भद्रपुर । झापा गाउँपालिका वडा नं. ४ को हुलाकी राजमार्गअन्तर्गत दुई व्यक्तिका कारणले काममा अवरोध भएको छ । काममा अवरोध भएपछि स्थानीयबीच चर्काचर्की भएको थियो ।

घटनापछि अन्य स्थानीयले हुलाकी बाटोमा ढाट राखेर अवरोध गरेका थिए । बाटो अवरोध गरेर यातायात एक घण्टासम्म ठप्प पारेपछि झापा गाउँपालिका अध्यक्ष जयनारायण साहको अनुरोधमा बाटो बन्दकर्ताहरूले ढाट हटाएका थिए ।

हुलाकी राजमार्गको काममा अवरोध गर्नेहरूमा शिवमन्दिर व्यवस्थापन समितिका अध्यक्ष गङ्गाबहादुर पुडासैनी र घनेन्द्रप्रसाद गणेश रहेका थिए । झापा गाउँपालिकाको कार्यालयले एक वर्ष अगाडिदेखि नै शिवमन्दिरको छेउमा रहेका सम्पूर्ण संरचनाहरू हटाउन भनेको थियो ।

अरूले आफ्ना संरचना हटाए पनि व्यवस्थापन समितिले अटेर गरी इनार हटाएको थिएन । इनार नहटाएपछि हुलाकी बाटो निर्माणको काममा अवरोध भएको थियो । इनारको विषयलाई लिएर झापा गाउँपालिका अध्यक्ष साह र मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पुडासैनीबीच चर्काचर्की भएको थियो ।

हुलाकी राजमार्गभित्र इनार पर्ने भएपछि बुधबार नै जनप्रतिनिधि, सुरक्षा निकाय र स्थानीयवासीको रोहवरमा भत्काइएको छ । इनार भत्काएपछि गाउँपालिका अध्यक्ष साहले मन्दिरको लागि अर्को इनार बनाइदिने प्रतिबद्धतासमेत गरेका छन् ।

बाटो अवरोध गर्ने अर्का व्यक्ति घनेन्द्रप्रसाद गणेशले हुलाकी राजमार्गले जबरजस्ती आफ्नो जग्गा कब्जा गरेको दाबी गरेका छन् । बाटोको बीच भागबाट ४०–४० फिट लिनुपर्नेमा आफ्नो जग्गाबाट एकलौटी ४५ फिट लिएपछि आफूले बिजुलीको पोल गाड्न अवरोध गरेको उनले बताए ।

झापा बजारलाई भविष्यमा स्मार्ट सिटी बनाउने उद्देश्यले झापा गाउँपालिकाले रजत जयन्ती चोकदेखि डेढ किलोमिटर पञ्चम् चोकसम्म हुलाकी राजमार्गको केन्द्रविन्दुबाट ४०–४० फिट सडक खाली गराएको छ ।