विराटनगर । मोरङको लेटाङमा एक जना महिला प्रहरीको हत्या प्रकरणमा प्रहरीले ६३ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । मोरङ प्रहरीले २० जना विरुद्ध कर्तव्य ज्यान र ४३ जना विरुद्ध अभद्र व्यवहारको मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको हो ।

चैत ६ गते मोरङको लेटाङमा हिंसात्मक झडप हुँदा प्रहरी जवान २६ वर्षीया उर्मिला श्रेष्ठको हत्या भएको थियो । सोही घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक जना महिलासहित २० जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा लेटाङ नगरपालिका–५ का ४८ वर्षीय चन्द्र तामाङ भन्ने चन्द्रकान्ता लामा, सोही ठाउँका २५ वर्षीय रविन राई, २० वर्षीय रविन तामाङ, ६ का १८ वर्षीय बलराम भन्ने पालाराम राई, सोही वडाका १८ वर्षीय राम राई, १८ वर्षीय सन्तोष पौडेल, २० वर्षीय हिमाल श्रेष्ठ, लेटाङ–५ का २३ वर्षीय प्रदीप राई, सोही वडाकी १८ वर्षीय निशा पुलामी मगर, १८ वर्षीय सुरज अधिकारी, १९ वर्षीय सञ्जय मगर रहेका छन् ।

त्यस्तै मिक्लाजुङ गाउँपालिका–२ घर भई लेटाङ–५ का २० वर्षीय कृष्ण विक, लेटाङ–५ कै सञ्जीव प्रधान, प्रनिस कट्टेल, झविन भन्ने जस्वीन पाख्रिन, सनिल लिम्बू, प्रल्हाद खड्का, अर्पण परियार, पासाङ तामाङ र लेटाङ–६ का श्रवण यादवलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूलाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान गर्दै आएको प्रहरीले जनाएको छ ।

यस्तै सञ्जोग राईसहित ४२ जना विरुद्ध प्रहरीले जिल्ला प्रशासन कार्यालय मोरङमा अभद्र व्यवहारको मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।

पक्राउ परेकामध्ये १० जना विद्यार्थी छन् । अब बढीमा सात दिनभित्र सबै अनुसन्धान पूरा गरेर मुद्दा दर्ताको प्रक्रिया अगाडि बढाउने तयारी गरेको मोरङ प्रहरीका प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए ।

शिक्षकले छात्रामाथि यौनजन्य दुव्र्यवहार गरेको आरोपपछि चैत ६ गते मोरङको लेटाङस्थित शिक्षा विकास माध्यमिक विद्यालयमा हिंसा भड्किएको थियो । घटनामा महिला प्रहरी उर्मिलाकोे ज्यान गएको थियो । घटनालगत्तै जिल्ला प्रशासन कार्यालयले लेटाङ क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको थियो ।

घटना साम्य भएसँगै शिक्षा विकास माविमा पठन–पाठनसमेत सुरु भएको छ । विद्यालयका प्रधानाध्यपक लक्ष्मीप्रसाद मिश्रले विद्यार्थी न्यून सङ्ख्यामा मात्र विद्यालय आएको जानकारी दिए । विद्यालयमा कुल ७ सय ४१ जना विद्यार्थी अध्ययनरत छन् ।

मिश्रले भने, ‘घटनाको मनोवैज्ञानिक त्रासका कारण धेरै विद्यार्थी विद्यालय आउन डराइरहेका छन् ।’ उनले विद्यालयको अवस्था विस्तारै सामान्य बन्दै जाने अपेक्षा रहेको बताए । लेटाङ नगरपालिकाका मेयर शङ्कर राईले अवस्था सामान्य भएसँगै विद्यालय पूर्ववत् रूपमा खोलिएको जानकारी दिएका छन् । उनका अनुसार कक्षा सुरु गरिएको छ । विद्यालय खुलेपछि त्रासदीपूर्ण घटनालाई बिर्सिएर विद्यार्थी विद्यालय आउन सुरु गरेका छन् ।

वार्षिक परीक्षा नजिकिएको र विद्यालय बन्द हुँदा पठन–पाठनसमेत प्रभावित बनेको थियो । शिक्षक मनोज पौडेलले कक्षा ७ मा अध्ययनरत छात्रालाई होलीका दिन यौनजन्य दुव्र्यवहार गरेको आरोपपछि विद्यार्थी र स्थानीयले प्रदर्शन गरेका थिए ।

मेयर राईले विद्यार्थीमा त्रासको अवस्था रहन नदिन प्रयास गरिएको बताउँदै भने, ‘हामीले विद्यार्थी र शिक्षकका लागि मनोपरामर्श कक्षा सञ्चालन गर्ने तयारी गरेका छौं ।’ घटनापछि स्थानीय रूपमा गठित पाँच सदस्यीय समितिले विद्यालयमा तोडफोडबाट भएको क्षतिको विवरण सङ्कलन गरेको छ ।

त्रासका कारण मनोवैज्ञानिक असर देखिएकी कक्षा १० की एक छात्रालाई अस्पताल भर्ना गरेर उपचार गरिएको मेयर राईले जानकारी दिए । घटनामा घाइते विद्यार्थीको स्वास्थ्य अवस्थासमेत सुधार भइसकेको बताइएको छ । हिंसा भड्किएपछि प्रहरीले पाँच राउन्ड हवाई फायर गरेको थियो । एक दर्जनभन्दा बढी अश्रुग्यास प्रहार भएको थियो । झडपमा २९ प्रहरी र केही शिक्षक घाइते भएका थिए ।