हरेक वर्षको २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म अन्तर्राष्ट्रिय अभियानका रूपमा लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान सञ्चालन गरिन्छ । नेपालमा पनि १६ दिने अभियान विभिन्न ¥याली, भाषणसहित मनाउने गरिन्छ । यसपटक पनि देशभर सहरतिर, होटलतिर यो अभियान मनाइयो । तर, विडम्बना गाउँतिर यस्तो अभियान पुग्न सकेको छैन । हाम्रा हरेकजसो नीति, बजेट सहर केन्द्रित छन्, अभियानहरू सहर केन्द्रित नै छन् । त्यति मात्र होइन, राजनीतिकदेखि सामाजिक क्षेत्रसम्मका नेताहरू सहर केन्द्रित छन् । सहरका ठूला होटलतिर हुने यस्ता विभिन्न कार्यक्रमको प्रभाव गाउँमा कसरी पर्ला ? समीक्षा गरिनु आवश्यक छ । यसपटक देशभर लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान चलिरहेका बेला सुनसरी जिल्लाको वराहक्षेत्र नगरपालिका–१ मा पर्ने पञ्चकन्या आधारभूत विद्यालयका अभिभावक भने विद्यालयकै शिक्षकबाट त्रसित थिए । विद्यालयका शिक्षक ब्रह्मदेव गुठियाले सोही विद्यालयमा अध्ययनरत साना बालिकाहरूलाई यौनजन्य हिंसा गर्ने गरेको भेटिएपछि अभिभावकहरू त्रसित बने । बालिकाहरूमाथि एक पटक होइन, पटक–पटक उनै शिक्षक गुठियाले यौनजन्य गतिविधि गरेको, संवेदनशील अङ्गमा छुने गरेको आरोप लाग्दै आएको थियो । यही विषयमा विद्यालयमा तीन पटक त छलफलै भएको थियो । तर, उनीमाथि कानूनी कारबाही गर्नुको साटो माफी मगाउँदै छाड्ने गरिएको छ । विद्यालय व्यवस्थापन समितिले उनलाई किन कानूनी कारबाही गराउनुको साटो पटक–पटक माफी मात्र मगायो ? त्यसतर्फ पनि अनुसन्धान हुनु आवश्यक छ ।
स्थानीयको भनाइमा पटक–पटकका छलफलमा शिक्षक गुठियाले माफी मागेका थिए । त्यसपछि वराहक्षेत्र नगरपालिकाको शिक्षा शाखाकै सल्लाहमा उनलाई कारबाही नगरी माफी दिने गरिएको छ । नगरको शिक्षाशाखाले उनलाई व्यावहारिकताका आधारमा भन्दै माफी दिइरहनु गलत हो । शिक्षा शाखाका जिम्मेवार कर्मचारीमाथि पनि छानबिन गरिनु आवश्यक देखिन्छ । शिक्षक गुठियाले भने आफूले बालिकाहरूको गाला सुम्सुम्याएको तर, स्थानीयले गलत बुझेको दाबी गरेका छन् । मुलुकी अपराध संहिता २०७४ को दफा २२४ (२) मा कसैको संवेदनशील अङ्ग छोएमा वा छुन खोजेमा, यौनको आसयले जिस्क्याएमा, हैरानी दिएमा, अस्वभाविक वा अमर्यादित व्यवहार गरेमा यौन दुव्र्यवहार गरेको मानिने व्यवस्था छ । शिक्षक गुठिया आफूले गलत नियतले नछोएको बताए पनि पीडितले हैरानी महसुस गरेमा त्यसलाई यौन दुव्र्यवहार मान्न सकिने अवस्था छ । त्यसैले उचित छानबिन गरी कानूनी प्रक्रिया अघि बढाउनु आवश्यक छ । शिक्षक गुठिया आफू बच्नका लागि विभिन्न नेताहरूका शरणमा धाउने र स्थानीयलाई घटना मिलाउनका लागि दबाव दिने गरिरहेको स्थानीयले बताएका छन् । यौन दुव्र्यवहारजस्तो संवेदनशील विषयमा उचित अध्ययन गरी कानूनी कारबाही अगाडि बढाउनु पर्नेमा घटना मिलाउनेतिर लाग्नु कानून विपरीत हुन्छ । यदि जान अञ्जानमा यस्तो घटनालाई मिलाउने काम गर्नेहरूसमेत कारबाहीको भागीदार बन्नुपर्ने अवस्था आउन सक्छ । त्यसकारण छानबिन गरी दोषी पाईए कानूनी कारबाही र निर्दोष देखिए सफाइ दिनु सबैको हितमा हुन्छ ।
यस घटनामा शिक्षकजस्तो जिम्मेवार व्यक्ति पटक–पटक किन यौन हिंसाको विवादमा मुछिन्छ ? शिक्षक गुठियाले दाबी गरेजस्तो असल नियतले नै बालिकाको शरीरमा छोएको भए अभिभावकहरू किन आक्रोसित भइरहेका छन् त ? यी सबै कुरालाई अध्ययन गरिनु आवश्यक छ । अहिले संविधानले नै आधारभूत शिक्षाको जिम्मेवारी स्थानीय तहलाई दिएको छ तर, स्थानीय तहले यस्ता घटनामा आरोपितलाई बचाउन खोज्नु कानूनविपरीत हुन्छ । अहिले शिक्षक गुठियालाई अन्यत्र सरुवा गराउन नगरपालिका लागिपरेको बुझिन्छ । यौनजन्य जतिविधिमा आरोप लागेको व्यक्तिलाई बचाउने नियतले सरुवा गरेर मात्र समस्याको समाधान हुँदैन । यस्तो घटनामा नगरपालिकाले अग्रसरता लिएर कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाउनु आवश्यक छ । अन्यथा पहुँचवालाले जे गरे पनि हुने अवस्था आउँछ । त्यसको अर्थ संविधानले अधिकार दिए पनि सर्वसाधारणले पाउन सक्दैनन् । यस्तो घटनामा विद्यालय व्यवस्थापन समिति र नगरपालिकाले आरोपितलाई बचाउनेमा होइ, कानूनी दायरामा ल्याउने काम गर्नुपर्छ ।