सरकारले कारागारलाई सुधार गृहका रूपमा विकास गर्ने कुरा हुन थालेको निकै समय बित्यो तर, आजसम्म कारागारहरूको अवस्था जस्ताको त्यस्तै छन् । कुनै अपराध गरेका मान्छेलाई कारागारमा राख्नुको कारण उसको चरित्रमा सुधार गर्नु पनि हो । तर, के हाम्रो देशका कारागारमा बस्नेहरूलाई सुधारका लागि वातावरण बनाइएको छ ? छैन । किनभने बाहिर ठूला अपराध गरेर कारागारमा पुगेकाहरू सुधार हुने होइन, भित्रैबाट मान्छे परिचालन गरेर बाहिर आपराधिक धन्दा पो चलाइरहन्छन् । कारागारभित्र बन्दी जीवन बिताइरहेको व्यक्तिले बाहिर कसरी अपराध गर्न सम्भव छ ? स्वभाविक रूपमा प्रश्न खडा हुन्छ तर, भइरहेको छ त्यस्तै । अझ अचम्म त कारागारभित्रैबाट अपराध गर्नेहरूलाई नेता, मन्त्री र सरकारै लागेर संरक्षण गरिदिन्छ । ताजा उदाहरणका लागि मोरङ कारागारमा मच्चिएको अशान्तिलाई लिन सकिन्छ ।

पटक–पटक कैदीबन्दीहरूबीच अशान्ति मच्चिने गरेको मोरङ कारागारमा अहिले सरकारकै कारण पुनः अशान्ति छाएको छ । अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय भोगिरहेका ‘गुण्डा नाइके’ अभिषेक गिरीलाई मोरङ कारागार ल्याउन सरकार लागिपरेको छ । पहिला मोरङ कारागारमा रहँदा भित्रैबाट बाहिर आतङ्क मच्चाएपछि उनलाई २०७४ चैत २३ मा डिल्लीबजार कारागार सरुवा गरिएको थियो । तर, नेपाली काङ्ग्रेसका नेताहरूको छत्रछायाँ पाएका गिरीले पार्टी सरकारमा आएपछि पुनः मोरङ कारागार आउन चाहे । गिरीलाई मोरङ ल्याउन नेताहरूले प्रधानमन्त्रीसम्ममा लबिङ गरेपछि गृहमन्त्री बालकृष्ण खाणको ठाडो निर्देशनमा गत भदौ १७ गते उनलाई मोरङ सरुवा गरिएको थियो । तर, कैदीबन्दीहरू विरोधमा उत्रिएपछि उनलाई सप्तरी पु¥याइयो । अहिले पुनः उनलाई मोरङ कारागार ल्याउन कारागार व्यवस्थापन विभागले चौकीदारसहित ८ जनालाई अन्यत्र सरुवा गरेको छ । गिरीलाई मोरङमा ल्याउनका लागि कैदीबन्दी अन्यत्र सरुवा भएसँगै अरू कैदीबन्दीहरु समेत आन्दोलित भएका छन् । गिरीकै विषयलाई लिएर पहिला पनि कारागारभित्र कुटाकुटका घटना भएका थिए । अहिले पुनः त्यस्तै अवश्था सृजना भएको छ । कारागारका कैदीबन्दीहरु अहिले पनि गिरीलाई ल्याउन नहुने नत्र कारागारमा भएका सबैलाई सरुवा गर्नु पर्ने माग राखेका छन् । उनीहरुले गिरी आए आफुहरु असुरक्षित हुने भन्दै जिल्ला प्रशासन कार्यालय र कारागार व्यवस्थापन विभागमा निवेदन समेत दिएका छन् । यो घटनाक्रमले मोरङ कारागारमा अझै अशान्ति बढ्ने सम्भावना देखिन्छ ।

कतिपय नेताहरूका लागि कारागारभित्र रहेका अपराधीहरू आर्थिक स्रोत पनि हुन् । त्यस्ता अपराधीहरूले कारागारभित्र र बाहिर दुवैतिर कमाउ धन्दा चलाइरहेका हुन्छ । त्यसको केही भाग तिनै नेताहरूसम्म समेत आइपुग्छ । तिनै ठेकेदार, नेताहरूको स्वार्थका कारण पनि कारागारमा अशान्ति मच्चिने गरेको छ । एउटा समूहले एकातिरका कैदीबन्दी उचाल्ने र अर्को समूहले अरू कैदीबन्दी उचाल्ने गरेका कारण कारागारभित्रै बेलाबेला झडपसमेत हुन्छ । अपराधीलाई सुधार गर्ने उद्देश्यले राखिने कारागारभित्रै कैदीबन्दीहरूको समूह हुने र झगडा हुने प्रवृत्ति तिनै ठेकेदार र नेताहरूका कारण बढेको हो । कारागारभित्रको यस्तो राजनीतिले अशान्ति बढाइरहेको छ । कारागारलाई साँच्चै सुधारगृहका रूपमा विकास गर्ने हो भने कैदीबन्दीहरूलाई अनुशासनमा राख्ने, सीपमूलक कार्यमा लगाउने, उनीहरूको व्यक्तित्व विकासका लागि नीति बनाएर काम गर्नु आवश्यक छ । भाषण गरेर मात्र कारागार सुधारगृहमा परिणत हुन सक्दैन । अझ नेताहरूले कैदीबन्दीलाई झडपमा उतार्ने र आफू कमिसनको खेलमा लाग्ने हो भने कारागारहरू सुधारगृह त बन्न सक्दैनन् बरु अपराधीहरू बढाउने स्थलका रूपमा विकास हुन्छन् । हाल कारागारहरूमा देखिएका घटनाक्रमले यही सङ्केत गरेको छ । यही क्रम बढ्दै गए समाजमा अपराध कम हुने होइन, अझै जरा गाड्ने अवस्था आउन धेरै समय लाग्दैन । अब सरकारले गम्भीर भएर सोच्नु आवश्यक छ, कारागारलाई सुधारगृह बनाउने कि अपराधी उत्पादन गर्ने थलोका रूपमा विकास गर्ने ?