सुनसरी/ भारतीय बजार वीरपुरबाट लुकाएर ल्याइएको ९६ ग्राम प्रतिबन्धित ब्राउनसहित कोसी गाउँपालिका–८ भण्टाबारी बस्ने २४ वर्षीय मिथुनकुमार यादव र २२ वर्षीय प्रमोद सरदार शुक्रबार पक्राउ परे । भारतीय नम्बर प्लेटको पल्सर मोटरसाइकलमा ग्राहकलाई ब्राउनसुगर पुर्याउन गएका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरी र लागूऔषध ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले इनरुवा बसपार्कबाट नियन्त्रणमा लिएको जनाइएको छ ।

‘विगत लामो समयदेखि सीमावर्ती क्षेत्रमा लागूऔषध कारोबार गर्ने गिरोह सक्रिय छन्’ स्रोतले भन्यो, ‘भारतीय बजारबाट ब्राउनसुगरजस्ता लागूऔषध ल्याउनेदेखि नेपालको पहाडी जिल्लाबाट गाँजा सीमा कटाउने कार्य त्यस्ता गिरोहले गर्दै आएका छन् ।’  ब्राउनसुगरसहित पक्राउ परेकामाथि आइतबार सुनसरी जिल्ला अदालतबाट म्याद थप गराएर लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम आवश्यक अनुसन्धान अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवम् डिएसपी नगेन्द्र कार्कीले जानकारी दिए ।

‘सदरमुकाम इनरुवाबाट शुक्रबार साँझ ९६ ग्राम प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित मिथुन र प्रमोद पक्राउ परेका छन्’ उनले भने, ‘उनीहरूमाथि सुनसरी जिल्ला अदालतबाट आइतबार म्याद थप गराएर आवश्यक अनुसन्धान अगाडि बढाउँछौं ।’ पछिल्लो समय भण्टाबारीसहितका सीमा नाकाबाट लागूऔषध ब्राउनसुगर, गाँजालगायत कारोबार गर्ने गिरोहका नाइके फरार रहेकाले खोजीकार्य तीव्र पारिएको प्रहरी स्रोतको दाबी छ ।

गत असोज १४ गते भारतीय बजारबाट लुकाएर ल्याइएको १ सय ६४ ग्राम ८ सय ३० मिलिग्राम ब्राउनसुगर गन्तव्यतर्फ पु¥याउने क्रममा कोसी गाउँपालिका–१ का ३८ वर्षीय नौसाद अली पक्राउ परेका थिए । को.२७ प ३०८१ नम्बरको मोटरसाइकलमा सवार उनलाई विशेष सूचनाका आधारमा १ नं. प्रदेश प्रहरी कार्यालय लागूऔषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले कोसी गाउँपालिका–१ स्थित लौकही बजारबाट पक्राउ गरेको थियो  ।  पछिल्लो समय सुनसरी जिल्लामा प्रतिबन्धित लागूऔषध ब्राउनसुगरको अवैध कारोबार बढेको जिल्ला प्रहरी कार्यालय सुनसरीको तथ्याङ्कले देखाएको छ ।

बर्सेनि बढ्दै कारोबारी
जिल्ला प्रहरी कार्यालय सुनसरीको तथ्याङ्कअनुसार बर्सेनि लागूऔषध ब्राउनसुगर कारोबारीको सङ्ख्या बढ्दो छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले आर्थिक वर्ष २०७५/०७६ मा २ सय ७० ग्राम २ सय ९३ मिलिग्राम ब्राउनसुगरसहित १९ जना व्यक्ति पक्राउ गरेकोमा आर्थिक वर्ष २०७६/०७७ मा ४७ ग्राम ३ सय २६ मिलिग्राम ब्राउनसुगरसहित ३३ जना व्यक्ति पक्राउ परेका थिए ।

यसैगरी आर्थिक वर्ष २०७७/०७८ मा जिल्ला प्रहरी कार्यालय सुनसरीले ६ सय ५० ग्रामबढी ब्राउनसुगरसहित ५८ जनालाई नियन्त्रणमा लिएको तथ्याङ्क रहेकोे छ । लागूऔषध नियन्त्रण तथा रोकथामका लागि प्रहरीले सक्रियता बढाएकाले लागूऔषधमा संलग्न व्यक्तिहरू पक्राउ पर्ने क्रम बढेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सञ्जयसिंह थापाको भनाइ छ ।

अन्य लागूऔषधको तुलनामा ब्राउनसुगर बोक्न सजिलो हुने भएकाले यसको कारोबार बढेको बताउँदै उनले भने, ‘खुला सीमाको फाइदा उठाएर त्यस्ता कारोबार गर्नेहरू सक्रिय छन्, अन्यभन्दा फाइदा पनि बढी हुन्छ, त्यसैले ब्राउनसुगरको कारोबार बढेको हुनसक्छ ।’ लागूऔषध नियन्त्रण गर्न विशेष अभियान चलाएको हुँदा कारोबारी धमाधम पक्राउ पर्न थालेको एसपी थापाले बताए ।