धरान । रुस र युक्रेनबीच घमासान युद्ध सुरु भएको आइतबार चौथो दिन बितिसकेको छ । आधुनिक हतियार प्रयोग गरी अमेरिकाले इराक, अफगानिस्तानमा भीषण आक्रमण गरेको युद्धपछि रुस र युक्रेनबीचको यो युद्धलाई विभिन्न पाटोबाट हेर्न थालिएको छ ।

सन् १९९१ सम्म सोभियत युनियन भित्रै रहेको युक्रेन सोभियत युनियन टुक्रिएसँगै बेग्ले राष्ट्रको रूपमा स्थापित भएको हो । रुस समर्थित सरकार रहेसम्म युक्रेन शान्त थियो; तर पछिल्लो समयमा अमेरिकाले नेतृत्व गरिरहेको उत्तर एटलान्टिक सन्धि समूह (नेटो) मा सामिल हुन लागेपछि रुसले आफ्नो सुरक्षा खतरा देखेपछि युक्रेनलाई नेटोमा सामेल हुन नदिने सिलसिलामा यो युद्ध हुन पुगेको हो ।

रुसले जल, थल र आकाशमार्गबाट युक्रेनमाथि धावा बोलिरहेको बेला कैयौं सैनिक र सर्वसाधारणको ज्यान गएको छ । राजधानी किभमा समेत रुसी सैनिक प्रवेश गरिसकेका छन् । रुसले करिब २ लाख सेना र हजारौं ट्याङ्क, सैयौं मिसाइल हान्ने र बम बर्साउने जेट फाइटर, राडार सिस्टमले समेत पत्ता नलगाउने मिसाइलदेखि विपक्षीले मार हान्दा आकाशमै विस्फोट गराउने अत्याुनिक एस ४०० र एस ५०० एन्टी मिसाइल हतियार लिएर युक्रेनमा पस्ने क्रम जारी छ ।

दुई साताअघिसम्म रुस समर्थक बेलारुससँग संयुक्त सैनिक अभ्यास गर्दा पश्चिमी अमेरिका, बेलायत, क्यानडा, फ्रान्स, जर्मनलगायत मुलुकले युक्रेन आक्रमण गरेर कब्जामा लिन खोजेको आरोप लगाउँदै आएका थिए । जवाफमा रुसले सैनिक अभ्यास भएको र युक्रेन कब्जा गर्ने कुनै मनसाय नभएको बताउँदै आएको थियो ।

तर जब जब सैनिक अभ्यास तीव्र बनाउँदै युक्रेनकै सिमामा रुसका सेनाहरू आइपुगे तब नेटोले युक्रेनलाई नेटोमा समावेश गर्ने र रुसविरूद्ध हातहतियार सहयोग गर्ने बचन दिएका थिए भने रुसलाई अनेक चेतावनी दिँदै थर्काउने रणनीति अपनाएका थिए । अमेरिका, बेलायत र युरोपियन युनियनमा आवद्ध मुलुकले रुसका विरूद्ध लड्नका लागि आफूहरू तयार रहेको र युक्रेनलाई आक्रमणमात्र गरेमा कुनै पनि कसर बाँकी नराख्ने धम्कीको भाषा बोल्दै आएका थिए ।

रुसले युक्रेन कब्जा गर्ने योजना बनाएको र सोहीअनुसार युद्धाभ्यास गरेको रिपोर्टहरू आएको भन्दै रूसी राष्ट्रपति भ्लादमिर पुटिनलाई लगातार भड्काए । जवाफमा रुसले फेरि पनि युक्रेनलाई नेटोमा सामिल नगर्न आग्रह गर्दै संसारकै सबैभन्दा बढी आणविक हतियारले सम्पन्न शक्तिशाली भएको चेतावनी दिए ।

यसबीचमा सिमा क्षेत्रमा रुस समर्थित र युक्रेनी जनताबीच झडपहरू हुन थालेपछि पुटिनले आफ्नो नागरिक बचाउन भनेर युक्रेन आक्रमणको आदेश दिए । आक्रमणको घोषणसँगै चारदिनको अवधिमा रुसी सेनाले युक्रेनको सैन्य अखडाहरू, विमानस्थल, हतियार भण्डारण केन्द्र, तेलका पाइपलाइन र भण्डारणहरूमा व्यापक गोलाबारी गरेको छ ।

रूसको अगाडि युक्रेनको सेनाको सङ्ख्या, हातहतियार र सैन्यशक्ति तुलना गर्न योग्य छैन; तर पनि हालसम्म डटेर सामना गरिरहेको छ । अमेरिकाका राष्ट्रपति जोय बाइडेनले युक्रेनमा हालत बेहाल हुन थालेपछि युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेंस्कीलाई युक्रेनबाट भाग्न मद्दत गर्ने र त्यसका लागि हवाई जहाजको व्यवस्था गर्ने प्रस्ताव गरेका थिए; तर जेलेस्कीले आफू युक्रेनको नागरिकको रक्षा गर्न कतै नभाग्ने, भाग्नका लागि हवाई जहाज होइन हतियार पठाएर सहयोग गर्न भनी प्रतिक्रिया दिएका थिए ।

उनले रुसी सेनासँग भिड्नका लागि जनतालाई आधुनिक राइफलसमेत वितरण जारी राखेका छन् । पेट्रोल बम बनाएर सहर पसेका रुसी सैनिक र तिनका ट्याङ्कमाथि प्रहार गरे देशको रक्षा गर्न प्रेरित गरिरहेका छन् । युक्रेनीहरूले पनि सहर पसेका रुसी सैनिक र ट्याङ्कलाई रोकेर ‘तिमीहरू यहाँ किन आएका ? आफ्नो देश फर्क, यो हाम्रो छुट्टै सम्प्रभु सत्तासम्पन्न मुलुक हो भन्दै प्रतिवादमा उत्रेको भिडियोहरू सामाजिक सञ्जालमा देखिएका छन् ।

कतिपय सैन्य विश्लेषकहरूले तेश्रो विश्वयुद्धको सङ्केत देखा परेको बताउन थालेका छन्; तर हार नमान्ने र सोचेपछि गरेरै देखाउने प्रवृत्ति भएका पुटिनले युक्रेनी राष्ट्रपति र उनका सेनाहरूलाई ‘हतियार फालेर आत्मसर्पण गर’ भनेर पटक पटक चेतावनी दिए पनि लगातार डटेपछि रणनितिक रूपमा वार्ता गर्न आह्वान गरेका छन् ।

युक्रेनी राष्ट्रपतिले रुसले बेलारुसमा वार्ता गर्न आफूले प्रतिनिधि मण्डल पठाएको र वार्ताका लागि पर्खि बसेको भनेर पठाएको सन्देशलाई दुई पटक खारेज गर्दै बेलारुसमा वार्ता नगर्ने अडान यो टिप्पणी लेख्दासम्म लिएका छन् । युद्धले कहिलै पनि समस्या समाधान गर्दैन ।

युद्धले विनास मात्र गर्छ; तर अमेरिकाको पुरानो दुस्मनको रूपमा रहेको रुसले युक्रेनमाथि आक्रमण गरेर नेटो र युरोपियन युनियनलाई आफ्नो तागत देखाउने अवसर पाएको छ । रूसले आक्रमण गरे बचाउन आउने बाचा गर्ने महाशक्ति राष्ट्र अमेरिका, बेलायत, युरोपियन युनियन र नेटो यतिबेला रुसको उग्र रूप र शक्तिलाई टेलिभिजनको पर्दामा हेरेको हेरेकै भएको छ ।

युक्रेन बचाउन कैयौ पटक जेलेन्स्कीले नेटो राष्ट्रका प्रमुखहरूसँग टेलिफोन सम्पर्क गरे तर कसैले पनि उनलाई सेना र हतियार तत्काल पठाउन आनाकानी गरे । उनीहरूले युक्रेन नेटोको सदस्य राष्ट्र नभएकाले आफ्नो सेना उतार्न नसकिने जवाफ दिएर जेलेस्कीलाई निराश बनाए पनि अहिले परमाणु शक्तिका महाशक्ती राष्ट्र रुससँग एक्लै भिडिरहेको छ ।

युद्धमा युक्रेनी सेना र रुसी सेना कति मारिए भन्ने तथ्य स्पष्ट रूपमा आएको छैन; तर ४ हजार बढी रुसी सैनिक मारिएको, दुई हेलिकोप्टर र पाँच फाइटर जेट, दर्जनौ ट्याङ्कलाई युक्रेनी सेनाले ध्वस्त बनाएको खबरहरू भने आइरहेका छन् । यो युद्ध कहिलेसम्ममा टुङ्गिन्छ यसै भन्न नसकिने सैन्य विश्लेषकहरूले बताउँदै आएका छन् । यो युद्धको भित्र चुरोकुरो अर्कै छ । युक्रेन नेटोको सदस्य राष्ट्र बन्न हुन्छ र हुँदैन भन्ने अमेरिका र रुसको विवाद वहाना मात्र हो । बास्तवमा तेलको हिसाबले यो युद्ध सूरु भएको अन्तर्राष्ट्रिय मिडियाहरूमा आइरहेका छन् ।

विश्वमै सबैभन्दा धेरै प्राकृतिक तेल उत्पादन रुसले गर्छ । उक्त तेललाई रुसले पहिले युक्रेनको जमिन हुँदै जर्मनसम्म पाइपलाइन विस्तार गरेर आपूर्ति गर्दै आएको थियो; तर पछिल्लो समयमा नोर्डन स्ट्रिम २ परियोजनामार्फत् रुसले युक्रेनलाई बाइपास गर्दै जर्मनसम्म अर्को पाइपलाइन विस्तार गरेपछि विवाद सुरु भएको हो । अमेरिकाले रुसबाट युरोपियन युनियन राष्ट्रमा तेल आपूर्ति भएको देख्न नसकेपछि युक्रेनलाई उकासेको थियो ।

यसै बाहानामा अमेरिकाले रुसबाट युरोपियन युनियन मुलुकमा तेल ल्याएमा रुसको आर्थिक अवस्था थप मजबुत हुने र पकड पनि हुने भएको आशङ्का गर्दै आफै तेल आपूर्ति गर्न खोजेको थियो । रुसले युरोपमा तेल आपूर्ति ठप्प बनाएमा युरोप अँध्यारो हुने आर्थिक विश्लेषकहरूले बताउँदै आएका छन्; तर अमेरिकाबाट तेल आपूर्ति गर्दा धेरै टाढा, ढुवानी खर्च बढी र महँगो हुने भएकाले जर्मनलगायत मुलुकले रुसबाटै तेल ल्याउने विषयमा सम्झौतासमेत गरिसकेका छन् । उक्त सम्झौतालाई युरोपियन युनियनले अनुमोदन नगर्दा नोर्डम स्ट्रिम २ परियोजनाको सबै भौतिक संरचनालाई कार्यान्वयन गर्न सकेको छैन ।

नेटोमा प्रवेश गर्ने कि नगर्ने, युरोपियन मुलुकमा रुसको प्राकृतिक तेल आपूर्तिलाई मान्यता दिने कि नदिने भन्ने विषय मूल कुरो भए पनि रुसले युद्धमार्फत् युक्रेनलाई आफ्नो कब्जामा पारेर रुस समर्थित सरकार गठन गर्ने योजना रहेको राजनीतिक तथा कुटनैतिक विश्लेषकहरूले बताउँदै आएका छन् ।