सुनसरी । लागूऔषध ब्राउनसुगरसहित एक वर्षअघि धरानबाट पक्राउ परेका राजकुमार सिंहसँग दोहोरो नागरिकता रहेको पुष्टि भए पनि हालसम्म छानबिन प्रक्रिया अघि बढाउन प्रहरीले आलटाल गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सप्तरीबाट झुठो प्रमाण पेश गर्दै नेपाली नागरिकता लिएका उनी भारतीय भएको भारतीय प्रहरीले आधिकारिक रूपमै पुष्टि गरे पनि आर्थिक प्रलोभनसँगै राजनीतिक दबावका कारण सिंहको विषयमा छानबिन अगाडि बढाउन सप्तरी प्रहरीले आलटाल गरिरहेको पाइएको छ् ।

धरानबाट २०७७ साल मङ्सिर १९ गते पक्राउ परेका सिंह  ब्राउनसुगर कारोबारीसमेत हुन् । जिल्ला अदालत सुनसरीको निर्णयअनुसार उनी अहिले पुर्पक्षका लागि जेलमा छन् । ब्राउनसुगर मुद्दामा सुनसरी जिल्ला अदालतको आदेश उच्च अदालत विराटनगरले समेत सदर गरिदिएपछि पुर्पक्षका लागि जेलमा रहेका भारतीय नागरिक सिंहलाई छुटाउन पुनः चलखेल भइरहेको पाइएको छ । लागूऔषध मुद्दामा जेलमा रहेका सिंहले कीर्ते गरी सप्तरीबाट नेपाली नागरिकतासमेत लिएको प्रहरी अनुसन्धानले देखाएको छ ।

लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका सिंह भारतीय वा विदेशी भएको पुष्टि भएमा उनलाई छुटाउन गाह्रो हुने भएकोले उनी भारतीय भएको आवश्यक प्रमाण हुँदाहुँदै पनि उनको नागरिकताका सम्बन्धमा छानबिन गरिएको छैन ।

पक्राउ परेका सिंह लागूऔषधका ठूलो गिरोहका सदस्य भएकाले उनी दोषी साबित भएको अवस्थामा गिरोहका अन्यका बारेमा समेत खुल्ने डरले छुटाउन ठूलो आर्थिक चलखेलका साथै राजनीतिक दबावसमेत उत्तिकै रहेको स्रोतको दाबी छ ।

लागूऔषध मुद्दामा जेलमा रहेका भारतीय नागरिक सिंहलाई कीर्ते नागरिकता मुद्दामा कारबाही अगाडि बढाउने भन्दै सप्तरी प्रहरीको पत्रअनुसार सुनसरी जिल्ला अदालतले झुम्का कारागारलाई पत्राचार गर्दै अभियुक्त सिंहलाई बयानका लागि सप्तरी पठाउन भनिए पनि राजनीतिक दबावका कारण उनको बयान अझै हुन सकेको छैन ।

लागूऔषध कारोबारीसँगै नेपाली र भारतीय गरी दोहोरो नागरिकता लिएका व्यक्ति भएको सबै प्रमाण हुँदाहुँदै पनि राजनीतिक संरक्षण पाएकै कारण सिंहका सम्बन्धमा कारबाही अगाडि नबढाइएको स्रोतको आरोप छ ।

दोहोरो मुद्दा चल्ने भएपछि छुटाउन गाह्रो हुने भन्दै दोहोरो नागरिकताको मुद्दा तत्काल नचलाउन सप्तरी प्रहरीमाथि दबाव दिएको स्रोतको भनाइ छ । 

जिल्ला प्रहरी कार्यालय सप्तरीको चलानी नम्बर १०११० मिति २०७८ असार १३ गते थुनामा रहेका सिंहलाई नागरिकतासम्बन्धी कसुरमा बयान कार्यका लागि जिल्ला सरकारी वकिल कार्यालयले सप्तरी पठाई पुनः झुम्का कारागार फिर्ता ल्याउन सुनसरी जिल्ला अदालतले झुम्का कारागार कार्यालयको नाममा पत्र काटेको थियो ।

ठूलो परिमाणमा लागूऔषधसहित रङ्गेहात पक्राउ परेका सिंहको पक्राउका बावजुद महिनौंसम्म नागरिकता सम्बन्धमा छानबिन अघि नबढ्दा स्रोतको दाबीमा बल पुगेको देखिन्छ । लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका सिंहलाई छुटाउन पुनः ठूलो चलखेल भइरहेको स्रोतको भनाइ छ । उनको सम्बन्धमा फागुन ५ गते जिल्ला अदालत सुनसरीले पेशी तोकेको छ ।