सुनसरी । बिहेको प्रलोभन दिएर बेचबिखन गर्ने उद्देश्यले भारततर्फ लाँदै गरेको अवस्थामा एक युवतीको उद्धार गरिएको छ ।

काठमाडौँ महानगरपालिका–४ की २० वर्षीया युवतीलाई प्रेमजालमा पारी भारततिर लाँदै गरेको अवस्थामा बिहीबार कोसी गाउँपालिका–८ भण्टाबारीबाट युवतीको उद्धार गरिएको हो । सीमा नाकामा अवस्थित सूचना केन्द्रले युवतीको उद्धार गरेको प्रहरीले जनाएको छ ।

काठमाडौँमा ठेक्काको काम गर्ने भारत बिहार राज्यको सुपौल जिल्लाको गोपालपुर ग्राम पञ्चायत–५ का ३२ वर्षीय मोहम्मद फिरोजले काठमाडौँकी मोक्तान थरकी युवतीलाई प्रलोभन देखाई भारत लाँदै गर्दा उद्धार गरिएको हो ।

सीमा कटाउने क्रममा शङ्का लागेपछि सोधपुछ गर्दा अनौठो व्यवहार गरेको पाइएपछि उद्धार गरी नेपाल प्रहरीको जिम्मा लगाएको सूचना केन्द्रका कर्मचारी पह्लाद आलमले जानकारी दिए ।

ती युवतीलाई लामो समयदेखि फिरोजले ललाई फकाई गरी भारत लान खोजेका थिए । सीमामा तैनाथ सुरक्षाकर्मीको सहयोगमा बेचबिखनमा परेकी युवतीको उद्धार गर्न सफल भएको उनको भनाइ छ ।

ती युवतीलाई पक्राउ परेका फिरोजले आफू अविवाहित भएको बताउने गरेको पाइए पनि सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका क्षेत्रमा ती युवाको ससुराली रहेको सुनसरी प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवम् डिएसपी नगेन्द्रकुमार कार्कीका अनुसार युवतीलाई बेचबिखन गर्ने उद्देश्यले भारततर्फ लाँदै गर्दा पक्राउ परेका फिरोजमाथि मानव बेचबिखन ऐन अन्तर्गत शुक्रबार मुद्दा दर्ता भएको छ ।

बेचबिखन आरोपमा पक्राउ परेका फिरोज भारतीय नागरिक भएको र काठमाडौंमा घर निर्माण कार्य गर्ने ठेक्काको काम गर्दै आएको बताउँदै डिएसपी कार्कीले उनका दुई छोरा र दुई छोरी रहेको बताए । 

सुनसरी प्रहरीले मानव बेचबिखन ऐनअन्तर्गत मुद्दा चलाइएका  फिरोजमाथि आरोप पुष्टि भएको अवस्थामा १० देखि २० वर्ष कैद हुनसक्ने कानूनी प्रावधान रहेको बताइएको छ । यसैबीच प्रलोभनमा पर्दा झण्डै बेचबिखनमा परेकी ती युवतीलाई उनको अभिभावकको जिम्मा लगाएको प्रहरीले जनाएको छ । 

कोसी गाउँपालिकाको कार्यालय, साझा सवालका लागि साझा मञ्च कोकन र प्लान इन्टरनेसनल नेपालको संयुक्त पहलमा कोसी गाउँपालिका–८ भण्टाबारीस्थित चारकुने नाकामा स्थापना गरिएको उक्त सूचना केन्द्रले सन् २०१७ देखि हालसम्म ९८ जना युवतीको उद्धार गर्न सफल भएको छ ।

तीमध्ये पछिल्लोपटक पक्राउ परेका फिरोजसहित युवतीलाई बेचबिखन गर्ने प्रयोजनका लागि लाने क्रममा पक्राउ परेकामध्ये  दुई जनामाथि मानव बेचबिखन र सात जनामाथि अभद्र व्यवहार सम्बन्धी मुद्दा चलाइएको सूचना केन्द्रको तथ्याङ्क रहेकोे छ ।

चेलीबेटी तथा मानव बेचबिखन कार्य नियन्त्रणका लागि सरकारी तथा विभिन्न गैरसरकारी निकाय सीमाक्षेत्रमा केन्द्रित रहेकाले केही हदसम्म बेचबिखन कार्य न्यूनीकरण गरेको देखिए पनि चोरबाटो हुँदै बालिका, किशोरी, युवती तथा महिलालाई भारततर्फ लगिँदै आएको छ ।