बिर्तामोड । झापा प्रहरीले बिर्तामोडमा बम राखेर आतंक मच्चाउने योजनाकारसहित ९ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । बिर्तामोडको पश्चिम बस स्टेण्डमा माघ ९ गते बम जस्तो देखिने प्रेसर कुकर राखेर आतंक मच्चाउने समुहलाई पक्राउ गर्न प्रहरी सफल भएको हो ।
प्रहरीले घटनाका योजनाकार गौरादह नगरपालिका–२ का ठेक्कापट्टा ब्यवसायी सुमन कुमार कार्की रहेको झापा प्रहरी झापा प्रमुख बिश्वमणि पोखरेलले जानकारी दिए । कार्की बैदेशिक रोजगार ठगी मुद्दामा २२ महिना जेल सजाय भोगेर २०७७ फागुनमा रिहा भएका ब्यक्ति हुन् । प्रहरीले कार्कीको घरबाट ३० ग्राम लागु औषध ब्राउन सुगर समेत बरामद गरेको जनाएको छ ।
भारतको बिहारस्थित कलियागञ्जमा बसेर योजना बनाउदै नेपालमा चन्दा आतंक मच्चाउने कार्की समुहको योजना रहेको प्रहरीको अनुसंधानबाट खुलेको छ । प्रहरीले उनको कोठाबाट ‘हिमाल सुरक्षा परिषद’ नामको पर्चा पम्प्लेट, चन्दा माग्न प्रयोग गरिएको सिमकार्ड, आर्थिक सहयोग गर्न अनुरोध गरिएको पत्र बरामद गरेको जनाएको छ । कार्कीलाई नेपाल भारत सिमानाको दशगजा क्षेत्रबाट पक्राउ गरिएको पोखरेलले जानकारी दिए ।
यसैगरी, बम र पर्चा पम्प्लेट राख्न सहयोग गर्ने कनकाई नगरपालिका–३ का भिष्म थापालाई पनि प्रहरीले पक्राउ गरेको छ । ट्युबवेल गाड्ने मिस्त्रीको काम गर्दै आएका थापालाई मोटर साइकल किनिदिने प्रलोभन देखाएर बम राख्न लगाइएको पाइएको प्रहरी प्रमुख पोखरेलले जनाए । माघ ९ गते बिहान अन्दाजी ३ बजे कनकाईबाट साइकलमा आएर बिर्तामोडको पश्चिम स्टेण्डमा बम राखेको थापाले बयान दिएको प्रहरीको भनाई छ ।
बम जस्तो शंकास्पद बस्तु राख्न सहयोग गरेको अभियोगमा दमक नगरपालिका–९ चिया दोकान घर भएका देबी बाँस्कोटालाई प्रहरीले पक्राउ गरेको छ । बाँस्कोटाले केरखा नजिकको एक पसलबाट चारवटा प्रेसर कुकर खरिद गरेको पाइएको प्रहरीको भनाई छ । उनको साथबाट प्रेसर कुकरको कार्टुन, चन्दा माग गर्न प्रयोग गरिएको मोवाइल र शंकास्पद केही चेकहरु बरामद भएको पोखरेलले जानकारी दिए ।
घटनामा संलग्न एक जना पुजारी पनि पक्राउ परेको प्रहरीले जनाएको छ । कोटीहोममा पुजारीको रुपमा काम गर्दै आएका कुमार भनिने यमदत्त सिटौलालाई प्रहरीले पक्राउ गरेको छ । सिटौलाले छिमेकी भिष्म थापालाई बम राख्न लगाएको प्रहरीले अनुसंधान गरेर सार्वजनिक गरेको जनाएको छ । उनले थापालाई मोटरसाइकल किनिदिने प्रलोभनमा पारेर बम राख्न लगाएको बुझिएको छ ।
हिमाल सुरक्षा परिषदको नाममा झापा र मोरङमा चन्दा संकलन कार्यमा सक्रिय सरुण लिम्बु भनिने दिलकुमार सामेखामलाई समेत प्रहरीले पक्राउ गरेको जनाएको छ । उनले मनमोहन दाहाल नामका ब्यक्तिबाट चन्दा संकलन गरी भारतको कलियागञ्ज पठाउने गरेको पाइएको प्रहरीको भनाई छ । शिवसताक्षी नगरपालिका–१ घर भएका उनी लागू औषध मुद्दामा ५ बर्ष जेल सजाय पाएका ब्यक्ति भएको पोखरेलले जनाए ।
संखुवासभाको शितलपाटी घर भई मोरङको सुन्दर हरैचा बस्ने मनमोहन दाहाललाई पनि सोही घटनामा संलग्न भएको अभियोगमा प्रहरीले पक्राउ गरेको जनाएको छ । उनले बिर्तामोडमा माघ ९ र दमकमा माघ १३ गते बम राख्ने कार्यमा संलग्न गिरोहलाई रकम उपलब्ध गराएको प्रहरीको भनाई छ । उनी पहिलेपनि ग्रेटर नेपालको नाममा बम राखेर पक्राउ गरी जेल सजाए भुक्ता गरी रिहा भएका हुन् ।
नेपाल र भारतमा बसोबास गरेका समुहका सदस्यहरुलाई सहयोग गर्ने आनन्द भनिने अनन्त प्रसाद गिरीलाई समेत नेपाल भारतको सिमाना दसगजा क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस्तै गौरादहकै प्रदीप थापालाई समेत सोही अभियोगमा पक्राउ गरेको प्रहरीको भनाई छ ।
हिमाल सुरक्षा परिषदको नामबाट संकलित रकम आइएमइ मार्फत घटनाका योजनाकारसम्म पुर्याउने गौर्गिञ्जका बिजयकुमार दास हलुवाईलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
बिगतमा गोरखा जनमुक्ति पार्टीकाृ नामबाट आपराधिक गतिविधि गर्ने समुहले कारागारबाट छुटेपछि समुहको नाम पर्विर्तन गरी सोही प्रकृतिको अर्काे आपराधिक कार्य गरेको प्रहरीको बिश्लेषण छ । उनीहरुको साथबाट बिभिन्न कम्पनिको मोवाईल, सिमकार्ड, पर्चा, पम्प्लेट, चन्दा रसिद लगायतका सामग्री बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेका सबैमाथी म्याद थप गरेर अनुसंधान शुरु गरेको जनाएको छ ।