विराटनगर । भारततर्फ तस्करी हुन लागेको ठुलो परिमाणको गाँजा प्रहरीले बरामद गरेको छ ।  नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत मोरङको जहदा गाउँपालिका–१ बाट प्रहरीले शनिबार बिहान लागुऔषध १४ किलो गाँजासहित जहदा–१ का ३२ वर्षीय मुन्ना मलाहालाई पक्राउ गरेको हो ।

नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा गाँजा बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । गाँजा तस्करीमा संलग्न मलाहालाई पनि प्रहरीले पक्राउ गरेको छ । मलाहा लामो समयदेखि गाँजाको अवैध ओसारपसार एवं कारोबारमा संलग्न रहेको प्रहरीको भनाई छ ।

पहाडी जिल्लामा उत्पादन हुने गाँजा लुकाइछिपाइ ल्याएर नाका कटाएर भारत पुर्याउने धन्दामा उनी संलग्न रहेको पाइएको छ । प्रहरीका अनुसार नेपालमा गाँजा प्रति किलो २० हजार रुपैयाँसम्ममा किनबेच हुन्छ । नेपालमा भन्दा भारतमा दोब्बर बढी मूल्यमा बिक्री हुने भएकाले गाँजाको अवैध ओसारपसार भइरहेको प्रहरीले जनाएको छ । नियन्त्रणका लागि सुरक्षा सतर्कता बढाइएको छ ।

अवैध गतिविधि एवं अपराध नियन्त्रणका लागि सुरक्षा उपस्थिति बढाएर नेपाल–भारत सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले बताए ।

उनका अनुसार नजिकिँदो स्थानीय तह निर्वाचनलाई पनि लक्षित गरेर निगरानी बढाउँदै सीमा क्षेत्रमा सुरक्षा कडाइ गरिएको हो । विशेष टोली परिचालन गर्दै एसपी कोइरालाले सिमानामा उच्च सतर्कता अपनाउन निर्देशनसमेत दिएका छन् ।

१४ किलो गाँजासहित पक्राउ परेकालाई इलका प्रहरी कार्यालय रंगेलीले लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने तयारी गरेको छ ।