धरान । घाँस काट्न जान्छु भनी घरबाट हिँडेकी झापा मेचीनगर नगरपालिका ५ पिपल डाँडाकी ६८ वर्षीया वृद्धा मृत अवस्थामा भेटिएकी छन् ।
बुधबार दिउँसो ४ बजेतिर घाँस काट्न हिँडेकी ६८ वर्षीया अम्बिका कुँवर साँझसम्म घर नफर्केपछि खोज्न जाँदा पति जगत कुँवरले घरबाट करिब २ सय मिटर पश्चिम दक्षिणमा मृत अवस्थामा फेला पारेका थिए । लीलाराज देवकोटाको बाँझो खेतमा मृत अवस्थामा देखेपछि पति जगत कुँवरले तत्काल प्रहरीलाई खबर गरेका थिए ।
घटनास्थल अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी विश्वमणि पोखरेल, इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी सुनिल दाहालको कमान्डमा अनुसन्धान गरिएको छ । घटनास्थलमा संघीय प्रहरी इकाई कार्यालय धरानबाट तालिम प्राप्त कुकुर पनि लगेर अनुसन्धान गरिएको थियो ।
अनुसन्धानपश्चात् मेचीनगर नगरपालिका ५ का २७ वर्षीय रणबहादुर बस्नेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाइएको छ । मृतकको लाश पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हातामा रहेको विधिविज्ञान प्रयोगशाला धरान सुनसरी पठाइएको छ ।