्कीको नेतृत्वमा समिति बनेपछि त्यो समितिले ऋण लिएको हो । जो साथीहरूले अहिले पैसा लिएको भन्ने देखाउनुभएको छ, त्यो पैसा मलाई एक रुपैयाँ पनि दिइएको छैन । मेरो खातामा एक रुपैयाँ पनि आएको छैन ।’ उनले गाउँपालिकाले उक्त रकम सोझै फिर्ता दिन नमिल्ने भएकाले समस्या भएको बताए ।
तर, अध्यक्ष राईको भनाइलाई चिर्दै डम्बर कार्कीले भने, ‘२०७० सालमा मलाई अध्यक्ष दिइएको हैन, उपसमिति निर्माण गरिएको हो । मूल समितिमा अशोक राई नै हुनुहुन्थ्यो । उहाँले राजीनामा दिएको मलाई जानकारीमा छैन ।’ उनका अनुसार आफ्नो र उमेश राईको दुईवटा छुट्टाछुट्टै उपसमिति बनेको र त्यही समितिले हालका ऋणदाताहरूबाट २९ लाख जति ऋण लिएको बताए ।
‘उमेश राई अध्यक्ष बनेको समितिले बाटो खन्दा १२ लाख जति ऋण लिएको थियो, मेरो समितिले १७ लाख रुपैयाँ ऋण लिएको थियो । त्यो सबै रकमको हिसाबकिताब अध्यक्ष राईले नै जिम्मा लिनुभएको थियो’–उनले भने । २०६४ सालदेखि समितिमा सचिव हुँदै हाल अध्यक्ष रहेका बहादुर राईले अध्यक्षमाथि नै दोष थोपरे । उनले पनि राजीनामा दिएको भन्ने भनाइ गलत भएको दाबी गर्दै भने, ‘२०७४ सालको निर्वाचनपछि मात्रै साधारणसभा गरेर मलाई जबर्जस्ती अध्यक्ष दिइयो । तर, अध्यक्षले मलाई कागजपत्र दिनुभएको छैन ।’
उनले ऋणदाताहरूले पैसा नपाएको सत्य भएको बताए । अध्यक्ष राई र ऋणदाताहरूको हिसाब तलमाथि भएकाले पनि समस्या थपिएको बताए । उनले भने, ‘अध्यक्षले १८ लाखको हिसाब देखाउनुभयो, उहाँहरू (ऋणदाता) ले ३८ लाखको हिसाब देखाएपछि कुरा मिलेन ।’ उनका अनुसार आफूले २०७२ सालमा राजीनामा दिए पनि स्वीकृत नगरी आफ्नो मनखुसीले अध्यक्ष राईले समिति सञ्चालन गरेको आरोप लगाए । उनले पनि डम्बर कार्कीको अध्यक्षतामा बनेको समिति उपसमिति मात्रै भएको दाबी गरे ।
फेरि पनि यस विषयमा बुझ्नका लागि ब्लाष्टकर्मीले फोनसम्पर्क गर्दा अध्यक्ष राईले फोन उठाएनन् । ऋण असुल समितिले पटक–पटक आग्रह गर्दा पनि रकम नपाएका कारणले आन्दोलन गर्न बाध्य बनेको जनाएको छ । समितिले पाङ्चा–नागी–चखेवा सडक पनि अवरुद्ध गर्ने चेतावनी दिएको छ ।
त्यहाँका स्थानीयले सडक निर्माणका लागि समितिलाई ५ हजार रुपैयाँदेखि ७ लाख ५० हजार रुपैयाँसम्म ऋण दिएको कागजपत्रमा देखिन्छ । अध्यक्ष राईले रकम अपचलन गरेको हुनसक्ने ऋणदाताहरूको आरोप छ । तर, अध्यक्ष राईले भने, ‘कानूनी उपचार गर्न पनि उहाँहरूलाई छुट छ, कुनै पनि कानून, न्यायालयले मैले पैसा तिर्नुपर्नेछ भनेर ठहर गरेमा सहुँला, बुझाउँला ।’