एकपछि अर्को गर्दै प्रदेश १ मा बालबालिको क्रूर हत्याको घटना बढ्दै गएको छ । चालु आर्थिक वर्षको चैत २२ गतेसम्म प्रदेश १ मा ७ जना बालबालिकाहरूले अकालमै ज्यान गुमाइसकेका छन् । ७ जनामध्ये एक बालक र ६ जना बालिका रहेका १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
धरान डेस्क । व्यक्तिगत रिसइबीका कारण उदयपुरमा सहपाठीबाटै एक होनहार छात्राको हत्या भएको छ । विद्यालयका प्रधानाध्यापक सूर्यनारायण साहले विद्यालयले होनहार छात्रा गुमाएको जनाए । विद्यालयले विज्ञप्ति जारी गरेर घटनामा संलग्न दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी सुवासचन्द्र बोहोराले हत्या आरोपमा भारत सिक्किम राज्य बियुङ घर भई उदयपुर बेलका नगरपालिका–३ का १९ वर्षीय विनोद ढकाल र १७ वर्षीया सरिता ढकाल खत्रीलाई पक्राउ गरेको बताए । सरिता मृतक कविता सुनुवारकी सहपाठी हुन् । उनीहरू दुवै कक्षा १० मा पढ्दै आएका थिए ।
प्रहरीका अनुसार घटना मङ्गलबार बिहान पौने ५ बजेको आसपास भएको जनाइएको छ । एसपी बोहोराका अनुसार सहपाठीबीच व्यक्तिगत रिसइबी रहेको खुलेको छ । घटना हुनुभन्दा अगाडि सरिताको मोबाइलबाट कवितालाई साढे ४ बजेको आसपासमा फोन आएको प्रहरीले जनाएको छ । उक्त फोनका आधारमा कविता घरबाट अतिरिक्त कक्षाका लागि हिँडेकी थिइन् ।
तर, बाटोमा पर्ने जसोदा खोलानजिकै उनको हत्या गरिएको थियो । बियरको बोतल र ढुङ्गाले मृतक कविताको अनुहार क्षतविक्षत बनाएको अवस्थामा पाइएको प्रहरीको भनाइ उद्धृत गर्दै प्रअ साहले जानकारी दिए ।
मृत्यु भएपश्चात् भने घिसार्दै लगेर फालेको देखिएको छ । प्रअ साहका अनुसार कविता छात्रातर्फ तेस्रो, चौथो आउने विद्यार्थी हुन् भने सरिताको मध्यम् खालको पढाइ रहेको थियो । तर, उनीहरू सँगसँगै आउजाउ गर्ने गरेका थिए । यसअघि पनि उनीहरूबीच विवाद हुने गरेको थियो । तर, विवाद भएको एक–दुई दिनमै मिल्ने पनि गरेको प्रअ साहले बताए । ‘सरिताको पढाइ कविताको भन्दा कमजोर थियो । तर, उनीहरू मिल्ने साथीहरू हुन्’ उनले भने, ‘उनीहरूबीच विवाद चाहिँ हुन्थ्यो । तर, आजको भोलि मिलिहाल्ने ।’ जिल्ला प्रहरी कार्यालय उदयपुरले आज (बुधबार) म्याद थप गर्दै हत्यामा संलग्न दुवैलाई सार्वजनिक गर्ने तयारी थालेको छ ।
मोरङको सुन्दरहरैंचा नगरपालिकामा गत फागुन २७ गते डेढ वर्षकी बालिकालाई दुई युवाले बलात्कार गरेपछि हत्या गरेका थिए । घरमा कोही नभएको बेला बालिकालाई एकान्तमा लगेर बलात्कार गरेका थिए । गम्भीर अवस्थामा फेला परेकी बालिकालाई परिवारले उपचार गराउन लाँदैगर्दा मृत्यु भएको थियो । बलात्कारपछि हत्या गरेको अभियोगमा २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीलाई पक्राउ गरी इप्रका बेलबारीले कर्तव्य ज्यान र जबरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको थियो । अदालतमा अभियोग दर्ता गरेपछि मङ्गलबार मोरङ अदालतको आदेशपछि उनीहरू दुवै पुर्पक्षको लागि थुनामा गएका छन् ।
लेटाङ–८ जाँते ज्यामिरेकी १३ वर्षीया बालिका फागुन ११ मा विद्यालयबाट घर फर्कंदै गर्दा हराइन् । तीन दिनपछि शव स्थानीय लालहीरा सामुदायिक वनमा भेटियो । बलात्कारपछि हत्या भएको पुष्टि भयो । बालिका बलात्कारपछि हत्या आरोपमा प्रहरीले सोही ठाउँका ६४ वर्षीय दीपक गिरीलाई पक्राउ गरी अनुसन्धान गर्दै आएको छ । गिरीले जङ्गलमा बलात्कारपछि बालिकाको हत्या गरी शव ढुङ्गाले छोपेका थिए ।
गिरीले बलात्कार गरेको पोल खुल्ने डरले बालिकाको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो । उल्लेखित घटना प्रतिनिधिमूलक हुन् । १४ जिल्ला रहेको प्रदेश १ मा पछिल्लो समय बालबालिका हत्याको घटना बढ्दै गएको छ । एकपछि अर्को गर्दै क्रूर हत्याको घटनाको बढेको हो ।
चालु आर्थिक वर्षको चैत २२ गतेसम्म प्रदेश १ मा ७ जना बालबालिकाले अकालमै ज्यान गुमाइसकेका छन् । ७ जनामध्ये एक बालक र ६ जना बालिका रहेका १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । चालु आर्थिक वर्षको ९ महिनामा सबैभन्दा बढी मोरङमा बालिका हत्याको घटना भएको छ । मोरङमा मात्र १८ महिने बालिकासहित तीन जनाको हत्या भएको छ । मोरङमा बलात्कारपछि हत्या गरेको दुई घटना दर्ता भएको प्रहरीले जनाएको छ । सङ्खुवासभामा १ बालक र १ बालिका गरी दुई जना, इलाममा १ बालक र उदयपुरमा १५ वर्षीया बालिकाको हत्या भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
आर्थिक वर्ष २०७७/०७८ मा प्रदेशमा ४ जना बालबालिकाको हत्या भएको छ । मोरङमा १, सुनसरीमा २, ओखलढुङ्गामा १ जना बालबालिकाको हत्या भएको थियो । समाजशास्त्री डिल्ली प्रसाईंले कानून कार्यान्वयनको कमीको कारणले समाजमा अपराध बढेको बताए । कानूनी व्यवस्था भए पनि कार्यान्वयन पक्ष फितलो हँुदा यस्ता आपराधिक घटना बढेको उनको भनाइ छ । सामाजिक र पारिवारिक नियन्त्रण प्राणाली बाहिर जाँदा पनि यस्ता आपराधिक घटना हुने गरेको देखिएको उनले बताए ।
आत्मानुशासनमा कमी, गलत खानपान र दलका नेतृत्व पङ्क्तिले सकारात्मक भूमिका नखेल्दा यौनसम्बद्ध अपराध बढेको समाजशास्त्री प्रसाईंको भनाइ छ । ‘आधुनिक परिवेशमा चरित्र निर्माणका लागि अनुशासन, संस्कार एवम् नैतिक मूल्यमान्यताको पाठ जरुरी भइसकेको छ’ उनले भने, ‘घरपरिवारदेखि यसको सुरुवात हुनुपर्छ । योग, व्यायाम र ध्यानले पनि असल नागरिक निर्माण एवम् मानसिक सन्तुलन कायम गर्नमा सहयोग गर्छ ।’ न्याय सम्पादन गर्नेदेखि राज्य र समाजका हरेक संयन्त्र जिम्मेवार बनेर गाउँस्तरमा सचेतनाका कार्यक्रम गर्न आवश्यक रहेको उनको सुझाव छ ।
वरिष्ठ मनोचिकित्सक डा. रोशन पोखरेलले प्रायः एक्लै बस्ने, पारिवारिक सम्बन्ध खराब भएकाहरू बढी हिंस्रक भएर अपारध कर्ममा लाग्ने गरेको बताए । उनका अनुसार नाबालिकालाई फकाएर वा तर्साएर बलात्कार गर्ने र पोल खुल्ने डरले हत्या नै गर्ने प्रवृत्ति घातक हुँदै गएको छ । १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख डिआइजी अरुणकुमार बिसीले आपराधिक क्रियाकलापमा संलग्नहरूको लागि बालबालिका सजिलै ‘तार्गेट’ मा पर्ने भएकोले यस्ता घटना हुने गरेको बताए ।
‘बालबालिका अञ्जान हुन्छन् । पीडिकलाई फकाउन सजिलो हुन्छ । बच्चाहरू भनेको आफ्नै छिमेकी र आफन्त नातागोताका हुन्छन् । उनीहरूलाई सजिलै विश्वास गर्दछन् । ती साना बालबालिकाहरूमा के गरेको भन्ने कुरा पनि हेक्का हुँदैन’ उनले भने, ‘त्यही भएर बालबालिका उमेर समूहमा आपराधिक मानसिकता भएका पीडक हावी हुने गरेको देखिएको छ ।’
यस्ता घटना बढ्नुमा अभिभावकको हेल्चेक्र्याइँ, बढ्दो आधुनिकता र सामाजिक सञ्जाल प्रयोगलाई प्रमुख कारणका रूपमा प्रहरीले लिएको छ । ‘नानीबाबुहरू घरपरिवार एवम् समाजभित्रै असुरक्षित देखिए’ डिआइजी बिसीले भने, ‘कारबाहीसँगै समाजमा सचेतना पनि आवश्यक छ । अभिभावक पनि सचेत हुन जरुरी छ । आफ्नो बच्चा कोसँग हिँडिरहेको र कतातर्फ लागिरहेको छ, त्यसको पनि हेक्का राख्नुपर्दछ ।’ अभिभावक जिम्मेवार र सचेत भइदिए यस्ता घटनामा कमी आउने उनको भनाइ छ ।