सुनसरी । बिबिए चौथो वर्षमा अध्यनरत राजविराज उपमहानगरपालिका–८ की २१ वर्षीया सुनिता यादव (नाम परिवर्तन) लाई केटा साथीले विभिन्न प्रलोभन दिई भारततर्फ लाँदै गर्दा २०७८ फागुन ४ गते कोसी गाउँपालिका–८ भण्टाबारीस्थित चारकुने नाकाबाट पक्राउ परे ।

सुनितालाई भारततर्फ बेचबिखनको लागि लैजाँदै गरेको शङ्का लागेर मानव बेचबिखन रोकथाम गर्ने उद्देश्यले सीमा नाकामा स्थापना गरिएको सूचना केन्द्रका कर्मचारीले उनका केटा साथी राजविराज उपमहानगरपालिका–७ बस्ने २२ वर्षीय लोकेन्द्रप्रसाद साहसहित उनलाई आवश्यक छानबिनका लागि नेपाल प्रहरीको जिम्मा लगाएको थियो ।

सूचना केन्द्रमा कार्यरत कोसी गाउँपालीकाका कर्मचारी पह्लाद आलमले भने, ‘प्रहरीले अनुसन्धान थालेपछि युवतीका अभिभावकलगायतले चिनजानकै व्यक्ति हो आइन्दा यस्तो गर्दैनन् भन्दै सहमति भयो ।’ त्यसैगरी कोसी गाउँपालिका–१ स्थित लौकहीकी १९ वर्षीया अनिता राउत (नाम परिवर्तन) लाई प्रेमको जालमा पार्दै भारत बिहार दरभङ्गा बस्ने २१ वर्षका मोहित कुमारले प्रेमिकालाई बहिनी भन्दै भारततर्फ लैजाँदै गरेको अवस्थामा माघ २ गते कोसी गाउँपालिका–८ भण्टाबारीस्थित सूचना केन्द्रका कर्मचारीले उनीहरूलाई नियन्त्रणमा लियो ।

त्यस्तै पुस २३ गते इनरुवा नगरपालिका–५ की १९ वर्षीया एक युवतीलाई प्रेमसम्बन्धमा पार्दै जागिर लगाइदिने भन्दै बेचबिखनका लागि लैजाँदै गर्दा भारत बिहार विसनपुर बस्ने २६ वर्षका नितिशकुमार चौधरी पक्राउ परे । विभिन्न बहानामा प्रलोभनमा पर्दा बेचबिखन हुनबाट रोकिएका यी उल्लेखित केही प्रतिनिधि घटना मात्र हुन् ।

कोसी गाउँपालिकाको कार्यालय, साझा सवालका लागि साझा मञ्च कोकन र प्लान इन्टरनेसनल नेपालको संयुक्त पहलमा कोसी गाउँपालिका–८ भण्टाबारीस्थित चारकुने नाकामा स्थापना गरिएको सूचना केन्द्रले पाँच वर्षको अवधिमा बेचबिखनमा परेका विभिन्न जिल्लाका ९७ जनाको उद्धार गरेको छ । सीमामा तैनाथ नेपाली तथा भारतीय सुरक्षाकर्मीको सहयोगमा उनीहरूलाई उद्धार गर्न सफल भएको सूचना केन्द्रका कर्मचारी आलम बताउँछन् ।

सन् २०१७ मा उक्त सूचना केन्द्र स्थापना भएदेखि २०२२ मार्च महिनासम्म विभिन्न प्रलोभनमा पारी बेचबिखन गर्ने उद्देश्यले भारततर्फ लाँदै गरेका विभिन्न १७ वटा जिल्लाका विभिन्न उमेर समूहका ९७ जनालाई उद्धार गरिएको जनाइएको छ । उद्धार गरिएकामध्ये १९–१९ जना दलित र मधेसी, १७ जना ब्राह्मण क्षेत्री, ३६ जना जनजाति, चारजना मुस्लिम र अन्य दुईजना विभिन्न समुदायका गरी जम्मा ९७ जना रहेका छन् ।

कोसी  गाउँपालिकामा गठित मानव बेचबिखन तथा नियन्त्रण समन्वय समितिको समीक्षा बैठकमा प्रस्तुत तथ्याङ्कअनुसार उद्धार गरिएकामध्ये १४ वर्षसम्मका आठजना, १५ देखि १९ वर्ष समूहका ७५ जना र २० माथिका १४ जना छन् । बेचबिखन तथा ओसार–पसारविरुद्ध ४ हजार ५ सय ८१ वटा सूचना पाएकोमा विभिन्न १७ वटा जिल्लाका ९७ जनालाई बेचबिखन गर्ने उद्देश्यले लाँदै गरेको पाइएपछि उद्धार गरेर नेपाल प्रहरीको जिम्मा लगाएको सूचना केन्द्रले जनाएको छ ।

युवतीलाई बेचबिखन गर्ने प्रयोजनमा लाने क्रममा पक्राउ परेकामध्ये एक जनामाथि मानव बेचबिखन र सात जनामाथि अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाएको पाइएको छ । मानव बेचबिखन रोकथाम गर्न अभिभावक अभिमुखीकरण कार्यक्रम, बेचबिखनविरुद्ध महिला र किशोरी समूह निर्माणसँगै सरकारी तथा निजी विद्यालयका विद्यार्थीहरूलाई बेचबिखन तथा ओसार–पसारविरुद्ध चेतनामूलक कार्यक्रम दिँदै आएकोले मानव बेचबिखनविरुद्ध सर्वसाधारण जागरुक बनेको कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारी बताउँछन् ।

चेलीबेटी तथा मानव बेचबिखन कार्य नियन्त्रणका लागि सरकारी तथा विभिन्न गैरसरकारी निकाय सीमा क्षेत्रमा केन्द्रित छन् । तर, छोटो समयमा अपरिचित व्यक्तिलाई विश्वास गर्ने, सम्बन्ध जोड्ने, नियमित सम्पर्कमा बस्ने, राम्रो जागिर दिने, प्रेम तथा विवाह गर्नेजस्ता प्रलोभन दिई युवतीलाई सीमा कटाउने गिरोह सक्रिय रहेकाले सतर्क बस्नुपर्ने आवश्यकता रहेको कोकन नेपालका हेमन्तराज पौडेलको कथन छ ।

सीमामा तैनाथ सुरक्षाकर्मी, जनप्रतिनिधि, सामाजिक अगुवासँग सहकार्य गरेर लगभग १ सय जना व्यक्तिको उद्धार गर्न सफल भए पनि पीडितबाट अपेक्षाअनुसार सहयोग पाउन नसकिएको उनको भनाइ छ । ‘उद्धार गरिएकामध्ये अधिकांश पीडितहरू कानूनी प्रक्रिया अगाडि बढाउन चाहँदैनन्’ उनले भने, ‘उनीहरूमा पीडकलाई कानूनी सजाय दिलाउनुपर्छ भन्ने चेतनाको अभाव देखिन्छ ।’

सोही समीक्षा कार्यक्रममा बोल्दै कोसी गाउँपालिकाकी उपाध्यक्ष अनिता यादवले पीडितले पीडकलाई कानूनी कारबाही अगाडि बढाउन सहजीकरण गरिदिने उद्देश्यले गाउँपालिकाले मनोपरामर्शदाता राखेकाले अबका दिनमा यस्ता समस्या विस्तारै समाधान हुँदै जाने विश्वास व्यक्त गरिन् ।

कोसी गाउँपालिका, कोकन नेपाल, प्लान इन्टरनेसनल नेपालले सीमामा तैनाथ दुवै देशका सुरक्षाकर्मीहरूसँग सहकार्य गरेर मानव बेचबिखन रोकथाम गर्न उल्लेखनीय भूमिका खेलेको बताउँदै सीमावर्ती क्षेत्रमा हुने यस्ता समस्या समाधान गर्न जनस्तरबाट थप सहयोग आवश्यक देखिएको बताए ।