धरान । धरान–४ को नौकिलो भन्ने स्थानमा हत्या भएको अवस्थामा पुरुषको शव फेला परेको छ ।
शवको खुट्टा र टाउको जेब्रा झोलामा हालेको अवस्थामा बुधबार शव फेला परेको छ । धरान–१३ का वडाध्यक्ष नेत्र काफ्लेका अनुसार घटनाको प्रकृति हेर्दा हत्या गरी फालेको देखिन्छ । शवको पहिचान गर्ने कार्य भइरहेको उनले जानकारी दिए ।
उक्त घटनामा सङ्घीय प्रहरी कार्यालय धरानको तालिम प्राप्त कुकुर पनि लगेर अनुसन्धान थालिएको छ । पूर्व नेपाल आर्मी खड्गबहादुर तामाङ र उनको पत्नी दाउरा खोज्न जङ्गल जाँदा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
धरान–१६ मा अस्थायी रूपमा बस्दै आएका प्रत्यक्षदर्शी तामाङका अनुसार जेब्रा झोलामा फालेको अवस्था देखेपछि प्रहरीलाई खबर गरिएको हो । करिब ४० देखि ४२ वर्ष उमेर रहेको प्रहरीले अनुमान गरेको छ । धरान–१३ स्थित जीरोपोइन्टबाट करिब ९ किलोमिटर उत्तर धरान–भेडेटार सडक खण्डको नौकिलो भन्ने स्थानमा जङ्गलमा शव फेला परेको हो ।